
औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको सञ्चालक समितिबाट उद्योगीहरूको प्रतिनिधित्व हटाउने सरकारी निर्णय तत्काल फिर्ता लिन नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघले माग गरेको छ। सरकारको निर्णयले औद्योगिक क्षेत्रको व्यवस्थापन, सुशासन र उद्योगमैत्री वातावरणलाई कमजोर बनाउने भन्दै महासंघले उक्त निर्णयको विरोधमा आन्दोलनका कार्यक्रमसमेत घोषणा गरेको हो ।
महासंघका अध्यक्ष एजाज आलमले सरकारले उद्योगीहरूको सरोकारसँग प्रत्यक्ष जोडिएको विषयमा सम्बन्धित पक्षसँग कुनै छलफल नगरी एकपक्षीय रूपमा निर्णय गरेको भन्दै त्यसलाई लोकतान्त्रिक मूल्य, सुशासन र उद्योग प्रवर्द्धनको भावनाविपरीत भएको बताए।
उनले औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको सञ्चालक समितिमा उद्योगीहरूको प्रतिनिधित्व केवल उद्योगीहरूको हकहितको प्रतिनिधित्वका लागि मात्र नभई औद्योगिक क्षेत्रका समस्या समाधान, उद्योगमैत्री वातावरण निर्माण तथा व्यवस्थापनलाई प्रभावकारी बनाउन पनि आवश्यक रहेको बताए।
उद्योगीहरूको प्रत्यक्ष सहभागिता हटाइएपछि औद्योगिक क्षेत्रको व्यवस्थापन र सञ्चालनमा थप जटिलता सिर्जना हुने, निर्णय प्रक्रिया कमजोर बन्ने तथा उद्योगमैत्री वातावरण प्रभावित हुने महासंघले ठहर गरेको अध्यक्ष आलमले बताए ।
महासंघले विधि र प्रक्रियाविपरीत गरिएको उक्त निर्णय तत्काल खारेज गरी सञ्चालक समितिमा उद्योगीहरूको प्रतिनिधित्व सुनिश्चित गर्न सरकारसँग माग गरेको छ । ‘यदि हाम्रो जायज मागलाई बेवास्ता गरियो भने महासंघ थप कडा आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य हुनेछ,' अध्यक्ष आलमले चेतावनी दिए।