
चिनियाँ ह्याकरहरूले अमेरिकी वित्त विभाग (ट्रेजरी)को कम्प्युटर सुरक्षा प्रणाली भंग गरेर महत्त्वपूर्ण कागजात चोरेको अमेरिकाले आरोप लगाएको छ ।
अमेरिकाको ट्रेजरी डिपार्टमेन्टले यसलाई गम्भीर घटना भन्दै सोमबार सांसदहरूलाई पत्र पठाएको छ ।
ह्याकरहरूले साइबर सुरक्षा सेवा प्रदायक बियोन्डट्रस्टको प्रणालीलाई ह्याक गरेर महत्त्वपूर्ण कागजात चोर्न सफल भएको सांसदहरूलाई पठाइएको पत्रमा उल्लेख छ ।
चिनियाँ ह्याकरहरूले बियोन्डट्रस्टको क्लाउड सेवा प्रयोग गरी ट्रेजरीसम्म पुगेका थिए । ट्रेजरी डिपार्टमेन्टका कर्मचारीले मात्र खोल्न सक्ने यो प्रणालीमा पुगेर ह्याकरहरूले सुरक्षा प्रणाली निष्क्रिय गरे ।
त्यसपछि विभागका प्रयोगकर्ताको वर्कस्टेशनमा पुगेर ह्याकरले गोप्य कागजात चोरेको विभागले आरोप लगाएको छ । पत्रमा भनिएको छ, ‘उपलब्ध सूचकका आधारमा यो घटना चीनद्वारा प्रायोजित ह्याकरले गराएको पुष्टि भएको छ ।’
बियोन्डट्रस्टले डिसेम्बर ८ मा वित्त विभागलाई यो आक्रमणबारे जानकारी गराएको थियो । त्यसपछि अमेरिकी साइबर सुरक्षा तथा पूर्वाधार सुरक्षा एजेन्सी र एफबीआई मिलेर यो घटनाको प्रभाव मूल्यांकन गरिरहेका छन् ।
चीनले भने अमेरिकाले लगाएको यस्तो आरोपको खण्डन गरेको छ । चीनको विदेश मन्त्रालयका प्रवक्ताले नियमित पत्रकार सम्मेलनका क्रममा भनेका छन्, ‘चीनले ह्याकिङको सबै प्रकारको सधैं विरोध गरिरहेको छ ।’
त्यस्तै, वाशिङ्टनस्थित चिनियाँ दूतावासका प्रवक्ताले पनि चीनमाथि लागेको आरोपलाई अस्वीकार गर्दै भने, ‘चीनमाथि बिनाकुनै प्रमाण अमेरिकाले लगाएको आरोप बेइजिङले दृढतापूर्वक खारेज गर्दछ ।’
अमेरिकाको जर्जियामा रहेको बियोन्डट्रस्टका प्रवक्ताको भनाइ उदृत गर्दै रोयटर्सले लेखेको छ, ‘कम्पनीले डिसेम्बरको शुरूमा भएको सुरक्षाजन्य घटनालाई सम्बोधन गरिसकेको छ । प्रभावित ग्राहकहरूलाई सूचना दिइसकिएको छ ।’
कम्पनीले अनुसन्धानका लागि एजेन्सीहरूसँग सहकार्य गरिरहेको दाबीसमेत गरेको छ । साइबर सुरक्षा कम्पनी सेन्टिनलवानका अनुसन्धानकर्ता टम हेगेलले यस्तो घटना चीन प्रायोजित ह्याकर समूहले गर्ने कार्यपद्धति अनुसार मेल खाने दाबी गरेका छन् ।
उनको भनाइ उदृत गर्दै रोयटर्सले लेखेको छ, ‘यो घटना चिनियाँ सरकारसँग सम्बद्ध समूहहरूले प्रयोग गर्ने तरिकासँग मेल खान्छ । उनीहरूले तेस्रो पक्षका सेवाहरूलाई दुरूपयोग गर्ने गर्छन् ।’
तर, हालसम्म एफबीआई र अमेरिकी साइबर सुरक्षा एजेन्सीले थप जानकारी उपलब्ध गराएका छैनन् ।