०१ साउन २०८३, शुक्रबार
कर्मचारीको विदेश मोह

ऊर्जा मन्त्रालयमा कामभन्दा बढी विदेश भ्रमण– वर्षमै सय बढी कर्मचारीले गरे घुमघाम

एक सहसचिव ९ महिनामा ८ पटक विदेश, दातृ निकायको पैसामा घुमेर उसकै लागि काम गर्ने प्रवृत्ति
पुस ९, २०८१
काठमाडौं
ऊर्जा मन्त्रालयमा कामभन्दा बढी विदेश भ्रमण– वर्षमै सय बढी कर्मचारीले गरे घुमघाम

दुईजना सचिव रहेको ऊर्जा, जलस्रोत तथा सिञ्चाइ मन्त्रालयमा गत बिहीबार र शुक्रबार त्यहाँका सहसचिव चिरञ्जीवी चटौत निमित्त सचिव थिए ।

एकजना मात्र सचिव रहने गरेको मन्त्रालयमा सामान्यतया सहसचिवले निमित्त सचिवको जिम्मेवारी पाइरहेकै हुन्छन् । तर, २ जना सचिव रहने मन्त्रालयमा पटक-पटक सहसचिवले निमित्त सचिवको नेतृत्व गर्नु असामान्य नै हो ।

ऊर्जा सचिव सुरेश आचार्य र जलस्रोत तथा सिञ्चाइ सचिव सरिता दवाडी एकैसाथ फरक–फरक देशको भ्रमणमा गएपछि चटौतले  निमित्त सचिवको जिम्मेवारी पाएका थिए ।

सचिव दवाडी विगत एक सातादेखि श्रीलंका भ्रमणमा थिए भने अर्का सचिव आचार्य पुस ४ गतेदेखि भारत भ्रमणमा छन् ।

मन्त्रालयका एक कर्मचारीका अनुसार सचिव आचार्य भारतको एउटा कार्यक्रममा भाग लिन तथा स्वास्थ्य उपचारसहित व्यक्तिगत काम पनि भएको भन्दै भारत गएका हुन् । अर्कातर्फ जलस्रोत सचिव दवाडी भने विगत एक साताअघि मन्त्रालयका अन्य कर्मचारीहरू समेतको टोलीको नेतृत्व गर्दै श्रीलंका पुगेकी थिइन् ।

दवाडीसँगै सहसचिव शिशिर कोइराला, उपमहानिर्देशक दिनेश भट्ट, सीडीईहरू विष्णुदेव यादव, वीरसिंह धामी, नवीन पौडेल, वरिष्ठ समाजशास्त्री कृष्ण उप्रेती र शाखा अधिकृत सुवास चापागाईं पनि श्रीलंका भ्रमणमा गएका थिए ।

पुस ७ गते आइतबार सचिव दवाडी मन्त्रालयमा उपस्थित भएपछि सहसचिव चटौत निमित्त मुख्यसचिवको जिम्मेवारीबाट हटेर प्रवक्ताको नियमित जिम्मेवारीमा आएका छन् ।

चालू आर्थिक वर्षको साउनदेखि मंसिरसम्म सचिव दवाडीले श्रीलंका, अस्ट्रेलियासहित २ देशको भ्रमण गरिसकेका छन् ।

त्यसैगरी, चालू आर्थिक वर्षमै अर्का सचिव आचार्यको यो तेस्रो भारत भ्रमण हो । यसअघि पनि उनले चालू आर्थिक वर्षमै २ पटक भारत भ्रमण गरिसकेका छन् । दुईपटक एक्लै र एकपटक टोलीको नेतृत्व गरेर उनी भारत भ्रमणमा गएका हुन् ।

सचिव आचार्य सहसचिव जीवछ मण्डल र बुढीगण्डकी जलविद्युत् कम्पनीका प्रमुख कार्यकारी अधिकृत मधुप्रसाद भेटुवालसहित ३ तीन सदस्यीय टोलीको नेतृत्व गर्दै भारत भ्रमणमा गएका थिए । त्यसपछि पुनः उनी १ पटक एक्लै भारत भ्रमणमा गए ।

चालू आर्थिक वर्षको ५ महिनामै ६० कर्मचारीले गरे विदेश भ्रमण

चालू आर्थिक वर्षको ५ महिनामै ऊर्जा मन्त्रालय तथा विभागका ६० जना कर्मचारीहरूले विदेश भ्रमण गरेका छन् ।

जल तथा ऊर्जा आयोगको सचिवालयका सहसचिव सन्दीपकुमार देवले ६ महिनाभित्र जर्मनी र दुबईसहित २ देशको भ्रमण गरिसकेका छन् । विद्युत् विकास विभागका उपमहानिर्देशक गोकर्णराज पन्थ र मन्त्रालयका इन्जिनीयर नारायण श्रेष्ठले अस्ट्रेलिया भ्रमण गरिसकेका छन् ।

