२३ असार २०८३, मंगलबार

लक्ष्मी सन्‌राइज बैंकको अगुवाइमा १०२ मेगावाटको जलविद्युत् आयोजनामा लगानी सम्झौता

पुस २१, २०८१
काठमाडौं
लक्ष्मी सन्‌राइज बैंकको अगुवाइमा १०२ मेगावाटको जलविद्युत् आयोजनामा लगानी सम्झौता

लक्ष्मी सन्‌राइज बैंक लिमिटेडको अगुवाइमा सहवित्तीयकरणमा सहभागी बैंकहरू र अप्पर मर्स्याङ्दी हाइड्रोपावर कम्पनी प्रालिबीच लगानी सम्झौता भएको छ ।

कम्पनीले लमजुङस्थित मर्स्याङ्दी नदीमा निर्माण गर्ने १०२ मेगावाट क्षमताको अप्पर मर्स्याङ्दी- १ जलविद्युत् आयोजनामा लगानीका लागि सम्झौता भएको हो । 

सो आयोजनाको कुल लागत २१.४० अर्ब रहेको छ । यो सहकार्यले नेपालको नवीकरणीय ऊर्जा परिदृश्यमा महत्त्वपूर्ण भूमिका खेल्ने बैंकको विश्वास छ ।

अपर मर्स्याङ्दी हाइड्रोपावर- १ ले पुस १०, २०७५ मा विद्युत् विकास विभागबाट आयोजना निर्माणको लागि विद्युत् उत्पादनको अनुमति पत्र लिएको थियो ।

साथै कम्पनीले यही पुस ९ गते नेपाल विद्युत् प्राधिकरणसँग विद्युत खरिद बिक्री सम्झौता समेत गरिसकेको छ । कम्पनीको प्रवर्द्धकको रूपमा केसी ग्रुप र क्याल ग्रुप रहेका छन् ।

सो परियोजना निर्माणका लागि लक्ष्मी सन्‌राइज बैंकको नेतृत्वमा सहवित्तीयकरणमा सहभागी बैंकहरूले परियोजना लागतको ७४.७७ प्रतिशत लगानी गर्ने प्रतिवद्धता जनाएका छन् । बाँकी २५.२३ प्रतिशत रकम सो कम्पनीका प्रवर्द्धक र संस्थापकहरूको लगानी रहने छ ।

लक्ष्मी सन्‌राइज बैंकको प्रोजेक्ट फाइनान्स (टर्म लोन) प्रतिवद्धता ७ अर्ब रहेको छ भने सहवित्तीयकरणमा सहभागी अन्य बैंकहरू मध्ये सहअगुवा ग्लोबल आईएमइ बैंकको ६ अर्ब तथा प्रभु बैंकको ३ अर्बसमेत गरी जम्मा लगानी १६ अर्ब रहेको छ । 

सो आयोजना जुन २०२९ भित्र निर्माण सम्पन्न भई विद्युत् उत्पादन भएपश्चात वार्षिक करिब ५८३.०३ गिगावाट आवर इनर्जी विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जडान हुनेछ ।

salt training

कमेन्ट गर्नुहोस्