०९ साउन २०८३, शनिबार
कष्ट काटेर पाएको नयाँ जीवन

'टुहुरी' सीता- जसले पढाइन् संघर्षको पाठ

पुस २७, २०८१
काठमाडौं
'टुहुरी' सीता- जसले पढाइन् संघर्षको पाठ

‘म ९ वर्षकी थिएँ, आमा बित्नुभयो। कलिलो उमेरमा मृत्युबारे विश्लेषण गर्न सक्ने मेरो चेतना निर्माण भइसकेको थिएन। मलाई लागेको थियो, आमा कतै घुम्न जानुभएको छ। रात परेपछि पक्कै घर फर्केर आउनुहुनेछ। तर आज ४० दशक बितिसक्यो। आमा फर्किएर आउनुभएको छैन,’  भावुक हुँदै सीता सापकोटाले भनिन् ।

त्यो बेला सीताका बुवा भारतीय सैनिकमा कार्यरत थिए । बुवासँग पल्टनमा गएको बेला बम्बैमा आफू बसेकै कोठामा ग्यास सिलिन्डर पड्किएर उनकी आमाको निधन भयो। उनले थपिन्, ‘आमाले मलाई मात्र टुहुरी बनाएर जानु भएन, आमाका पाँच सन्तानमध्ये अरू दुई बहिनी र दाजुभाइलाई पनि टुहुरा–टुहुरी बनाएर जानुभयो। अनि हामी माउ नभएको कुखुराको  चल्लाजस्तै भयौ। भोक लागेको बेला खान पाइएन। आमाको न्यायो काख हराएपछि हामीले कैयौं चिसा दिनरात कठ्याग्रिएर हुर्कियौं।’

उनको कुरा सुनेपछि मेरा(पङ्तिकार) आँखा रसाए । केही वर्ष अगाडि लुसी मोड मोंटगोमेरीद्वारा लिखित प्रसिद्ध उपन्यास ‘Anne of Green Gables' (एनी अफ ग्रीन गेबल्स) पढेको थिएँ। त्यसमा एनी शर्ली नाम गरेकी ११ वर्षकी पात्र एक अनाथ बालिकाको रूपमा देखा पर्छिन्।  जो अत्यन्त चतुर, कल्पनाशील र हँसिलो छिन्। तर, पनि तिनले जीवनमा घेरै दुख, कष्ट र संघर्ष गर्नुपर्छ। आफ्नै नजिकका साथीहरूको उपहास सहनु पर्छ। मलाई सीता सापकोटाको बाल्यकालको जीवनी ठ्याक्कै एनी शर्लीकोजस्तै लाग्यो। 

संसारका  ठूला ठूला दार्शनिक, लेखक,  साहित्यकार तथा इतिहासकारहरूले आफ्नो आमाबारे थुप्रै  कथा, कविता निबन्ध लेखेका छन्। सीताले के लेखेकी छिन् त्यो त थाहा भएन। तर, जब कृष्णपक्षको औँसीमा आमाको मुख हेर्ने दिन आउँछ, तब भावुक हुँदै सामाजिक संजालमा  लेख्ने गर्छिन्, ‘मेरी आमा कस्ती थिइन् होला ?, मलाई धमिलो याद पनि छैन। संसारका सबै सुख–सुविधा देखें, तर मेरो आमाको अनुहार देख्न सकिनँ। देख्नेहरू भन्छन्, मेरो आमाको अनुहार मेरोजस्तै थियो रे । आज मसँग सबैथोक छ तर, दुखको कुरा मेरी आमाको एउटा फोटो छैन।’ 

अहिले उनको घरभित्र कल्पनाको आधारमा कुनै चित्रकारले कोरिदिएको आमाको एउटा काल्पनिक चित्र छ। त्यही चित्रलाई फ्रेमभित्र सजाएर राखेकी छिन्। चित्रले आमाको झझल्को त मेटिन्छ होला तर, मुटुभित्र लागेको दाग मेटिने कुरा थिएन। आमाको एउटा पनि फोटो साथमा नभएकोमा पछुतो मान्दै सीता भन्छिन्, ‘त्यो बेला अहिलेजस्तो क्यामेराको पहुँच थिएन, एक/दुई फोटो थिए होलान्, तर कता हराए। सायद आमाले हामीलाई छाडेर गएपछि फोटाहरूले पनि छाडेर गए होलान्।’

