
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा पर्यटकको बसाइँ र खर्च बढाउने पूर्वाधारहरू निर्माण गरिनुपर्ने बताएका छन् । नेपाल आउने विदेशी पर्यटकको औषत खर्च तथा बसाइँ निकै कम रहेको उल्लेख गर्दै उनले त्यसलाई बढाउने खालका ठूला पूर्वाधारहरू निर्माण गरिनुपर्ने बताएका हुन् ।
शनिबार कैलालीको लम्कीचुहा नगरपालिका-३ स्थित कर्णाली चिसापानीमा आईएमई ग्रुपले निर्माण गर्ने जालपादेवी केबलकार शिलान्यास समारोहमा अध्यक्ष ढकालले मुलुकमा पर्यटन पूर्वाधारको कमी रहेकाले आफूहरूले सातै प्रदेशमा यस्ता पूर्वाधार बनाइरहेको बताए ।
‘अहिले मुलुकमा पर्यटन पूर्वाधारको कमी छ । नेपाल आउने विदेशी पर्यटकको औषत खर्च तथा बसाइँ निकै कम छ । र, यो प्रतिदिन झन् घट्दो छ । विदेशी पर्यटकहरू औषत १२ दिन नेपाल बस्ने र दैनिक औषत ५० डलर भन्दा कम खर्च गर्ने गरेको पछिल्लो तथ्यांक छ’, ढकालले भने, ‘हामीले पर्यटकलाई आकर्षित गर्ने, उनीहरूको नेपाल बसाइँ र खर्च बढाउने खालका थप ठूला पूर्वाधारहरू निर्माण गर्नुपर्नेछ । संस्कृति, कला, प्राकृतिक सौन्दर्य र यहाँको अलौकिक भूगोलको अवलोकन लागि नेपालमा पर्यटक आउने गर्छन् ।’
पर्यटन पूर्वाधारको विकासमार्फत जनजनलाई जोड्दै, मुलुकको पर्यटन प्रवर्द्धन र आर्थिक समृद्धिको बाटो पहिल्याउने दृढ संकल्प र उच्च उद्देश्यसहित आईएमई समूहले सातवटै प्रदेशमा केबलकारसहितको होटल तथा रिसोर्ट निर्माणमा लागिरहेको ढकालले बताए ।
‘यसै सिलसिलामा हामीले काठमाडौंको चन्द्रागिरि र पूर्वी नवलपरासीको गैँडाकोटमा मौलाकाली केबलकार, होटल तथा रिसोर्ट र अन्य मनोरञ्जनात्मक पूर्वाधारसहितको गन्तव्य सञ्चालनमा ल्याइसकेका छौं’, ढकालले थपे, ‘रुपन्देहीको बुटवलमा केबलकार सञ्चालनमा आइसकेको छ भने पाँचतारे होटलसहित अन्य पूर्वाधार निर्माणको क्रममा रहेको छ । त्यसैगरी ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरामा पनि केबलकर निर्माणको काम अघि बढेको छ ।’

चन्द्रागिरिमा बनेको विशाल पूर्वाधारले ५ सय प्रत्यक्ष नयाँ रोजगारी मात्र सिर्जना नगरेर समग्र चन्द्रागिरि र यसको वरिपरि आमूल परिवर्तन ल्याएको ढकालको दाबी छ ।
‘दैनिक औषत ३ हजार हाराहारीमा मानिसको आवातजावात हुँदा आर्थिक क्रियाकलाप बढेका छन् । स्थानीयको व्यवसायमा उल्लेखनीय वृद्धि भएको छ । उनीहरूको जीवनस्तरमा सुधार आएको छ’, अध्यक्ष ढकालले भने, ‘चन्द्रागिरि स्वदेशी तथा विदेशी पर्यटककै एउटा नवीन र आकर्षक गन्तव्य बनेको छ । नेपाल भ्रमणमा आउने उच्च विदेशी पाहुनाका लागि थप एक दिन बिताउने गन्तव्य बनेको छ । बालबच्चादेखि जेष्ठ नागरिकसम्मलाई एकपटक पुग्नै पर्ने पर्यटकीय गन्तव्यको रूपमा चन्द्रागिरि रहेको छ ।’
