
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बुटवल उपमहानगरपालिका–१० मा रहेको देशकै उत्कृष्ट कालिका मानवज्ञान माध्यमिक विद्यालयको उपलब्धि अन्य विद्यालयका लागि सिकाइको केन्द्र रहेको बताएका छन् ।
आइतबार विद्यालयको ६४औं वार्षिकोत्सव एवं अभिभावक दिवसलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले विद्यालयले हासिल गरेका शैक्षिक उपलब्धि प्रदेशका अन्य विद्यालयका लागि बलियो सिकाइ केन्द्रको रूपमा लिनुपर्ने बताएका हुन् ।
‘यस विद्यालयले सबै क्षेत्रमा उत्कृष्टता हासिल गरेको छ । यसबाट अन्य विद्यालयहरूले सिक्न जरुरी छ’, मुख्यमन्त्री आचार्यले भने, ‘विद्यालयले गर्ने हरेक क्रियाकलाप र भावी योजनामा प्रदेश सरकारको साथ सहयोग रहन्छ । यो विद्यालयले हासिल गरेका उपलब्धिले सिंगो लुम्बिनी प्रदेशको गौरव बढाएको छ ।’
विद्यालयलाई यस उचाइमा ल्याइपुर्याउन भूमिका खेल्ने सबै बधाईको पात्र रहेको चर्चा गर्दै मुख्यमन्त्री आचार्यले विद्यालयले यो उचाई सधैं कायम राख्न निरन्तर भूमिका बढाइरहनुपर्ने उल्लेख गरे ।
‘अथक प्रयत्न र पौरखले यो विद्यालयले उत्कृष्टताको उचाइ हासिल गरेको छ । यस प्रकारको उचाइले प्रदेशको गौरव बढाएको छ’, उनले भने, ‘प्रदेश सरकारले तपाईंहरूलाई सम्मान गर्न चाहन्छ ।’
बहुआयामिक क्षेत्रमा विद्यालयले हासिल गरेका उपलब्धि शैक्षिक विकासका लागि बलियो स्रोत बन्नेमा मुख्यमन्त्री आचार्यले विश्वास व्यक्त गरे । ‘रिजल्टको हिसाबले भन्नुस् या अतिरिक्त क्रियाकलापको हिसाबले भन्नुस्, यो विद्यालय देशमै नमूना छ । यहाँबाट उत्पादन भएका विद्यार्थीले जस्तोसुकै प्रतिस्पर्धामा पनि सफलता प्राप्त गरेका छन्’, उनले भने, ‘विद्यार्थी, शिक्षक, अभिभावक एवं सिंगो समुदायले गरेको मेहनतको प्रतिफल हो ।’
२०१७ सालमा स्थापना भएको विद्यालय देशकै नमूना विद्यालयको रूपमा स्थापित छ । विद्यालयले वार्षिकोत्सव तथा अभिभावक दिवस विभिन्न रचनात्मक कार्यक्रम गरेर मनाउँदैछ ।