०४ साउन २०८३, सोमबार
पूर्वप्रहरी प्रमुखहरूको राजनीति मोह

राजनीतिमा सर्वेन्द्र प्रवृत्ति– 'पावर'को भोकले पार्टी प्रवेश, स्वार्थ पूरा नहुँदा पलायन

पुस २२, २०८१
काठमाडौं
राजनीतिमा सर्वेन्द्र प्रवृत्ति– 'पावर'को भोकले पार्टी प्रवेश, स्वार्थ पूरा नहुँदा पलायन

सर्वेन्द्र खनालले नेपाल कम्युनिस्ट पार्टी (एमाले) प्रवेश गरेको २७ महिनापछि पार्टी परित्यागको घोषणा गरेका छन् ।

सामाजिक सञ्जाल फेसबूकमार्फत खनालले आफू कुनै पनि राजनीतिक पार्टीसँग आबद्ध नरहेको जानकारी गराएका हुन् ।

नेपाल प्रहरीका पूर्व महानिरीक्षक (आईजीपी) समेत रहेका खनाल २०७९ असोजमा एमाले प्रवेश गरेका थिए । एमालेले उनलाई दुईपटक प्रतिनिधि सभा सदस्यको टिकट पनि दियो ।

२०७९ मंसिरमा काठमाडौं– ६  बाट उम्मेदवार बनेका खनाल राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शिशिर खनालसँग ५ हजार २९३ मतको अन्तरले हारेका थिए । 

प्रहरी संगठनमा ३२ महिना नेतृत्व गरेका खनाल अवकाशपछि राजनीतिमा प्रवेश गर्छन् भन्ने आकलन धेरैको थियो । उनी एमाले नेता महेश बस्नेतसँग निकट थिए ।

उनै बस्नेतको निगाहमा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गरेको ३ महिनामै खनाललाई टिकट दिएका थिए ।

खनाललाई प्रहरीमा ‘सेलिब्रिटी’ भएर मात्र नहुने रहेछ, राजनीतिक जग पनि बलियो हुनुपर्ने रहेछ, भन्ने गतिलो पाठ २०७९ मंसिरको चुनावले सिकायो । 

तर, पनि उनी पार्टीका नेता रिझाउन माहिर थिए । तनहुँ –१ का तत्कालीन सांसद एवं नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि त्यहाँ उपचुनाव हुँदा खनालले फेरि टिकट हत्याउन सफल भए ।

खनालको गृहजिल्ला पनि तनहुँ नै थियो । प्रहरी नेतृत्वमा रहेर गृहजिल्ला जान खासै नसकेका खनालले चुनावमा मत माग्न लामो समय उतै बिताएका थिए । 

‘म तपाईंहरूकै छोरा हुँ,’ भन्दै मत मागेका खनाल पराजित हुनुपर्‍यो । उनले अघिल्लोपटक एमाले उम्मेदवारले ल्याएको मत जोगाउन समेत सकेनन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णिम वाग्लेले ३४ हजार ४८० मत ल्याएर चुनाव जित्दा खनालले मात्रै ८ हजार ५५५ मत ल्याएका थिए । 

पार्टी प्रवेश कार्यक्रममा सर्वेन्द्र

पार्टीमा अरू वरिष्ठ र राजनीतिमा चप्पल फटाएका नेता हुँदाहुँदै एमाले अध्यक्ष ओलीले खनाललाई टिकट दिएका थिए । त्यतिबेला ओलीले आन्तरिकरूपमा धेरै नेताको खप्की खानुपरेको थियो । 

पार्टीभित्र अन्तरविरोध हुँदाहुँदै दुई/दुईपटक टिकट पाएर जित्न नसक्दा ओली र खनालबीच सम्बन्ध चिसियो । राजनीतिमा लागेपछि सांसद हुँदै मन्त्री र प्रधानमन्त्रीसम्म बन्ने चाहना हुनु स्वाभाविक पनि हो । तर, खनालका लागि अब त्यो ढोका लगभग बन्दजस्तै भएको छ । 

प्रहरी संगठनको नेतृत्वपछि पार्टी राजनीतिमा लागेर असफल बनेका अर्का पात्र हुन्, रवीन्द्रप्रताप शाह । २०७० मा माओवादीले शाहलाई समानुपातिक सांसद बनाएको थियो । माओवादी सांसद भएपनि उनी देखिने गरी माओवादीका कार्यक्रममा गएनन् । 

प्रहरी संगठनमा राम्रो छवि बनाएका शाह एकाएक माओवादीकै सांसद बन्लान् भन्ने अनुमान संगठनका कुनै पनि अधिकारीले गरेका थिएनन् ।

राजनीति त्यति धेरै नबुझेका शाहले प्रत्यक्षमा चुनाव लड्ने अवसर पाएनन् । बाहिरबाट धेरै गुनासो आएपछि शाह आफैंले पनि टिकट नमागेको बुझिन्छ । 

खनाल र शाहअघि पूर्व आईजीपीहरू क्रमशः डीबी लामा (हाल दिवंगत), प्रदीपशमशेर राणा, ध्रुवबहादुर प्रधान पनि राजनीतिमा आएका थिए ।

