०७ साउन २०८३, बिहीबार
लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरणमा मुद्दा

यस्ता छन् लामिछानेविरुद्ध सम्पत्ति शुद्धिकरण कसूर पुष्टि हुने आधार र प्रमाण

पुस ७, २०८१
काठमाडौं
यस्ता छन् लामिछानेविरुद्ध सम्पत्ति शुद्धिकरण कसूर पुष्टि हुने आधार र प्रमाण

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सम्पत्ति शुद्धिकरण गरेको आधार तथा प्रमाणसहित जिल्ला सरकारी वकिल कार्यालयलले कास्की जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।

'सहकारीबाट आएको रकम व्यक्तिगत तथा संस्थागत रूपमा धारण गर्ने, रूपान्तरण गर्ने, हस्तान्तरण तथा प्रयोग समेतका कार्य गरेको देखिँदा यी प्रतिवादीले कसुरबाट प्राप्त सम्पत्ति हो भन्ने थाहा पाउँदापाउँदै वा विश्वास गर्नुपर्ने मनासिव आधार हुँदाहुँदै उल्लिखित गतिबिधि गरेबाट निजले सम्पत्ति शुद्धीकरण गरेको स्पष्ट रूपमा देखिन आयो,' आइतबार दायर गरिएको मुद्दामा उल्लेख छ ।

लामिछाने गोर्खा मिडिया नेटवर्क प्रालिमा आवद्ध भए पश्चात सन् २०२१ को जनवरी १८ तारिखमा सूर्यदर्शन वचत तथा ऋण सहकारीको नाममा सञ्चालनमा रहेको साविक मेगा बैंकको चेकबाट गितेन्द्र बाबु राईको स्ट्यान्डर्ड चार्टर्ड बैंकको खातामा २ करोड जम्मा भएको अभियोगपत्रमा उल्लेख छ ।

null

सोही रकममध्ये २१ तरिखकमा लामिछानेको नाममा रहेको ग्लोबल आईएमईको खातामा ७५ लाख चेकमार्फत जम्मा भएको कुरालाई पनि प्रहरीले प्रमाणको रूपमा लिएको छ ।

'रवि लामिछानेले ७५ लाख नै गोर्खा मिडिया नेटवर्क प्रालिका नाममा रहेको ग्लोबल आईएमई बैंकको खातामा जम्मा गरेको देखिन्छ । यसरी सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको बचत रकम अपचलन गरी गितेन्द्र बाबुको खातामा रकमान्तर भएको सो रकममध्ये रवि लामिछानेको व्यक्तिगत खातामा जम्मा गरी उक्त रकम पुनः गोर्खा मिडिया नेटवर्क प्रालिको खातामा रकमान्तर तथा हस्तान्तरण गर्दै कम्पनीमा अवैध तवरबाट प्राप्त गरी निजले आफ्नो खातामा धारण समेत गरी पुनः ट्रान्सफर गरेबाट सम्पत्ति शुद्धीकरण गर्ने कार्यमा निजको संलग्नता पुष्टि हुन आयो,' अभियोगपत्रमा उल्लेख छ ।

null

अभियोगपत्रमा थप भनिएको छ, 'गोर्खा मिडियामा निजले गरेको लगानी स्वेट शेयरबापत प्राप्त गरेको भनी बताएता पनि निजले सहकारीबाट अपचलन भई आएको रकम नै गोर्खा मिडियामा लगानी गरी शेयरधनी भएको तथ्य सप्रमाण पुष्टि हुन आयो ।'

सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको कर्जा लगानी सम्बन्धी रजिष्टरमा लामिछानेलाई १ करोड कर्जा प्रदान गरेको भनी उल्लेख हुनुलाई समेत प्रमुख प्रमाणको रूपमा लिइएको छ ।

'२०७७ साल साउन महिना देखि २०७७ साल देखिको कर्जा लगानी सम्बन्धीको रजिष्टरमा कर्जा खाता नं ४४५६ मा मिति २०७८।०३।३१ देखि मिति २०७९।०३।३० (१२ महिना) सम्मको समयावधी रहने गरी १ करोड कर्जा रकम १४ .७५ % व्याजदर हुने गरी रजिष्ट्ररको माध्यम भन्ने महलमा अफिस उल्लेख गरी प्रतिवादी रवि लामिछानेको नाममा कर्जा प्रवाह गरेको देखिन्छ,' अभियोगपत्रमा उल्लेख छ ।