सापकोटा अतिथि भएर कार्यक्रममा जता जान्छिन्, सबैभन्दा पहिला फोटो खिच्छिन्। उनलाई फोटो खिच्न एकदमै  मन पर्छ। हरेक ठाउँमा गएको फोटो सामाजिक संजालमा पोष्ट गर्छिन् र  केही मानिसहरू आरोप लगाउँछन्, ‘यो सीताले कति धेरै फोटो खिचेको ?’ फोटोको महत्व त्यसले मात्रै बुझेको हुन्छ, जो एउटा फोटोको अभावमा जीवनभरी तड्पिएको हुन्छ। आज आफ्नो छोरीले फोटो खिचिरहेको दृश्य स्वर्गलोकबाट आमाले देखिरहेको पनि हुन सक्छ। 

आमाको काल्पनिक फोटोमा सीता सापकोटासहित उनका बैनी र भाइहरू । 
 

त्यसपछि बाले  पनि छाडेर गए...
‘आमाले भौतिक रूपमा हामीलाई छाडेर जानुभएको थियो। फेरि बाले पनि मानसिक रूपमा छाड्नुभयो। बाले मानसिक रूपमा मात्रै छाड्नु भएन, हामीलाई उर्लिएको खोलामा बग्दै आएको गाईजस्तै अलपत्र पारेर छाड्नु भयो। आमा बितेको केही समय बित्न नपाउँदै लाहुरे बाले अर्को बिहे गर्नुभयो। कतिसम्म पीडादायी क्षण थियो त्यो भने बाले बिहे गरेर कान्छी आमा ल्याई सकेको कुरा हामी बाका पाँच सन्तानमध्ये कसैलाई पनि थाहा थिएन,’ भावुक हुदै सीताले भनिन्।

‘बा बम्बैबाट बिहे गर्न नेपाल आउनुभयो। तर आमा गुमाउनु परेको पीडामा दिनरात रोएर बसिरहेको हामी टुहुराटुहुरी छोराछोरीलाई एकपटक पनि नभेटी फर्किनुभयो। हाम्रो भरोसा भन्नु नै बा हुनुहुन्थ्यो तर, बाले हामीलाई खर्च पनि दिनुभएन, नयाँ कपडा पनि किनिदिनु भएन, शिक्षा दीक्षाबारे पनि केही सोध्नु भएन, रोग बिमार के कस्तो छ कहिल्यै चिन्ता गर्नु भएन,’ सीताले थपिन्, ‘बालाई कान्छी आमाको मायाले हामी पाँच सन्तानको मायादेखि टाढा बनायो। चाडबाडमा बाको याद आउँथ्यो, अरूले यिनीहरू त टुहुराटुहुरी हुन् भनेर एकआपसमा कुराकानी गरेको सुन्दा पनि बाको याद आउथ्यो। तर बालाई हाम्रो याद कहिल्यै आएन। बा कहिल्यै फर्किएर आउनु भएन। बा त आउनु भएन नै छोराछोरीलाई सम्झिएर बाको चिठी पनि आएन।’ 

चाडबाडमा बुवाको खूब याद आउँथ्यो तर, बालाई हाम्रो याद कहिल्यै आएन र उहाँ कहिल्यै फर्किएर पनि आउनु भएन। बा त आउनु भएन नै सम्झिएर कहिल्यै बाको चिठी पनि आएन ।

सीताले अरू कसैको मुखबाट सुनेकी थिइन्, ‘तिम्रो बाले बिहे गरेर गए रे नि। अब के खाएर बस्छौ? कता जान्छौ? कसको भरमा यत्रा भाइबहिनी हुर्काएर पाल्छौ?’ तर, बागलुङको भान्छा भन्ने ठाउँमा घरको हजुरबा–हजुरआमाले आफ्नो  पाँच  नातिनातिना लाई  जग्गा–जमिन बेचेर भए पनि  पालनपोषण गरे,  हुर्काए, बढाए, पढाए। ती कठिन संघर्षका दिनहरू सम्झिँदै सीता भन्छिन् ‘कान्छी आमा भनौँ वा सौतेनी आमा, उहाँबाट हामीले जहिल्यै माया पाएनौँ। जहिल्यै हेला, अपमान र तिरस्कार सहनुपर्‍यो। हामीलाई जन्म दिनुभएका बा पनि कान्छी आमाको डरले हामीसँग बोल्नुभएन।’

सीतालाई आफ्नो बासँग गुनासो भएपनि अहिले त्यो बिर्सिएकी छिन्। भन्छिन्, ‘बुवालाई हाम्रो माया त लाग्थ्यो होला, तर कान्छी आमाका कारण त्यो माया देखाउन सक्नुभएन। हामीले त्यसरी नै चित्त बुझायौँ। तर त्यो जमानामा धन पैसाले कमी नहुने लाहुरे बाको सन्तान भएर पनि हामी घरबारविहीन झैँ भएर अनाथजस्तो जीवन बिताउन बाध्य भयौँ। आमा र त्यसपछि बुबासँगको विछोड सम्झँदै सीता थप्छिन्, ‘कहिलेकाहीँ सोच्थेँ—कम्तिमा मलाई रामायणकी सीताजस्तै वनवास जानु परेको त छैन। उनलेजस्तो दुख कष्ट भोग्नु परेको त छैन। तर आमा नभएको घर र बुबाको माया नपाएको बाल्यकाल करिब–करिब वनवासजस्तै हुने रहेछ।’

पशपतीनाथ मन्दिरमा बुवा जयभद्र सापकोटासँग सीता।

यसरी भयो टुहुरा–टुहुरीको बिहे 
सीता सापकोटाले २२ वर्षको उमेरमा बिहे गरेकी थिइन्। तर संयोग कस्तो भने उनलाई मन पराएको केटा पनि सानैमा आमा–बा गुमाएको टुहुरो नै थियो।  क्याम्पस पढाइको क्रममा काठमाडौंमा टुहुरो–टुहुरीको भेट भयो। ‘उस्तै उस्तैको कुरा मिल्छ’ भनेजस्तै, उस्तै दुःख र पीडाबाट गुज्रिएका दुई पात्रको पनि कुरा मिल्यो। कुरा मात्रै मिलेन, जीवनको भोगाइ पनि मिल्यो। जात, धर्म, परम्परा, रीतिरिवाज सबै मिल्यो। उता ज्योतिषीले पनि ‘ठीक छ, ओके’ भन्नुभयो।  काभ्रे घर भएका राजु घिमिरेलेसँग उनको मन मात्रै हैन संघर्षको कथा पनि मिल्यो। त्यसपछि अन्ततः जोडियो दुई मुटु।

तर सीताले आफ्ना लागि श्रीमान् खोज्दै कहिल्यै हिँडिनन्। जमाना पनि अहिलेजस्तो स्वतन्त्र थिएन। छोरी मान्छेको हरेक परिधि र सीमा थियो। त्यो पनि ब्राह्मण परिवारमा, बिहे गराइदिने जिम्मा प्रायः परिवारभित्रका नातापाताका अग्रजको हुने गथ्र्यो। सीताले पुराना दिन सम्झिँदै भनिन्, ‘हामीले दुख पाएको, कसैको सहारा नमिलेको देखेर बिहे गर्न सल्लाह दिनेहरू थुप्रै थिए। केटा देखाउन पनि आउँथे। यससँग बिहे गर्‍यौं भने सबैलाई राम्रो हुन्छ भन्थे। त्यससँग गर्‍यौं भने जीवनमा दुख हुँदैन’ भन्थे। तर अन्तिममा आएर चितवनका एकजना वडाध्यक्ष दिदीले हामीलाई भेट गराउनुभयो। त्यो भेटमा भेटिएका पात्र नै अहिले मेरो श्रीमान् हुनुहुन्छ।’

त्यो बेला सीतालाई लागेको थियो, श्रीमान् केवल बिहेका लागि तयार गरिने मानिस मात्र नभई एउटा अभिभावकको भूमिका निभाउने मित्र पनि हो। आज भयो पनि त्यस्तै। सीताको जोडीलाई समाजमा प्रायः सबैले ‘ढुकुरको जोडी’ भन्ने गर्छन्। कतिले ‘परेवाको जोडी’ भन्छन्। त्यस दिन सीताले एउटा श्रीमान्भन्दा पनि आमा–बाबाट पाउन नसकेको माया दिने सारथी पाएकी थिइन्। त्यो एउटा यस्तो सारथी जसले दारी फूलेर सेतै हुन लाग्दा पनि सीताको साथ त्यागेको छैन। साथ मात्रै होइन, सीताको हरेक प्रगति हेरेर खुशी हुँदै उत्सव मनाइरहेको छ। 

 श्रीमान राजु घिमिरेसँग बाग्लुङ भान्छाको पुरानो घरमा सीता ।

टुहुरा–टुहुरी मिलेर बिहे त गरे। तर त्यसअघि नै सीताको श्रीमान्को १४ वर्षको उमेरमै बाल विवाह भइसकेको रहेछ। सामान्य भाषामा भन्दा सीताको श्रीमान् अरू कसैको पनि श्रीमान् भइसकेका थिए। जसरी ९ वर्षकी नाबालिका सीतालाई आमाको मृत्युबारे केही थाहा थिएन, त्यसरी नै १४ वर्षका ती बालकलाई बिहे भनेको के हो भन्ने थाहा थिएन। सबैले कुरा काट्न थाले।

आफूले बिहे गर्दाको साल सम्झँदै सीता भन्छिन्, ‘म त श्रीमान्को जेठी पत्नीलाई आफ्नै दिदी–आमाजस्तै सम्झेर भेट्न गएँ। कुराकानी गरें। जेठीबाट कुनै सन्तान थिएन। मलाई उहाँले कुनै नराम्रो गर्नुभएन। बरू आमा बराबरको माया दिनुभयो। टुहुरीले गुमाएको आमाको माया फिर्ता पाएजस्तै भयो।’ श्रीमानको जेठी पत्नीलाई आफूले कुनै अन्याय, अपमान र भेदभाव नगरेको सीताको बुझाइ छ। उनी थप्छिन्— ‘हामीले बिहे गरेको २९ वर्ष भयो। तर हाम्रो घरायसी कारोबार सबै आमा समानकी दिदीले सम्हाल्दै आउनुभएको छ। आज म जे छु, त्यो मेरो श्रीमान्को साथ र आमा समानकी दिदीको आशीर्वादकै कारण हो।’

विसं २०५२, काठमाडौंको गुह्वेश्वरी मन्दिरमा सीता सापकोटाको रीतिरिवाज अनुसारको बिहे ।
सौतालाई आमा समान भगवान मानेर...  
केही वर्षअघि सीताले नै जोडबल गरेर आफूहरूले व्यापार गरेर बसिरहेको युरोपको बेल्जियममा श्रीमान्को जेठी पत्नीलाई घुम्न बोलाएकी थिइन्। 
त्यो  रमाइलो दिन सम्झिँदै सीता भन्छिन्, ‘सौतालाई लिएर घुमेकी छ, अरूको खुशी खोसेर हिँडेकी छ भनेर मेरो चरित्रहत्या गर्न प्रयास गरियो। तर आज म ५० वर्ष पुग्न लागिसकें। दुई छोरीकी आमा बनेर एउटाको त बिहे पनि भैसक्यो । छोरीहरूलाई सबैभन्दा धेरै माया उहाँ (जेठी पत्नी) दिदीले नै गर्नुहुन्छ। हामीलाई केही समस्या छैन, अरूलाई किन सकस भएको होला? परिवारलाई मिलाएर लैजाँदा आज हामीसँग संघर्ष गरेर कमाएको घर छ, गाडी छ, इज्जत छ। अलिअलि धनसम्पत्ति पनि छ। राजनीति र समाज सेवाको पृष्ठभूमि छ।’

आफूले राम्रो गर्दै गर्दा पनि कुरा काट्नेहरूलाई सीता भन्छिन्, ‘कतिलाई मैले लेखेको मन पर्दैन, बोलेको मन पर्दैन, हाँसेको मन पर्दैन, नाचेको मन पर्दैन। खाँदा र माला लगाएको मन पर्दैन। केही गरेको पनि मन पर्दैन। तर, कसैलाई मन नपर्दैमा सीतालाई केही फरक पर्दैन। हामी देश मिलाउन प्रतिबद्ध भएर हिँडेका छौं। घर मिलाउने कसरी हो, हामीलाई राम्रोसँग थाहा छ।’

श्रीमानको जेठी श्रीमती अम्बिका बिडारीघिमिरेसँग सीता

को हुन् सीता सापकोटा?
हामीलाई लाग्छ, विश्वविख्यात मानिसहरूको मात्रै जीवनी पढ्न मजा लाग्छ। अरू सामान्य मान्छेको कुनै जीवनी हुँदैन। तर त्यस्तो हैन। एउटा कमिलाको पनि कथा हुन्छ, गौथलीको पनि कथा हुन्छ। युरोपको नेपाली समुदायभित्र हक्की, निडर र प्रष्ट वक्ताका रूपना चिनिने ५१ वर्षीया सीतालाई विगत ५ वर्षदेखि नजिकबाट नियाल्दा केही त लेखौंजस्तो लागेर लेखेको हुँ । आफैंलाई लाग्छ– तर लेखाइ अझै पुगेको छैन।

हो उनी राष्ट्रपती, प्रधानमन्त्री, मन्त्री र संसद पनि होइनन् तर, उनले गरेका कामहरू कुनै सम्माननीय र माननीयको भन्दा कम छैनन् । उनी युरोपमा रहेका नेपाली समुदायभित्रको एउटा ‘महिला आइकन’ हुन्। 

