०६ साउन २०८३, बुधबार

सामान किन्दा बिल लिने ग्राहकलाई सरकारले बनाउँदैछ लखपति

साउन ५, २०८३
काठमाडौं
सामान किन्दा बिल लिने ग्राहकलाई सरकारले बनाउँदैछ लखपति

 अब बजारबाट सामान वा सेवा खरिद गर्दा बिल लिने बानीले उपभोक्तालाई लाखौं रुपैयाँ जिताउने अवसर पनि दिने भएको छ। आन्तरिक राजस्व संकलनलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित सरकारले बिल लिने उपभोक्तालाई नगद उपहार दिने नयाँ योजना सार्वजनिक गरेको हो।

अर्थ मन्त्रालयले 'करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि, २०८३' जारी गर्दै वस्तु तथा सेवा खरिदपछि बिल लिने उपभोक्तालाई नियमित लक्की ड्रमार्फत नगद पुरस्कार प्रदान गर्ने व्यवस्था गरेको छ। यसले बिल लिने संस्कृतिको विकास हुनुका साथै वास्तविक कारोबार अभिलेखीकरण गर्न पनि सहयोग पुग्ने सरकारको विश्वास छ ।

कार्यविधिअनुसार व्यक्तिगत प्रयोजनका लागि नेपालभित्र कम्तीमा १०० रुपैयाँभन्दा बढीको वस्तु वा सेवा खरिद गरी बिल लिने उपभोक्ता कार्यक्रममा सहभागी हुन सक्नेछन्। तर व्यावसायिक प्रयोजनका खरिद, सरकारी निकायका बिल, टेलिफोन, विद्युत्, सवारी साधन तथा हवाई टिकटसम्बन्धी कारोबार भने यस योजनामा समावेश गरिएका छैनन्।

विद्युतीय माध्यमबाट भुक्तानी गर्ने उपभोक्ताको विवरण स्वतः प्रणालीमा समावेश हुनेछ। नगद भुक्तानी गरेर बिल लिनेहरूले भने आन्तरिक राजस्व विभागको वेब पोर्टल वा मोबाइल एपमार्फत बिल नम्बर, विक्रेताको प्यान, बिल जारी भएको मिति र रकमको विवरण प्रविष्ट गर्नुपर्नेछ। एउटै बिललाई एकभन्दा बढी पटक दर्ता गर्न भने पाइने छैन।

विभागले प्रत्येक महिनाको १ र १६ गते स्वचालित प्रणालीमार्फत विजेता छनोट गर्नेछ। दैनिक एक जना विजेताले एक लाख ३३ हजार ३३४ रुपैयाँ प्राप्त गर्नेछन् भने प्रत्येक १५ दिनमा छनोट हुने बम्पर विजेताले १० लाख रुपैयाँ पुरस्कार पाउनेछन्। यद्यपि, पुरस्कार रकम वितरण गर्दा प्रचलित आयकर कानुनअनुसार २५ प्रतिशत कर कट्टी गरिनेछ।

विजेताको जानकारी मोबाइल वा इमेलमार्फत दिइनेछ भने विभागको वेबसाइट र सामाजिक सञ्जालमार्फत पनि सार्वजनिक गरिनेछ। पुरस्कार प्राप्त गर्न विजेताले घोषणा भएको १५ दिनभित्र सक्कल बिल, परिचयपत्र र बैंक खाताको विवरणसहित सम्बन्धित आन्तरिक राजस्व कार्यालयमा निवेदन दिनुपर्नेछ। जाँचका क्रममा बिल नक्कली वा झुटो प्रमाणित भए कानुनबमोजिम कारबाही गरिने व्यवस्था गरिएको छ।

तोकिएको अवधिभित्र पुरस्कार दाबी नभएमा उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने मंगलबार सार्वजनिक कार्यविधिमा उल्लेख छ । 

कमेन्ट गर्नुहोस्