
ग्लोबल आईएमई बैंक लिमिटेडले आफ्नो १८औं वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ‘मेरी उनीलाई स्वस्थ नारी पहल’ अभियान सञ्चालन गरेको छ ।
यही पुस १८ गते बिहीबारदेखि ग्लोबल आइएमई बैंक १९औं वर्षमा प्रवेश गर्दैछ । उक्त अभियानअन्तर्गत बैंकले नेपाल परिवार नियोजन संघसँगको सहकार्यमा सातवटै प्रदेशहरूमा एकदिने निःशुल्क महिला स्वास्थ्य शिविर सञ्चालन गर्नेछ ।
शिविरमा स्त्रीरोग विज्ञहरूले स्त्रीरोगसम्बन्धी विभिन्न सेवाहरू– महिलाको स्वास्थ्य परिक्षण, पाठेघरको क्यान्सर (भीआईए) परीक्षण, गर्भाशय प्रोल्याप्स केसको उपचार, औषधी वितरण लगायतका सेवा निःशुल्क रूपमा उपलब्ध हुनेछन् ।
प्रत्येक शिविरबाट पाठेघरको क्यान्सरको प्रारम्भिक लक्षण पत्ता लागेका र पाठेघरको क्यान्सरको गम्भीर बिरामी पहिचान गर्ने र स्वस्थ नारी पहल कार्यक्रमको दोस्रो चरणमा शल्यक्रिया गरी उपचार गरिने बैंकले जनाएको छ ।
बैंकले सबै प्रदेशहरूमा यही पुस महिनामा उक्त शिविर सञ्चालन गर्नेछ । जस अन्तर्गत बैंकले बागमती प्रदेशमा हेटौंडा उपमहानगरपालिका-११ मकवानपुर स्थित सरस्वती टोल हलमा पुस १८ गते बिहीबार, मधेश प्रदेशमा बाराको कलौया उपमहानगरपालिका-१, बारा स्थित राजदेवी मन्दिर हल, गण्डकी प्रदेशमा मोदी गाँउपालिका-१ पर्वत स्थित भुक स्वास्थ्य चौकीमा पुस २० गते शनिबार शिविर सञ्चालन हुनेछ।
कोशी प्रदेशमा विराटनगर महानगरपालिका-१२, मोरङ स्थित आधारभूत स्वास्थ्य चौकी, बर्खी टोलमा पुस २१ गते सोमबार, लुम्बिनी प्रदेशमा सैनामैना नगरपालिका-११, रुपन्देही स्थित परिवार नियोजन संघको क्लिनिक, सालझन्डीमा पुस २३ गते बुधबार, कर्णाली प्रदेशमा वीरेन्द्रनगर नगरपालिका-२ सुर्खेत स्थित दौलाटपुर स्वास्थ्य चौकीमा पुस २६ गते शनिबार र सुदूरपश्चिम प्रदेशमा गोदावरी नगरपालिका-८ कैलाली स्थित स्याउले आधारभूत स्वास्थ्य चौकीमा पुस २८ गते सोमबार नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरिनेछ ।
स्वास्थ्य शिविर ग्रामीण तथा अर्ध शहरी क्षेत्रका स्वास्थ्य सेवाको पहुँच नभएका महिलाका निम्ति प्रभावकारी हुने र उनीहरूमा सकारात्मक प्रभाव पर्ने विश्वास बैंकले लिएको छ । ग्लोबल आइएमई बैंकले स्थापनाकालदेखि नै संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न समयमा यस्ता स्वास्थ्य शिविरको आयोजना गरी ग्रामीण भेगका महिला तथा आमनागरिकलाई प्रत्यक्ष रूपमा लाभान्वित गर्दै आएको छ ।
ग्लोबल आईएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अर्वाड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रूपमा सम्मानित भइसकेो छ।
साथै, ग्लोबल आईएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाहरूबाट फरकफरक विधामा सम्मानित भएको छ । ग्लोबल आईएमई बैंकले मुलुकका ७७ वटै जिल्लामा शाखा सञ्जाल विस्तार गरेको छ । बैंकको ३५४ शाखा कार्यालय, ३८४ एटीएम, २३७ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढी सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।
बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा पनि दिँदै आएको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ ।