बशर अल-असदको पतनपछि सिरियाको नयाँ नेतृत्वले सर्वसम्मतिले सरकार चलाउने प्रयासस्वरूप विभिन्न विद्रोही समूहलाई एकीकृत गर्न थालेको छ ।
सिरियाली सरकारी समाचार सेवा सानाका अनुसार केही विद्रोही समूहले आफूलाई विघटन गरी रक्षा मन्त्रालयअन्तर्गत समाहित हुन सहमति जनाएका छन् ।
'विद्रोहीहरू एक राज्य निर्माण गर्ने प्रयास गर्दैछन्,' अन्तर्राष्ट्रिय संकट समूहकी वरिष्ठ सल्लाहकार दारेन खालिफाले भनिन्, 'सयौं साना–ठूला सशस्त्र समूह स्वतन्त्र रूपमा चलिरहेका अवस्थामा राज्य निर्माण गर्न गाह्रो हुन्छ ।'
विद्रोही समूहलाई विघटन गर्ने प्रयास चलिरहेका बेला बुधबार सिरियाको पश्चिमी तट क्षेत्रमा नयाँ प्रशासनले हस्तक्षेप गर्ने प्रयास गर्दा घातक झडप भएको छ ।
आन्तरिक मन्त्री मोहम्मद अब्दुल रहमानले बुधबार एक वक्तव्य जारी गर्दै सिरियाको प्रमुख बन्दरगाह शहर तात्रुसमा अपदस्थ राष्ट्रपति असदका समर्थकसँगको झडपमा नयाँ प्रशासनको प्रतिनिधित्व गर्ने १४ सुरक्षाकर्मी मारिएको बताएका छन् ।
सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सका अनुसार तात्रुसमा सुरक्षा गस्ती टोलीले सिरियाको कुख्यात सैदनाया जेलमा हजारौं कैदीलाई हत्या गरेको आरोपमा असद समर्थक अधिकारी मोहम्मद कान्जु अल-हसनलाई खोजिरहेको थियो ।
हसनका दाइ र उनीसँग रहेका सशस्त्र समूहमाथि सुरक्षाकर्मीको टोलीले आक्रमण गरेको थियो । आक्रमणमा हसनका दाइ मारिए भने हसन अहिलेसम्म पक्राउ परेका छैनन् ।
नयाँ प्रशासनले देशका विभिन्न सशस्त्र विद्रोही समूहलाई विघटन गर्दै एकीकृत राष्ट्रिय सेना स्थापना गर्ने कदम चालेका बेला उक्त मुठभेड हुनुलाई अर्थपूर्ण तरिकाले हेरिएको छ ।
नयाँ संविधान लेख्ने तयारी
असदको तानाशाहीलाई पराजित गर्ने अभियानका नेता अहमद अल-शारा(पहिला अबु मोहम्मद अल-जोलानीका नामले चिनिन्थे)ले नयाँ राज्य निर्माणका लागि हालसालै अन्य कदमहरू पनि चालेका छन् ।
उनको प्रशासनले मार्च २०२५ सम्मका लागि एक अन्तरिम सरकारको नेतृत्व गर्न एक कार्यवाहक प्रधानमन्त्री नियुक्त गरेको छ र कानूनी समितिले नयाँ संविधान मस्यौदा तयार गर्ने प्रतिज्ञा गरेको छ ।
अन्तर्राष्ट्रिय संकट समूहकी सल्लाहकार खालिफाले यसै साता अल-शारासँग भेटघाट गरेर विद्रोही समूहहरू विघटन गरेर मात्र शान्ति स्थापना हुनसक्ने बताएकी थिइन् ।
'अनियन्त्रित समूहहरू ग्रामीण सिरियाका केही भागमा नयाँ प्रशासनविरुद्ध काम गरिरहेका छन्,' भेटका क्रममा खालिफाले व्यक्त गरेको भनाइ उदृत गर्दै द न्यूयोर्क टाइम्स लेख्छ, 'अबको प्राथमिकता सबै विद्रोही समूहलाई विघटन गर्नुपर्ने हुन्छ ।'
विद्रोही समूहलाई एकीकृत गर्ने सहमति मंगलबार भएको थियो ।
त्यसै दिन सामाजिक सञ्जालमा अल-शाराले दर्जनौं विद्रोही समूहका नेताहरूलाई भेट गरेको तस्वीर भाइरल भएको थियो । अधिकांश विद्रोही समूहका नेता सैन्य पोशाकमा देखिन्थे ।
केही दिन अघिसम्म सैन्य पोशाकमै देखिने अल-शारा आजकल व्यवसायिक पोशाकमा देखिन थालेका छन् । यसअघि उनी जिहादी समूहका नेता थिए तर अहिले आफैंलाई धार्मिक राष्ट्रवादी नेताका रूपमा प्रस्तुत गर्न खोजिरहेका छन् ।
उनको विद्रोही समूह हयात तहरीर अल-शामले असदलाई पराजित गरेपछि उनी आफूलाई विद्रोही नेताभन्दा पनि राजनेताको रूपमा प्रस्तुत हुने प्रयास गरिरहेका छन् ।
आइतबार टर्कीका विदेश मन्त्री हाकान फिदानसँगको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै अल-शाराले भने, 'राज्यको तर्क क्रान्तिको तर्कभन्दा फरक हुन्छ । हामी कुनै पनि हालतमा राज्यको ढाँचाबाहिर हतियार राख्न अनुमति दिनेछैनौं ।'
उनले यो भनाइ विद्रोही समूह र अमेरिका समर्थित सिरियन डेमोक्रेटिक फोर्स(एसडीएफ) दुवैलाई लक्षित रहेको बताए ।
एसडीएफले उत्तरपूर्वी सिरियामा कुर्दहरूको प्रभुत्व रहेको स्वायत्त क्षेत्रलाई नियन्त्रणमा राखेको छ, जबकि अन्य विद्रोही समूहहरूले देशका अन्य भागमा आफ्नो प्रभाव जमाएका छन् ।
हयात तहरीर अल-शामको नेतृत्वमा रहेको विद्रोही गठबन्धनले असदको तानाशाहीलाई परास्त गर्न मुख्य भूमिका खेलेको थियो ।
सानाको रिपोर्टअनुसार सबै विद्रोही समूहहरूले मंगलबार एकता सम्झौतामा हस्ताक्षर गरेका छन् । तर सिरियन डेमोक्रेटिक फोर्सले भने त्यसमा हस्ताक्षर नगरेको द न्यूयोर्क टाइम्सको दाबी छ ।
प्रवक्ता फरहाद सामीका अनुसार एसडीएफलाई नयाँ सिरियन सेनामा समाहित हुन सैद्धान्तिक रूपमा आपत्ति छैन, तर यस विषयमा अन्य क्षेत्रीय शक्तिहरूको हस्तक्षेपविना वार्ता हुनु आवश्यक छ ।
सामीले भने, 'एसडीएफले इस्लामिक स्टेटसँग लड्ने, सिरियाली जनताको अधिकार सुनिश्चित गर्ने गरी नयाँ संविधान लेख्ने, चुनाव गर्ने र समावेशी सरकार गठन गर्ने विषयमा दमास्कससँग कुरा गर्न चाहन्छ ।'
सिरियामा कुन विद्रोही समूहको के उद्देश्य ?
