
पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन प्रकरणमा पूर्वडीआईजी छविलाल जोशीको बयान सकिएको छ।
गोर्खा मिडिया नेटवर्कका तत्कालीन उपाध्यक्ष जोशीको कास्की जिल्ला अदालतमा मंगलबार बयान सकिएको हो । उनीसँग सोमबार पनि बयान लिइएको थियो ।
सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दामा न्यायाधीश नितिज राईको इजलासमा जोशीको बयान भएको हो । छविको बयान सकिएपछि अर्का प्रतिवादी लीला पछाईसँगको बयान शुरू भएको छ ।
सोही प्रकरणमा मुद्दा दायर भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको भने अझै पालो आएको छैन । उनको पालो आउन केही दिन लाग्ने भएको छ।
किनभने लिलाको बयान सकिएको छैन। बुधबार क्रिसमस डेको सार्वजनिक बिदा परेको छ। बिहीबार अदालत खुलेपछि लिलाको बयान निरन्तर हुने अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए ।
मंगलबार जिल्ला अदालतमा छवि, रवि, पछाईंसँगै नेचर हर्ब्सका सञ्चालक रामबहादुर खनाललाई पुर्याइएको थियो। सूर्यदर्शन सहकारीका सञ्चालक रहेका कृष्णबहादुर गुरुङ भने बिरामी भएकाले अदालत लगिएन ।
यो प्रकणमा प्रहरी हिरासतमा रहेका लामिछाने, जोशी, पछाईं, खनाल र गुरुङको बयान सकिएपछि थुनछेक बहस शुरू हुनेछ । त्यसपछि मात्र अदालतले उनीहरूलाई पुर्पक्षका लागि थुनामा पठाउने, धरौटी वा साधारण तारेखमा छाड्ने भन्ने निर्णय गर्नेछ ।