२९ असार २०८३, सोमबार
पूर्वउपराष्ट्रपतिको विवादित राजनीतिक यात्रा

नन्दबहादुरलाई उपाध्यक्ष सरहको हैसियतमा भित्र्याएपछि माओवादीमा खैलाबैला !

पुस २२, २०८१
काठमाडौं
नन्दबहादुरलाई उपाध्यक्ष सरहको हैसियतमा भित्र्याएपछि माओवादीमा खैलाबैला !

पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनलाई पार्टी उपाध्यक्ष सरहको हैसियतमा भित्र्याइएपछि माओवादीमा थप उकुसमुकुस देखिएको छ । भएकै नेताहरूले कार्यविभाजनमा असन्तुष्टि जनाइरहेका बेला पुनलाई माओवादीमा ल्याइएपछि पार्टीभित्रको उकुसमुकुस केन्द्रीय कमिटी बैठकमै प्रकट भएको छ ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबारको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष र वरिष्ठ उपाध्यक्षपछिको वरियतामा पुनलाई पार्टीसमक्ष प्रस्तुत गरेका थिए । पुनलाई मञ्चमा उक्त आसन दिइएपछि बैठकमा सहभागी केन्द्रीय सदस्यहरूबीच खासखुस चलेको थियो । 

धुम्बाराहीमा आइतबार शुरू भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष प्रचण्डले ‘पार्टी रूपान्तरण र पुनर्निर्माणको संकल्प : आजको आवश्यकता’ भन्ने प्रस्ताव पेश गरे । पहिलो दिन प्रचण्डको प्रस्तावले भन्दा पूर्वउपराष्ट्रपति एवं तत्कालीन माओवादी कमान्डर पुनले पहिलो रोजाइमा मञ्चमा स्थान पाएपछि पार्टीभित्र चर्चा शुरू भएको छ । 

पहिलो दिनको बैठकमा केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम शुरू भएको थिएन । तर, सोमबारको बैठकमा सदस्यहरूले खुलेरै पुनलाई माओवादी राजनीतिमा ल्याउने कुराले समाजमा नै गलत सन्देश गएको टिप्पणी गरेका छन् । 

केन्द्रीय सदस्य सुदन किराती र ओम शर्माले खुलेरै पुनलाई माओवादीमा सक्रिय गराउन खोजेकोप्रति आपत्ति जनाए । किरातीले ‘सम्माननीय’लाई आलोचनाभन्दा माथि राख्नुपर्ने टिप्पणी गरे । 

‘सम्माननीय उपराष्ट्रपतिज्यू राजनीतिमा आउने हल्लाले समाजमा सकारात्मक सन्देश गएको छैन । पार्टीले सम्माननीयलाई अझ सम्माननीय बनाउनु सक्नुपर्छ । आलोचना भन्दा माथि राखौं । बरु पाठशाला बनाऔं’ किरातीले बैठकमा भनेको उदृत गर्दै एक केन्द्रीय सदस्यले भने, ‘हामीबाटै नयाँ परम्परा र संस्कृतिको आधार स्तम्भ खडा गरौं । उदाहरणीय बनाऔं । १२ हातको सरस्वतीलाई ३ हातको मन्दिरमा नराखौं ।’

उनले मात्रै होइन, केन्द्रीय सदस्य ओम शर्माले पनि पुनलाई राजनीतिमा ल्याउन खोजेकोप्रति आपत्ति जनाए । ‘पूर्वउपराष्ट्रपति/राष्ट्रपति एउटा पदमा गएपछि फेरि राजनीतिमा ल्याउनु गलत हो’, शर्माले भने, ‘पार्टीले लिएको कदमको जनतामा विरोध भएको छ ।’

null

बैठकमा माओवादी केन्द्रीय सदस्य इन्द्र आङ्बोले पनि पूर्व सम्माननीयहरू राजनीतिमा आउने कुरा राम्रो नरहेको टिप्पणी गरे । उनले पूर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई अमेरिकाका पूर्वराष्ट्रपति जिम्मी कार्टर जस्तो बन्न सुझाव दिए ।

‘केन्द्रको पदाधिकारी, सिनियर नेताहरू वैचारिक र खोज अनुसन्धानमा लागौं । पार्टीमा संगठनको जिम्मा नयाँ पुस्तालाई दिऔं,’ उनले भने, ‘पूर्वराष्ट्रपति वा उपराष्ट्रपतिलाई राजनीतिमा होइन, अमेरिकाका पूर्वराष्ट्रपति जिम्मी कार्टरले जस्तो सामाजिक क्षेत्रमा काम गरौं ।’ आङ्बो कोशी प्रदेश माओवादी संसदीय दलका नेतासमेत हुन् । 

केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले पनि सामाजिक सञ्जालमा लेख्दै प्रमुख पदमा पुगेकालाई राजनीतिमा ल्याउने विषय पश्चगामी कदम हुने बताएका छन् ।

‘जो कोही पनि निश्चित जिम्मेवारी, निश्चित उमेर र निश्चित अवधि पूरा गरेपछि सक्रिय पार्टीको संगठनात्मक जीवनबाट विदा अनिवार्य हुनुपर्छ । त्यसमा पनि पार्टीको सदस्यता त्याग गरेर राज्यको माथिल्लो जिम्मामा पुगेका जस्तै; राष्ट्रपति, उपराष्ट्रपति, सभामुख आदिहरू पुनः सक्रिय संगठनात्मक जीवनमा फर्कने प्रक्रिया पश्चगामी हुन्छ,’ न्यौपानेले सामाजिक सञ्जालमा लेखेका छन्, ‘बरु शुरूमै सक्रिय संगठनात्मक जीवनमा नफर्कने व्यक्तिहरूलाई त्यस्ता जिम्मामा पठाउनु पर्छ । नत्र त संगठनात्मक जीवनमा प्रवेशको ढोका खुल्ला हुने तर, निस्कने ढोका सबै बन्द गर्दा नयाँहरूको प्रवेश हुँदैन र पार्टीको संगठनात्मक जीवन संग्राहालयमा बदलिन्छ ।’

माओवादी युद्धमा कमान्डर रहेका पुन प्रचण्डका विश्वासिलामध्येका नेता हुन् । यसै निकटताले गर्दा प्रचण्डकै जोडबलमा पुनलाई २०७२ सालपछि दुई कार्यकाल उपराष्ट्रपति बनाइएको थियो । 

लामो समय देशकै दोस्रो वरियताको पदमा बसेका पुनलाई एक दशकपछि पार्टी राजनीतिमा ल्याउन खोजेर माओवादीले सकारात्मक सन्देश नदिएको अर्का एक केन्द्रीय सदस्य बताउँछन् । 

‘जब आइतबार पूर्वउपराष्ट्रपति पुन माओवादीको केन्द्रीय कमिटी बैठकमा पदाधिकारीको पहिलो लहरमा उपाध्यक्षको हैसियतमा बस्नुभयो त्यही बेलादेखि माओवादीभित्र उकुसमुकुस हुँदै खैलाबैलाको क्रम शुरू हुने देखिएको छ,’ माओवादीका एक केन्द्रीय सदस्यले लोकान्तरसँग भने, ‘कति कुरा पार्टी अनुशासनका पनि हुन्छन् । यसैले नेताहरूले खुलेर विरोध गर्ने स्थिति बनेको छैन । केहीले बैठकमा विरोध गर्नुभयो । तर, पार्टीले गलत गर्‍यो भन्ने ठूलो पार्टी पंक्ति छ ।’

अहिले केन्द्रीय तहका नेताले मात्रै असन्तुष्टि जनाए पनि शीर्ष वरियतामा रहेका नेताहरू नै असन्तुष्ट रहेको केन्द्रीय सदस्यहरू बताउँछन् । 

केन्द्रीय सदस्य देवेन्द्र पराजुलीले सम्माननीय भइसकेको व्यक्ति पार्टी बैठकको पहिलो लहरमा बसेपछि पार्टीमा केही नेताले कुरा उठाएको जानकारी दिए । 

‘उहाँ सम्माननीय भइसक्नुभएको छ । पार्टीमा नआइकन पनि योगदान गर्न सक्नुहुन्थ्यो भन्ने केही साथीहरूको कुरा छ’, पराजुलीले लोकान्तरसँग भने, ‘उहाँले पार्टीबाट अलग भएको घोषणा गरिसक्नुभएको थियो । उहाँलाई राज्यले दिने सेवा सुविधाका कुरा पनि हुन्छन् । यसैले केही असहजता भयो भन्ने साथीहरूको कुरा हो ।’

दुईतिर सन्देश दिने प्रचण्ड रणनीति
पछिल्लो केही समययता कार्यविभाजन र पार्टीको सञ्चालन शैलीमा प्रचण्डको आलोचनामा उपमहासचिवद्वय जनार्दन शर्मा र वर्षमान पुन देखिँदै आएका छन् । यो मात्रै होइन, प्रचण्डले देव गुरुङलाई महासचिव बनाएदेखि यी दुवै नेताले आपत्ति जनाउँदै आएका छन् । 