लामालाई संगठनमै रहँदा पनि कांग्रेसनिकट मानिन्थ्यो । उनी २०५६ को निर्वाचनमा नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

२०५८ मा शेरबहादुर देउवाको प्रधानमन्त्रीत्वकालमा लामा सामान्य प्रशासन सहायकमन्त्री समेत बनेका थिए ।

प्रहरी संगठनमा हुँदा उनलाई सुन तस्करीको आरोप समेत लाग्यो । भ्रष्टाचार मुद्दा पनि खेपे । तर, सफाइ पाए । उनको मृत्यु भइसकेको छ ।

राजनीतिमा प्रवेश गरेर सफल नभएका अर्का पूर्व आईजीपी हुन्, प्रदीप शमशेर जबरा ।

२०५७ असोजदेखि २०५९ पुससम्म प्रहरीको नेतृत्व गरेका जबरा एकैपटक राजनीतिमा २०७० मा झुल्किए । उनले शरतसिंह भण्डारीले नेतृत्व गरेको तत्कालीन राष्ट्रिय मधेश समाजवादी पार्टीबाट रौतहटमा संविधानसभा सदस्यको टिकट पाएका थिए । तर, उनी पराजित भए । पराजित भएपछि उनी राजनीतिक रूपमा सक्रिय भएनन् । अहिले उनी कुनै पनि राजनीतिक दलसँग आबद्ध छैनन् । 

राजनीतिमा प्रवेश गरेका पूर्व प्रहरी नेतृत्वमध्ये अहिले पनि जमिरहेका पात्र हुन्, ध्रुवबहादुर प्रधान । उनी शक्तिकेन्द्रको चलखेलबाटै अच्युतकृष्ण खरेललाई हटाएर आईजीपी बनेका थिए ।

तत्कालीन गृहमन्त्री वामदेव गौतमले खरेललाई हटाएर प्रधानलाई आईजीपी बनाएका थिए । खरेलले पछि सर्वोच्चबाट मुद्दा जिते र पुनर्बहाली भए । खरेलको पुनर्बहालीपछि प्रधान राजनीतिमा उदाए । उनी हाल राष्ट्रिय प्रजातन्त्र पार्टीको उपाध्यक्ष छन् ।

प्रहरीका पूर्व नेतृत्व राजनीतिक दलमा प्रवेश गर्नुलाई तीनवटा अर्थबाट बुझ्नुपर्ने बताउँछन्, पूर्व डीआईजी हेमन्त मल्ल ठकुरी ।

पहिलो, शक्तिमै रहने उन्माद, दोस्रो, भ्रष्टाचारजन्य मुद्दाबाट बच्न र आफू सुरक्षित हुन तथा तेस्रो, सामाजिक सेवामा आफूलाई समर्पित गर्न राजनीतिमा लाग्ने गरेको उनको बुझाइ छ ।

माथिका तीन उद्देश्य प्रस्ट्याउँदै ठकुरीले थपे, ‘यी तीनवटा उद्देश्य हुन सक्छन्, तर केही मात्रै सामाजिक सेवाभावबाट राजनीति प्रवेश गरेको देखिन्छ । अधिकांश आफ्नो स्वार्थसिद्ध गर्न राजनीतिमा प्रवेश गर्ने र उद्देश्य पूरा भएपछि अलग हुने प्रवृत्ति छ ।’

उनले प्रहरी सेवाबाट अवकाश पाएपछि के गर्ने/के नगर्ने भन्ने स्पष्ट कानून नभएकाले राजनीतिमा प्रवेशलाई गैरकानूनी भन्न भने नमिल्ने तर्क गरे । ‘पार्टी प्रवेश नै गर्न नहुने भन्ने कानूनी दस्तावेज छैन, सरकारले चाह्यो भने कानून बनाउन सक्छ,’ उनले थपे । 

त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. राजेश गौतम पूर्व प्रशासक वा पूर्व सुरक्षा प्रमुखलाई राजनीतिमा प्रवेश गर्न बन्देज लगाउने कानून आवश्यक रहेको बताउँछन् ।

‘प्रशासक भनौं वा सुरक्षा अधिकारी, उनीहरूले राज्यको उपल्लो तहमा बसेर काम गरिसकेका हुन्छन्,’ गौतमले भने, ‘उनीहरूमा अवकाश पाएपछि पुनः शक्तिमै रहने चाहना देखिन्छ, यो गलत हो ।’ 

प्रशासक र सुरक्षा निकायका प्रमुखले आफू पदमा बस्दा कुस्त पैसा कमाउने र त्यही पैसाको बलमा राजनीतिमा प्रवेश गर्ने प्रवृत्ति मौलाएको गौतमले बताए ।

‘पदमा बस्दा मनमौजी पैसा कमायो, त्यही पैसाको बलमा राजनीतिमा प्रवेश गर्‍यो, पैसाकै बलमा पार्टीमा बलियो पकड बनायो, यस्तै प्रवृत्ति देखिन्छ,’ गौतमले भने, ‘केही उद्देश्य पूरा भएपछि राजनीतिबाट बाहिरिन्छन्, त केहीको उद्देश्य पूरा हुँदैन र सम्बन्धित दलले वास्ता नगरेपछि आफैं अलग हुन्छन् ।’

salt training

कमेन्ट गर्नुहोस्