असदविरुद्ध विजय प्राप्त गरेका दर्जन बढी विद्रोही समूहहरूको लक्ष्यमा एकरूपता देखिन्न ।
फ्री सिरियन आर्मीको मुख्य उद्देश्य असदको निरंकुश शासन हटाएर लोकतान्त्रिक सरकार स्थापना गर्नु हो । यसमा इस्लामिक अतिवादी विद्रोही समूहको समर्थन छैन ।
त्यस्तै सिरियन डेमोक्रेटिक फोर्सेस कुर्दिश स्वायत्तता र धर्मनिरपेक्ष शासनको पक्षमा छ ।
तर, अन्य इस्लामिक झुकाव भएका समूहहरूले यी दुवै समूहसँग परस्पर विरोधी विचारधारा राख्छन् । जसमध्ये पछिल्लो विद्रोहको नेतृत्व गरेको हयात तहरीर अल-शामले सिरियामा इस्लामिक कानून (शरिया) आधारित शासन स्थापना गर्ने लक्ष्य राखेको छ ।
त्यस्तै, अर्को इस्लामिक विद्रोही समूह जबात अहरार अल-शाम र जयश अल-इस्लामले सलाफी इस्लामिक शासनको समर्थन गर्छ । हुरास अल-दिनले अल-कायदाको विचारधारामा आधारित शासन व्यवस्था चाहन्छ ।
अरू चरमपन्थी समूहजस्तै आईएसआईएसले राजतन्त्रको चाहना राखेको छ र सिरियाको सम्पूर्ण क्षेत्रमा नियन्त्रण गर्ने लक्ष्य राखेको छ । यद्यपि यो समूह अहिले निकै कमजोर छ ।
सिरियाको विद्रोहमा टर्कीयले पनि मुख्य भूमिका खेलेको थियो । टर्कीयले समर्थन गरेको सिरियन नेशनल आर्मीले टर्कीयकै विरोधमा हतियार उठाएका कुर्दिश समूहलाई निमिट्यान्न पार्ने लक्ष्य राखेको छ ।
फरक-फरक विचारधारा र शासन प्रणालीको वकालत गर्ने समूहहरूले सामूहिक रूपमा सिरियाबाट असदलाई भगाउन सफल भएपनि आन्तरिक द्वन्द्वका कारण स्थायित्व भने दिन नसक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले चर्चा गरेका छन् ।
असदविरुद्ध लडाईं चलिरहँदा पनि यी समूहहरूले क्षेत्रीय नियन्त्रण कायम राख्न एकआपसमा पनि लड्ने गरेका थिए । अहिलेको विद्रोहको नेतृत्व गरेको एचटीएसले अन्य धेरै विद्रोही समूहलाई दबाएर राखेको छ । इदलिबमा आफ्नो प्रभुत्व कायम गर्न अवरोध गर्ने अन्य समूहसँग एचटीएसले लामो लडाईं लडेको थियो ।
त्यस्तै, सिरियन डेमोक्रेटिक फोर्स (एसडीएफ) र टर्कीय समर्थित समूहबीच पनि पटक-पटक लडाईं चल्ने गर्छ । एसडीएफ र टर्कीय समर्थित समूहबीच कुर्दिश स्वायत्तता र क्षेत्रीय नियन्त्रणको विषयमा मतभेद छ ।
व्यवस्थापनमा समस्या
सिरियाको नयाँ प्रशासनले सबै विद्रोही समूहलाई एकीकृत गर्नका लागि पारदर्शी नेतृत्वलाई अघि सार्नुपर्ने आवश्यकता रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले चर्चा गरेका छन् ।
विद्रोही समूहलाई साझा राष्ट्रिय हित र दीर्घकालीन स्थायित्वको स्पष्ट योजना प्रस्तुत गर्नुपर्ने दबाब रहेको छ । विशेषतः नयाँ प्रशासनले विद्रोही समूहहरूको माग सम्बोधन गर्दै उनीहरूलाई राष्ट्रिय पुनर्निर्माणको अभियानमा सामेल गराउन रणनीति बनाइरहेको छ ।
यसैबीच, अन्तर्राष्ट्रिय मध्यस्थतामा क्षेत्रीय शक्तिले गर्ने हस्तक्षेप न्यूनीकरण हुनुपर्ने आवश्यकता बढेको छ । सिरियामा टर्कीय, इरान र अन्य क्षेत्रीय शक्तिहरूको प्रभावले विद्रोही समूहको एकीकरण प्रक्रियामा जटिलता थपेको छ ।
साथै, नयाँ संविधान निर्माण र समावेशी सरकारको ग्यारेन्टी गर्ने हो भने अधिकांश विद्रोही समूह मूलधारमा आउने संकेत देखाएका छन् ।
यदि नयाँ प्रशासनले यी सबै पक्षलाई व्यवस्थित गर्न सक्यो भने विद्रोही समूहको एकता सम्भव हुने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।