शर्माले केही महिना अगाडि बसेको बैठकमा १४ पृष्ठको फरक मत नै दर्ज गरेका थिए । विशेष महाधिवेशन गर्नका लागि वर्तमान कार्यसमिति भंग गर्ने, अहिलेको कमिटीलाई महाधिवेशन आयोजक समिति बनाउनुपर्ने र नयाँ नेतृत्वको प्रत्यक्ष निर्वाचन गर्नुपर्ने प्रस्ताव गरेका थिए । तर, शर्माको फरक प्रस्तावको विषयमा माओवादीले कुनै निर्णय लिएको छैन । तर, उनीहरू दुवैलाई साइजमा राख्ने हिसाबले प्रचण्डले पुनलाई माओवादीमा भित्र्याएको बताइन्छ ।

अर्कोतिर, पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी एमाले फर्किने विषय पनि पेचिलो बन्दै गएको छ । यो स्थितिमा पुनलाई माओवादीमा सक्रिय गराएर प्रचण्डले भर्‍याङ हालेको रूपमा समेत चर्चा गरिन थालिएको छ । यो चर्चा एमालेमा मात्र होइन माओवादीभित्र पनि गरिन थालिएको छ । 

‘वर्षौंदेखि प्रचण्डले पार्टीमा नेतृत्वमा खेल्दै नेताहरूबीच एक खालको सन्तुलन मिलाउने र नेतृत्वमा टिकिरहने शैली देखाउनुभयो । पदाधिकारीमा फरक मत राखेका शर्मा र पुनको असन्तुष्टि अझै साम्य भएको थिएन । यही बेला माओवादीमा पूर्व उपराष्ट्रपतिलाई ल्याएर अर्को कार्ड खेल्न खोजेको सन्देश दिनुभएको छ,’ माओवादीका ती नेता भन्छन्, ‘अर्कोतिर, पूर्व राष्ट्रपति भण्डारी एमालेमा फर्किने हल्लाले एमालेवृत्त तरंगित  भइरहेका बेला हाम्रो अध्यक्षले थप सहज बनाइदिएको चर्चासमेत माओवादीभित्रै छ ।’

null

एमालेमा अध्यक्ष केपी ओलीले नै भण्डारीलाई पार्टीमा ल्याउन चाहेका छैनन् । तर, एमालेभित्रै माधव नेपालदेखि प्रचण्डसम्मलाई ल्याएर ठूलो कम्युनिस्ट पार्टी बनाउन सक्ने नेताको रूपमा भण्डारीलाई चर्चा गर्न थालिएको छ । उनलाई यसका लागि सहजीकरण गर्न सक्ने नेताको रूपमा चर्चा गरिएको छ । 

एमालेमा ओलीलाई कर्नरमा पार्न अन्य सबै दलका नेता एक ठाउँमा उभिन सक्ने चर्चाले भण्डारीको विषय पनि पेचिलो बनेको बताइन्छ । केही दिन अगाडि मात्रै एमाले अध्यक्ष ओलीले निवासमै पुगेर भण्डारीसँग साढे दुई घण्टा बढी भेटवार्ता गरेका थिए ।

माओवादीमा बोल्ने केन्द्रीय सदस्यहरूले सरकारमा जाँदा गरिएको सुशासनका कामलाई जनताबीच लिएर संगठन सुदृढीकरणमा जानुपर्ने बताएका छन् । माओवादीमा सोमबार नाम टिपाएकामध्ये ८० जनाले धारणा राखेका छन् । अझै एक सय जनाले नाम टिपाएको केन्द्रीय सदस्य अजय शंकर नायकले जानकारी दिए । 

‘अहिले आएको अध्यक्षको प्रस्ताव राम्रो छ । धरातल टेकेको छ । कार्यान्वयनका क्रममा कति इमान्दार बन्न सक्छौं, यसैले पार्टीको भविष्य निर्धारण गर्छ भन्ने सदस्यहरूको भनाइ छ,’ नायकले भने, ‘अझै एक सय जना बढी सदस्यले बोल्न नाम टिपाउनु भएकोले बैठक मंगलबार पनि चल्नेछ ।’

माओवादीले यस अघि विशेष महाधिवेशन गर्ने बताउँदै आएको थियो । तर, अध्यक्ष प्रचण्डको यसपटकको प्रस्तावमा नियमित नवौं महाधिवेशन गर्ने विषय उल्लेख छ । उता, उपमहासचिव जनार्दन शर्मासहितका नेताहरू विशेष महाधिवेशन गर्नुपर्ने, पुराना नेता बिदाइ हुनुपर्ने, नेतृत्वको लागि प्रत्यक्ष निर्वाचित हुने व्यवस्था कायम गर्नुपर्ने पक्षमा रहेका छन् । 

कमेन्ट गर्नुहोस्