
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक गत भदौ १८ गते अन्तिमपटक २८३०.१६ को बिन्दुमा बन्द भएको थियो । त्यसको भोलिपल्ट भदौ १९ गते परिसूचकले २८०० को बिन्दुलाई परीक्षण गर्यो । त्यसयताको करिब चार महिनासम्म परिसूचकले २८ सय बिन्दुलाई छुन सकेको छैन । अर्थात्, २८ सयको आसपास पुगेर बजार झरिरहेको छ ।
साउन ३१ गते ३०००.८१ को बिन्दुमा पुगेको नेप्से परिसूचक ४ महिनायता २४०० देखि २७०० को बिन्दुमा घुमिरहेको छ । यसबीचमा असोज १३ गते परिसूचक २४६४.४० को न्यून बिन्दुमा झर्यो । साउनमा ४७ खर्ब ६५ अर्ब रुपैयाँ पुगेको बजार पुँजीकरण अहिले ४३ खर्ब ६३ अर्ब रुपैयाँ छ ।
नयाँ सरकार बनेपछि उकालो लागेको शेयर बजार त्यसपछि सुस्ताएको जस्तो देखिन थालेको छ । बीचमा नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्त हुँदा केही आशा देखिएको थियो । उक्त आशा समेत लामो समय टिक्न सकेन ।
नयाँ सरकारले देखाएको आशा निराशामा परिणत भएको लगानीकर्ता छोटेलाल रौनियार बताउँछन् । आशा भाषणमा मात्रै सीमित भएको र कार्यान्वयनमा शून्य रहेको उनको भनाइ छ ।
‘नयाँ सरकारले पूँजी बजारमा आशा देखायो र शेयर बजारले पनि आशा अनुसारको रियाक्ट गर्यो, तर सरकारले डेलिभरी दिन सकेन । अर्थात्, नयाँ सरकारको कुरा भाषणमा मात्रै सीमित भयो । लगानीकर्ताहरू सधैं मारमा परे’, उनले भने, ‘लगानीकर्ताहरूमा आशा नभएपछि शेयर बजार कसरी बढ्छ ? शेयर बजार बढ्नका लागि लगानीकर्ताहरूमा आत्मविश्वास छैन ।’
शेयरबजारका अर्का जानकार रोहन कार्की नयाँ अर्थमन्त्री आउँदाको आशा निराशामा परिणत भएको बताउँछन् । सरकारबाट नीतिगन सहजीकरण नभएको उनको गुनासो छ ।
‘नयाँ अर्थमन्त्री आउँदा लगानीकर्तामा जुन उत्साह थियो, त्यो अहिले छैन । लगानीकर्ताहरूले उहाँबाट पोलिसीगत कदम चालिने आशा गरेका थिए । त्यो पूरा भएको छैन,’ उनले भने, ‘अर्थमन्त्रीज्यूबाट ठोस कदम चालिएको छैन । शेयरबजार नीतिगत निर्णयको पर्खाइमा छ ।’
नेप्से २४ सय र २८ सयको साइडवेजमा रहेको उनको भनाइ छ । यस साइडवेज मुभमेन्टबाट बाहिर निकाल्न नीतिगत परिवर्तनको पर्खाइमा बजार रहेको कार्कीले बताए ।
२५७५ देखि २५५० सम्मको बिन्दुलाई करेक्सनकै निरन्तरता मान्न सकिने शेयर बजारका विश्लेषक सुभाष ढुंगाना बताउँछन् । केही समय अझै करेक्सन चलिरहने र २८ सयको बिन्दुमाथि नजाने उनको भनाइ छ ।
‘अहिले केही हदसम्म बजारमा करेक्सन देखिएको छ । अहिले नै करेक्सन रोकिने दखिँदैन,’ उनले भने, ‘२४ सयमा परिसूचक झर्दा पनि करेक्सन नै हो । केही समय २५ सय २६ सयकै बिन्दुमा नेप्से चलिरहन्छ ।’
मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाबाट लगानीकर्ताहरूले धेरै अपेक्षा राखेका थिए । लगानीकर्ताका अनुसार नेपाल राष्ट्र बैंकबाट मार्जिन प्रकृतिको शेयर धितो कर्जाको जोखिम भार घट्ने र शेयर धितो कर्जाको सीमा पनि बढाउने आशा थियो । तर, मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाले त्यही पुरानै व्यवस्थालाई निरन्तरता दियो ।