त्यसैगरी, विद्युत् विकास विभागका सीडीई चिरञ्जीवी झा र मन्त्रालयका इन्जिनीयर तेजेन्द्र रेग्मी, सीडीईहरू राजु आचार्य तथा राजेशभक्त पोखरेलले चीन भ्रमण गरेका छन् ।

विद्युत् विकास विभागका सीडीई गोपीप्रसाद साह तथा जल तथा मौसम विज्ञान विभागकी उपसचिव सावित्री पौडेलले चीन भ्रमण गरेका छन् । विद्युत् विकास विभागकै सीडीई विजय पुरीले  अस्ट्रेलिया, मन्त्रालयका सीडीईहरू शालिग्राम भण्डारीले जापान तथा सीडीई राजु महर्जनले चीन भ्रमण गरेका छन् ।

त्यसैगरी, मन्त्रालयका सहसचिव चिरञ्जीवी चटौतले चीन, विद्युत् विकास विभागका उपमहानिर्देशक सागरराज गौतमले चीन तथा विभागका इन्जिनीयर रविन लामिछानेले भारतको भ्रमण गरेका छन् ।

मन्त्रालयका इन्जिनीयर अञ्जन अधिकारीले भुटान, जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराज जोशी र मन्त्रालयका सहसचिव टीकाराम बरालले अजरवैजानको भ्रमण गरेका छन् ।

त्यसैगरी, मन्त्रालयका सहसचिव शिशिर कोइरालाले चालू आर्थिक वर्षमै दुईपटक विदेश भ्रमण गरिसकेका छन् ।

उनले श्रीलंका र अस्ट्रेलियाको भ्रमण गरेका हुन् । उपमहानिर्देशक डा. अर्चना श्रेष्ठले पनि दुईपटक विदेश भ्रमण गरेकी छन् ।

मलेसिया र थाइल्यान्डसहित उनले २ देशको भ्रमण गरेकी हुन् । त्यसैगरी, सिनियर डिभिजनल मेटेरियोलोजिस्ट शान्ति कंडेलले हङकङ र फिलिपिन्ससहित २ देशको भ्रमण गरेकी छन् ।

अर्का सिनियर डिभिजनल मेटेरियोलोजिस्ट वरुण पौडेलले पनि चीन र इन्डोनेसियाको भ्रमण गरेका छन् ।

त्यसैगरी, मन्त्रालयका सहसचिव मित्र बराल भारतको नयाँ दिल्ली, सीडीई पवन अधिकारी र इन्जिनीयर किशोर घिमिरेले चीनको भ्रमण गरेका छन् ।

इन्जिनीयर जमुना परियार, वातावरण निरीक्षक तेजेन्द्र रेग्मीले भारत, सीडीई भरत पाठक र इन्जिनीयर संगीता शाहले चीनको भ्रमण गरेका छन् ।

हेर्नुहोस्, चालू आर्थिक वर्षको विदेश भ्रमणमा जाने कर्मचारीको विवरण :

null

null

त्यसैगरी, मेटेरियोलोजिस्टहरू सुदर्शन हुमागाईं, विनोदबाबु ढकाल र विनु महर्जनले इन्डोनेसियाको भ्रमण गरेका छन् भने कार्यकारी निर्देशक सन्तोष कैनी, सीडीई इजी जिसीले अस्ट्रेलिया भ्रमण गरेका छन् ।

सीडीई नविनकुमार श्रेष्ठले जापान, सिनियर डिभिजनल हाइड्रोलोजिस्ट विनोद पराजुलीले भारत, इन्जिनीयर नेहाकुमारी सिंहले चीन, इलेक्ट्रोनिक इन्जिनीयर अम्बिकाप्रसाद बरालले सिंगापुरको भ्रमण गरेका छन् । मन्त्रालयका अर्का सहसचिव डा. जगदिश्वर कर्माचार्यले भुटान, सिनियर डिभिजनल मेटेरोलियोजिस्ट चिरञ्जिवी भेटवालले अस्ट्रियाको भ्रमण गरेका छन् ।

उपमहानिर्देशक डा . राजन भट्टराई, सीडीई दिनकर कायस्थ, हाइड्रोलोजिस्ट निराकार थापा, इन्जिनीयर गृष्मा आचार्यसहित चारजनाले नर्वेको भ्रमण गरेका छन् ।