सोही रजिष्टरमा गितेन्द्रबाबु राई तथा सूर्यदर्शन बचत तथा ऋण सहकारीबाट निजको नाममा पेश्की जनाई गोर्खा मिडिया नेटवर्क प्रालिले अपचलन गरेको बचत रकम समेत रहेको तथा सो रजिष्ट्ररमा रहेका अन्य ऋणीहरूलाई बुझ्ने क्रममा निजहरूले रजिष्टरमा उल्लिखित ऋण रकम सही सत्य भएको र केही चुक्ता गरिसकेको र बाँकी रकम चुक्ता गर्न तयार रहेको भनि स्वीकार गरेको अवस्थाबाट निजको नाममा जनाइएको ऋण रकम निजले लिएका हुन् भन्ने तथ्य स्थापित भएको अभियोगपत्रको दाबी छ ।

null

'सो तथ्यलाई प्रतिवादीले गोर्खा मिडिया नेटवर्क प्रालिको ग्लोबल आइएमई बैंकको खाताको चेकबाट माथि तथ्य खण्डमा उल्लिखित तालिका अनुसार मासिक रूपमा दुईवटा रु.१,१२,०००।- वा एकै पटक रु.२,२४,०००/- को चेकमार्फत नियमित रूपमा आफैले दस्तखत गरी, आफु नै शेयरधनी तथा प्रबन्धक समेत भएको कम्पनीबाट, आफु नै ऋणी भएको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड लगायतका सहकारी संस्थाहरूमा भुक्तानी दिएको तथ्याङ्कले निजले लिएको ऋण गोर्खा मिडिया प्रयोग भएको देखियो,' अभियोगपत्रमा उल्लेख छ ।

गोर्खा मिडिया नेटवर्क प्राईभेट लिमिटेडबाट भुक्तानी भएका चेकहरूको विवरण विश्लेषण गर्दा कुल १२३७ वटा चेकबाट ५९ करोड ४९ लाख ४४ हजार ९५५ रूपैयाँ भुक्तानी भएको देखिन्छ । सो मध्ये ८१४ वटा चेकबाट ४८ करोड ५८ लाख २२ हजार २४६ रूपैयाँ बराबरको भुक्तानी रवि लामिछानेको एकल हस्ताक्षरित चेकबाट र रवि लामिछाने र गितेन्द्र बाबु राईले संयुक्त रूपमा हस्ताक्षर गरेका ६ थान चेकबाट ६० लाख १९ हजार रूपैयाँ बराबरको भुक्तानी भएको अभियोगपत्रमा उल्लेख छ ।

'यसरी भुक्तानी भएका चेकहरू नेचर हर्ब्स इन्टरनेशनल प्रालि, नेचर नेष्ट प्रालि जस्ता मिडिया क्षेत्रसँग कारोबार नै नहुने प्रतिवादी कम्पनीहरू समेतलाई भुक्तानी दिएको देखिदा सहकारी संस्थाहरूबाट अपचलन भई गोर्खा मिडियामा प्लेसमेन्ट भई आएको रकम निजले इलिसिट ओरिजिनको रकम हो भन्ने जानीबुझी पुनः स्थानान्तरण गरी लेयरिङ गर्ने कार्यमा संलग्नता रहेको देखियो,' अभियोगपत्रमा उल्लेख छ ।

त्यस बाहेक थप प्रमाणहरूपनि प्रहरीले पेश गरेको छ । सम्पत्ति शुद्धीकरणमा रविमाथि २७ करोड ८९ लाख ४४ हजार ७०५ रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरिएको छ ।

साथै अभियोगपत्रमा लामिछाने र उनकी श्रीमती निकिता पौडेलको नाममा रहेको घरजग्गा पनि जफत गर्न मागदाबी गरिएको छ । यससँगै दुवैको बैंक खातामा नगद रहेको ७ लाख ७४ हजार ७४४ रुपैयाँसमेत जफत गर्ने मागदाबी अभियोगपत्रमा गरिएको छ ।

कमेन्ट गर्नुहोस्