बुटवल र गैँडाकोटमा पनि चन्द्रागिरिजस्तै सयौं स्थानीयले रोजगारी पाएका ढकालले बताए । केबलकारपछि बुटवल र गैँडाकोटमा आर्थिक गतिविधि विस्तार भएका भएका, स्थानीय, भारतीय र अन्य विदेशी पर्यटकलाई नयाँ गन्तव्य बनेको ढकालले उल्लेख गरे ।
‘हामीले चन्द्रागिरिकै मोडलमा सातवटै प्रदेशमा केबलकार, होटल तथा रिसोर्टसहितको विशाल पर्यटन पूर्वाधार निर्माणको उद्देश्य लिएर अगाडि बढेका छौं’, ढकालले भने, ‘यो हाम्रो प्रयासबाट नेपाल आउने पर्यटकको बसाइँ कम्तिमा ७ दिन लम्बियोस् भन्ने हाम्रो उद्देश्य हो ।’
सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशको संगमस्थल कर्णाली चिसापानीमा शनिबार शिलान्यास भएको जालपादेवी केबलकारले यस क्षेत्रको आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा उल्लेखनीय योगदान पुर्याउने मात्र नभई समग्र क्षेत्रको पर्यटन प्रवर्द्धन, आर्थिक विकास र समृद्धिमा कोशेढुङ्गा सावित हुनेमा आफूहरू विश्वस्त रहेको ढकालले बताए ।

पर्यटकीय पूर्वाधारको निर्माणमा सरकारले निजी क्षेत्रलाई जतिधेरै सहजीकरण गरेर साझेदारीको मोडल अपनाउने नीति लिन्छ, त्यति नै छिटो देशको विकास हुनने ढकालले बताए ।
‘हामीलाई प्रकृतिले अपार बरदान दिएको छ । पर्यटन, प्रकृति र पर्यावरणमा हामीले गर्नसक्ने सम्भावना अनगिन्ती छन् । त्यसमा हामीले हाम्रो भिजन र इच्छाशक्ति मिसायौं, प्रविधि र पुँजी जोड्न सक्यौं भने साँच्चिकै मिराकल गर्न सकिन्छ भन्ने मेरो विश्वास छ’, ढकालले भने, ‘निजी क्षेत्र निश्चय पनि यो मुलुकको विकास र परिवर्तनमा यस्तै मिराकल ल्याउन सक्षम छ । हामीले पटकपटक यसको पुष्टि पनि गर्दै आएका छौं । अनुकूल वातावरण पायो भने निजी क्षेत्रले ठूलो लगानी गर्न सक्छ र विकास, रोजगारी र आर्थिक वृद्धिमा सरकारलाई सघाउन सक्छ । यो हाम्रो आत्मविश्वास हो ।’
हरेक प्रदेश तथा स्थानीय तहले आफ्नो क्षेत्रमा लगानी भित्र्याउन प्रतिस्पर्धा गर्नुपर्ने ढकालको भनाइ छ । त्यसका लागि प्रदेश र स्थानीय तहबीच लगानीकर्ताहरूलाई सम्भावित आयोजनामा लगानीका लागि आह्वान गर्ने, ठोस र व्यवहारिक नीतिमार्फत सहजीकरण गर्ने र आफ्नो प्रदेश तथा स्थानीय तहमा धेरै भन्दा धेरै लगानी भित्र्याउने प्रतिस्पर्धा हुनुपर्ने उनको भनाइ छ ।
‘तब मात्र हामीले अपेक्षा गरेको आर्थिक विकास र समृद्धि हासिल गर्न सक्छौं’, अध्यक्ष ढकालले भने ।