९ महिनामा ११० कर्मचारीले पटकपटक गरी गरे १७७ देशको भ्रमण  

२०७९ साउनदेखि चैतसम्म ९ महिनामा मात्र ऊर्जा मन्त्रालयका ११० जना कर्मचारीले पटक–पटक गरी कुल १७७ देशको भ्रमण गरेको पाइएको छ । उक्त ९ महिनाको अवधिमा मात्रै एकजना कर्मचारीले ८  पटकसम्म विदेश भ्रमण गरेको पाइएको छ ।

मन्त्रालयका सहसचिव मधुप्रसाद भेटुवालले ९ महिनाको अवधिमा ८ पटक विदेश भ्रमण गरेको पाइएको हो ।

उनले सन् २०२२ को २९ अगस्टदेखि १ सेप्टेम्बरसम्म भारत, २-४ मे २०२३ मा भारत, ५-८ जुन २०२३ मा नर्वे, २७-३० मार्च २०२३ मा थाइल्यान्ड, १७-१८ फेब्रुअरी २०२३ मा भारत,  १७-२२ अक्टोबर २०२३ मा भारत, १०-११ मे २०२३ मा बंगलादेश र पुनः भारतको भ्रमण गरेका छन् ।

त्यसैगरी, सहसचिव सन्दीपकुमार देवले ९ महिनामा ६ देशको भ्रमण गरेका छन् । देवले १७-१८ फेब्रुअरी २०२३ मा भारत, १०-११ मे २०२३ मा बंगलादेश, १६-२१ अप्रिल २०२३ मा काजकिस्तान, ५-८ जुन २०२३ मा नर्वे, २२-२६ मे २०२३ मा जर्मनी र ५-१२ नोभेम्बर २०२२ मा जापानको भ्रमण गरेका छन् ।

त्यसैगरी, जलस्रोत तथा सिञ्चाइ विभागका तत्कालीन महानिर्देशक सुशीलचन्द्र आचार्यले ६ देशको भ्रमण गरेका थिए ।

उनले २३-३० नोभेम्बर २०२१ मा मोरक्को, २५-२८ अप्रिल २०२२ मा बंगलादेश, ३०१० अक्टोबर २०२२ मा अस्ट्रेलिया,१०-१६ नोभेम्बर २०२२ मा इजिप्ट, ११-१७ जुन २०२३ मा दक्षिण कोरिया, १९-२७ अगस्टमा जापानको भ्रमण गरेका थिए ।

त्यसैगरी, जलस्रोत तथा सिञ्चाइ विभागका उपमहानिर्देशक टीकाराम बरालले २३-३० नोभेम्बर २०२१ मा मोरक्को, २-१० अक्टोबर २०२२ मा अस्ट्रेलिया, ११-१७ जुन २०२३ मा दक्षिण कोरिया, १९-२७ अगस्ट २०२३ मा जापान भ्रमण गरेका थिए ।

सुनकोशी मारिन डाइभर्सन आयोजनाका तत्कालीन आयोजना निर्देशक मित्र बरालले २३-३० नोभेम्बर २०२१ मा मोरक्को, ३-१० अक्टोबर २०२२ मा अस्ट्रेलिया, २०-२९ मार्च २०२३ मा अमेरिका र पुनः एकपटक अमेरिका भ्रमण गरेका छन् ।

त्यसैगरी, जल तथा मौसम विज्ञान विभागका तत्कालीन महानिर्देशक कमलराम जोशीले १-४ नोभेम्बर २०२२ मा काजकस्तान, ११-१७ अगस्ट २०२२ मा फिनल्यान्ड, ७-८ जुन २०२३ मा थाइल्यान्ड र १६ मे २०२३ मा भारतको भ्रमण गरेका छन् ।

जल तथा मौसम विज्ञान विभागकै उपमहानिर्देशक डा. राजन भट्टराईले १९-२० सेप्टेम्बर २०२२ मा थाइल्यान्ड, १३-१६ मार्च २०२३ मा दुबई, २ नोभेम्बर २०२२ मा भारत, ७-८ जुन २०२३ मा थाइल्यान्ड र १६ मे २०२३ मा भारतको भ्रमण गरेका छन् ।

ऊर्जा, जलस्रोत तथा सिञ्चाइ मन्त्रालयका सहसचिव पुष्कर सापकोटाले १७-२१ अक्टोबर २०२२ मा फिनल्यान्ड, १७-१८ फेब्रुअरी २०२३ मा भारत, १६-२१ अप्रिल २०२३ मा काजकिस्तान, १०-११ मे २०२३ मा बंगलादेश र २२-२६ मे २०२३ मा जर्मनीको भ्रमण गरेका छन् ।

यसरी मन्त्रालयका सचिवदेखि शाखा अधिकृतसम्मका कम्तीमा १ सयभन्दा बढी कर्मचारीले कुल २ सय पटकभन्दा बढी विदेश भ्रमण गरेको पाइएको छ ।

