०५ साउन २०८३, मंगलबार

क्यान्सरको खोप बनाएको रुसको दाबी, केही महिनापछि नि:शुल्क वितरण गरिने

पुस ३, २०८१
काठमाडौं
क्यान्सरको खोप बनाएको रुसको दाबी, केही महिनापछि नि:शुल्क वितरण गरिने

रुसले क्यान्सरविरुद्धको खोप एमआरएनए (मेसेन्जर आरएनए) निर्माण गरेको घोषणा गरेको छ । 

रुसी समाचार एजेन्सी टीएएसएसले रेडियोलोजी मेडिकल रिसर्च सेन्टरका महानिर्देशक एन्ड्रे काप्रिनको भनाइ उदृत गर्दै अबको केही महिनामा यो खोप नि:शुल्क वितरण गरिने उल्लेख गरेको छ । 

काप्रिनले यो खोपले ट्युमरको विकास र सम्भावित मेटास्टेसेसलाई दबाउने बताएका छन्  ।  

गमलेया नेशनल रिसर्च सेन्टर फर इपिडिमियोलोजी र माइक्रोबायोलोजीका निर्देशक अलेक्ज्याण्डर गिन्ट्सबर्गले पनि यस भ्याक्सिनको प्रभावकारिता पुष्टि गरेको रुसी समाचार एजेन्सी टीएएसएसले जनाएको छ ।

यस वर्षको शुरूमा राष्ट्रपति भ्लादिमिर पुटिनले रुस नयाँ जेनेरेसनको क्यान्सर खोप र इम्युनोमोड्युलेटरी औषधि निर्माणको अन्तिम चरणमा पुगेको बताएका थिए ।
 
भ्याक्सिन निर्माण प्रक्रियालाई तीव्र बनाउन कृत्रिम न्यूरल नेटवर्कको प्रयोग गरिएको छ । गिन्ट्सबर्गका अनुसार, कृत्रिम बुद्धिमत्ता (एआई)को मद्दतले क्यान्सर खोप निर्माणमा आवश्यक समयलाई घटाउन सकिन्छ । 

‘हामीले इभानिकोभ इन्स्टिच्युटलाई पनि यस प्रक्रियामा समावेश गरेका छौं, जसले न्यूरल नेटवर्क प्रयोग गरेर गणनाको समयलाई आधा घण्टादेखि एक घण्टासम्म झार्न मद्दत गर्छ’, गिन्ट्सबर्गको भनाइ छ ।

यो भ्याक्सिनले स्वास्थ्य उपचारमा नयाँ युगको शुरूआत गर्ने अपेक्षा गरिएको छ । रुसको यो पहल क्यान्सर उपचारका लागि विश्वव्यापी महत्त्वपूर्ण कोसेढुंगा बन्न सक्ने रुसी सञ्चारमाध्यमले जनाएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्