मार्जिन प्रकृतिको शेयर धितो कर्जाको जोखिम भार १२५ प्रतिशत यथावत छ । यसलाई घटाएर शतप्रतिशतमा झार्नुपर्ने लगानीकर्ताहरूले माग अझै छ । यसका साथै शेयर धितो कर्जाको सीमालाई पनि बढाउनुपर्ने उनीहरूको माग छ । अहिले व्यक्तिगततर्फ शेयर धितो कर्जाको अधिकतम सीमा १५ करोड रुपैयाँ कायम छ ।
लगानीकर्ताहरूले राष्ट्र बैंकको कसिलो नीतिले पुँजीबजारमा नकारात्मक प्रभाव परेको बताएका छन् ।
बैंकहरूसँग पर्याप्त लगानीयोग्य रकम भएको, ब्याजदर पनि न्यून रहेको र लगानीकर्ताहरूले रुचाएको अर्थमन्त्री हुँदा पनि शेयर बजार बढ्न नसक्नुको कारण राष्ट्र बैंकको नीति नै रहेको लगानीकर्ता छोटेलाल रौनियार बताउँछन् । सरकारले भाषण मात्रै दिएको र व्यवहारमा पुँजीबजारलाई बेवास्ता गरेको उनको विश्लेषण छ ।
‘सरकारको बोली बचन मात्रै भयो, व्यवहारमा केही भएन । चाहे त्यो अर्थमन्त्रीज्यूको कुरा होस् अथवा चाहे नवनियुक्त धितोपत्र बोर्डका अध्यक्षज्यू, कुनै पनि नेतृत्वले पुँजीबजारलाई हेरेको छैन’, उनले भने, ‘नियामक निकायले पनि नियमन गर्न सकेको छैन । सरकारले पनि यसलाई प्राथमिकता दिएको छैन ।’
धितोपत्र बोर्डको नियमन कडा नभएकाले शेयर बजार हल्लाका आधारमा तलमाथि हुने गरेको उनको भनाइ छ ।
राष्ट्र बैंकले पुँजी बजारप्रति सधैं उदार हुन आवश्यक नरहेको नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर दीपेन्द्रबहादुर क्षेत्री बताउँछन् । शेयर बजारलाई मात्रै हेर्ने काम राष्ट्र बैंकको नभएको उनको भनाइ छ ।
‘राष्ट्र बैंक शेयर बजारप्रति सधैँ उदार भएर हुँदैन । पुँजी बजारलाई मात्रै हेर्ने राष्ट्र बैंकको काम होइन’, उनले भने, ‘राष्ट्र बैंकले देशको समग्र अर्थतन्त्रलाई हेर्ने हो, कुनै एउटा क्षेत्रमा अल्झिने होइन ।’
शेयर बजारमा लगानीकर्ताभन्दा व्यापारी हावी भएकाले यसलाई खुला छाड्न नहुने उनको सुझाव छ ।
‘शेयर बजार १८ सयको बिन्दुमा झर्दा पनि केही भएको थिएन । केबल शेयर बजार घट्यो भन्ने मात्रै थियो’, उनले भने, ‘त्यसैले बैंकहरूसँग पैसा छ भन्दैमा शेयर बजारमा लगानी गर्नैपर्छ भन्ने छैन ।’
कस्तो रह्यो साताको कारोबार ?
साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक १३.५३ अंकले घटेर २५८३.२९ को बिन्दुमा बन्द भयो । यस दिन बजारमा ९१ लाख ८० हजार ७१८ कित्ता शेयरको खरिदबिक्री हुँदा ४ अर्ब ५१ करोड ८३ लाख ८५ हजार रुपैयाँको कारोबार भएको थियो ।
साताको दोस्रो कारोबारका दिन सोमबार परिसूचक २८.९१ अंकले बढेर २६१२.२० को बिन्दुमा बन्द भयो । यस दिन ४ अर्ब ४३ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको थियो ।
साताको तेस्रो कारोबारका दिन मंगलवार परिसूचक १४.३१ अंकले बढेर २६२६.५२ को बिन्दुमा बन्द भयो । यस दिन बजारमा १ करोड २७ लाख ४६ हजार ४१० कित्ता शेयरको खरिदबिक्री हुँदा ५ अर्ब २० करोड २२ लाख ६३ हजार रुपैयाँको कारोबार भयो ।
बुधवार सार्वजनिक बिदाका कारण शेयर कारोबार बन्द रह्यो । र, साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक ४.१९ अंकले बढेर २६३०.७१ को बिन्दुमा बन्द भयो ।
यस दिन बजारमा २ करोड ९ लाख ७८ हजार ९७९ कित्ता शेयर खरिदबिक्री हुँदा ५ अर्ब ३२ करोड ९२ लाख ७४ हजार रुपैयाँको कारोबार भएको छ ।