कार्यशाला गोष्ठी, अनुगमन भ्रमण, मशिन खरिद सम्बन्धी छलफल, आयोजनासँग सम्बन्धित छलफल भन्दै मन्त्रालयका उच्च तहका कर्मचारीहरू प्रायःजसो विदेश भ्रमणमा जाने गरेको पाइएको हो ।

खर्च नै नगरी विदेश भ्रमण गर्न पाइने र थप दैनिक भ्रमण भत्ता पनि अमेरिकी डलरमा आम्दानी हुने लोभले कर्मचारीहरू विदेश भ्रमणका लागि मरिहत्ते गर्ने गरेको उनले खुलाए ।

भ्रमण खर्च नियमावलीअनुसार कर्मचारीहरूले विदेश भ्रमण गर्दा दैनिक भ्रमण भत्ता पनि पाउने गरेका छन् ।

विशिष्ट श्रेणीका कर्मचारीले २२५ अमेरिकी डलर, सहसचिवले १७५ अमेरिकी डलर, उपसचिवले १५० अमेरिकी डलर, शाखा अधिकृतले १२५ अमेरिकी डलर र नायब सुब्बाले १ सय अमेरिकी डलर दैनिक भत्ता पाउने गर्छन् ।

युरोप, अमेरिका, क्यानडा, अस्ट्रेलिया, न्युजिल्यान्ड,  कुवेत, कोरिया, जापान, हङकङ, रुस, कतार, जाम्बिया, यूएई , सिंगापुर, लेबनान र बहराइनको भ्रमण गर्दा माथि उल्लेख गरिएको दैनिक भ्रमण भत्तामा थप ३३ प्रतिशत रकम दिने गरिएको छ ।

कतिपय कर्मचारी सरकारी खर्चमै विदेश जाने गरेका छन् भने अधिकांश वैदेशिक भ्रमण भने दातृनिकायले नै खर्च बेहोर्ने गरी हुने गरेको मन्त्रालयका एक कर्मचारीले बताए ।

'त्यही दातृनिकायको अनुदान, सहकार्य तथा ऋण लगानीमा नेपालमा ऊर्जादेखि जलस्रोत, सिञ्चाइसम्मको क्षेत्रमा राष्ट्रिय गौरवका आयोजनादेखि थुप्रै आयोजनाहरू सञ्चालित छन्,' ती कर्मचारीले लोकान्तरसँग भने, 'वर्ल्ड बैंक, एडीबीदेखि यूएनडीपी, जाइकालगायत विभिन्न दातृनिकायले कर्मचारीहरूलाई त्यही अवसरमा पटक–पटक विदेश भ्रमण गराउँछन् । र, विदेश घुमाएर आफ्नो अनुकूलको काम गर्न लगाउँछन् ।'

विदेश भ्रमण गरेपछि भ्रमण प्रतिवेदन पेश गर्नुपर्नेमा पेश नहुने गरेको समेत उनले खुलाए ।

'एक/दुईजना कर्मचारी मात्र जानु पर्ने ठाउँमा अनावश्यकरूपमा बढी कर्मचारीहरू समेत जाने गरेका छन्,' उनले थपे, 'अनुत्पादक काममा कर्मचारीहरूको भ्रमण हुने गरेको छ ।'

तर, मन्त्रालयका प्रवक्ता चिरञ्जीवी चटौत भने आवश्यकताअनुसार नै विदेश भ्रमण भएको दाबी गर्छन् ।

'अन्य मन्त्रालयको तुलनामा यस मन्त्रालयमा बढी कर्मचारीको विदेश भ्रमण देखिएको होला, तर जानैपर्ने अवस्थामा जानुपरेको हो,' चटौतले लोकान्तरसँग भने,' त्यसै घुम्न जान्छौं भनेर पनि जान दिइएको छैन । कतिपय संस्थासँग द्विपक्षीय बैठक वा छलफल गर्नुपर्ने हुनाले जानुपर्ने हुन्छ । बोलाएपछि उपस्थित हुनैपर्छ ।'

विदेश भ्रमणबाट फर्किएपछि प्रतिवेदन समेत पेश नहुने गरेको विषयमा उनले भने, 'सरकारी खर्चबाट जानेहरूले प्रतिवेदन पेश गर्नैपर्छ । त्यो भएकै होला । तर, दातृनिकायको खर्चमा जानेहरूमध्ये केहीको प्रतिवेदन मिस भएको पनि हुन सक्छ ।'

हेर्नुहोस्, विगत ९ महिनामा वैदेशिक भ्रमणमा जाने कर्मचारीहरूको विवरण :

salt training

कमेन्ट गर्नुहोस्