एक कार्यक्रमको उद्धाटन गर्दै सीता सापकोटा ।

आजभोलि सेलिब्रेटीजम र भाइरलको जमाना छ। त्यसैले धेरैलाई लागेको होला सीताको चर्चा परिचर्चा गरिएको छ। हो, सीताले कुनै सगरमाथाको आरोहण गरेर रेकर्ड कायम गरेकी छैनन्। तर उनको जीवनको संघर्षको यात्रा कुनै सगरमाथाको आधार शिविरभन्दा कम कष्टकर छैन। एउटा टुहुरी बालिका कसरी आफ्ना भाइबहिनीहरू सम्हालेर, राजनीतिमा होमिएर, समाजसेवामा हुँदै परोपकारी कर्ममा लागेकी छिन्, त्यो हामी सबैका लागि प्रेरणा बन्न सक्छ।

सीता युरोप बसेको २६ वर्ष भयो। तर अहिलेसम्म नेपाली राहदानीमै यात्रा गर्छिन्। नेपाली नागरिकता त्यागेकी छैनन्। यति लामो युरोप बसेका कमैसँग नेपाली राहदानी हुन्छ। भन्छिन्, ‘मलाई व्यापार व्यवसाय, यात्रा र कानुनी सहजिकरणका लागी नेपाली राहदानीले कतै रोकटोक गरेको छैन, कहिलेकाही कतिपय देशमा यात्रा गर्दा भिसा लगाउनु पर्ने झन्झट हुन्छ, तर त्योबाहेक केही असजिलो छैन,’ उनी थप्छिन्, ‘कम्तिमा आफ्नो जन्मभूमि नेपाल जाँदा मैले भिसा लिनु पर्दैन ।’

बेल्यिजमको सबैभन्दा सक्रिय संस्था चितवन सहायता कोषको अध्यक्ष रूपमा सीता ।

अघिल्लो पटकको भूकम्पमा नेपालमा धेरै धनजनको क्षती भयो। एनआरएनए बेल्जियमको अध्यक्षको हैसियतले सम्पूर्ण टिम र नेपाली समुदायलाई विश्वासमा लिएर जाजरकोटमा ३ कोठाको पक्की स्कुल र शौचालय बनाउन ३० लाख नेपाली रुपैयाँ सहयोग रकम जुटाइन्, त्यस्तै जाजरकोटकै नलगाड गाउँको विकासका लागि ३० लाख, जुटाइन्, ईजरायलमा आक्रमणमा परि निधन भएका १० परिवारलाई ५० हजारका दरले सहयोग जुटाइन्। केही महिना अगाडि आएको बाढीमा परेका परिवारलाई राहतका लागि १ लाख ६० हजारको दरले सहयोग जुटाइन्, देउघाटलगायत थुप्रै अनाथालय, जेष्ठ नागरिक राखिएका परोपकारी संस्थाका लागि लाखौं रकम, लत्ताकपडा सहयोग गरेकी छिन्।

एनआरएनए बेल्जियमको अध्यक्षका रूपमा सीता ।


०४९ सालमा एसएलसी पास गरेपछि उनले चितवनमा आदर्श नारी विकास केन्द्रको स्थापना गरिन्। यो संस्था परोपकारी कामका लागि चितवनमा आज पनि उत्तिकै प्रख्यात छ। बागलुङ पुर्ख्यौली थलो भए पनि चितवनलाई केन्द्र बनाएर प्रजातान्त्रिक राजनीतिमा लागिन्। २०५० सालमा चितवन नेविसंघको सचिव भइसकेकी थिइन्। आफू टुहुरी भएर पाएको दुःखलाई शक्तिमा बदलेर नेपाली जनतालाई खुशी दिन सक्छु भन्ने उनको आँट थियो।

पूर्वप्रधानमन्त्री स्वं. गिरिजीप्रसाद कोइरालासँग सीता ।

राजनीतिमा निरन्तर उनको संघर्ष जारी रह्यो।  नेपाली कांग्रेस निकट तरुण दल महिलाको देशभरिकै महिला उप–परिचालक बनिन्। अहिले पनि कांग्रेसको महासमिति सदस्य हुन्। अहिले एनआरएनए बेल्जियमको निर्वाचित अध्यक्ष अध्यक्ष छिन्। त्यसअघि बेल्जियममा सक्रिय चितवन समाज क्याटको संस्थापक अध्यक्ष तथा जनसम्पर्क समितिको अध्यक्ष भएर काम गरिन्। यसरी आफ्नो राजनीतिक विचारसँगै सामाजिक कामका लागि निरन्तर लड्दै आएकी सीता सापकोटा आज युरोपको नेपाली समुदाय र समग्र नेपालीको सुःख दुःखको सहारा बन्दै आइरहेकी छिन्।

salt training

कमेन्ट गर्नुहोस्