११ असार २०८३, बिहीबार
विराटनगरवासीलाई दूध खवाउने अधिकारी

विदेश मोह तोडेर गाउँमै समृद्धि खोजिरहेका ज्ञानेन्द्र

पुस २७, २०८१
विराटनगर
विदेश मोह तोडेर गाउँमै समृद्धि खोजिरहेका ज्ञानेन्द्र

मोरङ ग्रामथान–४ मोतीपुरका ज्ञानेन्द्र अधिकारी बिहान साढे ४ बजे नै किसानको घरमा पुगेर दूध संकलन गरेर विराटनगर आउँछन् । दैनिक ४ सय लिटरभन्दा बढी दूध विराटनगवासीलाई खुवाउँछन् । उनी यो पेसामा आवद्ध भएको ७ वर्ष भयो । त्योभन्दा अगाडि उनी वैदेशिक रोजगारीमा गएका थिए । 

२०५८ सालमा माल्दिभ्समा गएका उनी एक वर्ष बसेर नेपाल फर्के । पैसा कमाउने उद्देश्य बोकेर गएका अधिकारीले आफ्नो उद्देश्य भने पूरा गर्न सकेनन् । माल्दिभ्समा रिसोर्टमा काम गर्न भनेर गएका थिए ।  त्यति बेला माल्दिभ्समा पनि धेरै विकास भएको थिएन । माल्दिभ्सको राजधानी मालेमा एउटा हार्डवेयर पसलमा उनले काम पाए । नेपाल सरकारले कानुनी रूपमा जान दिँदैन थियो । दलालहरूले भारतको केरला पुर्‍याएर एक डेढ महिना त्यहाँ राखेपछि लगेको उनले बताए । 

कमाइ मासिक १५ हजार देखी १७ हजारसम्म मात्रै थियो । बस्ने र खाने व्यवस्था भने थियो । जेनतेन एक वर्ष बसेर नेपाल फर्किए । उनको पैसा कमाउने रहर पूरा भएन । ९ महिनापछि कुवेत हुँदै उनी इराक पुगे । इराकमा उनले अमेरिकी सेनालाई खाना खुवाउने काम पाए ।  कमाइ पनि राम्रो भयो । 

तर, बमले धेरै नेपालीको हात खुट्टा गुमेको देख्दा नेपालमै केही गरेको भए हुने रहेछ भन्ने लागेको उनले बताए । आफू बसेको ठाउँ सुरक्षित भए पनि धेरै स्थान असुरक्षित रहेको उनले बताए । त्यतिबेला अमेरिका र इराकको युद्ध चरम उत्कर्षमा थियो । ‘म बसेको ठाउँमा पनि बमहरू आउँथे’, उनले भने, ‘तर हामी बस्ने ठाउँ सुरक्षित थियो । खाना खाने ठूल्ठूला हलहरू थिए । भित्र हुने स्टाफहरूलाई केही भएन तर, धेरै बंगलादेशी, भारतीय र नेपालीमाथि धेरै आक्रमण भएको थियो ।’ उनी त्यहाँ २७ महिना बसे । उनले मासिक ८० हजार कमाउँथे । इराकको द्वन्द्व सकिएपछि कम्पनी टुटेकाले घर फर्केको उनले बताए । 

null

इराकपछि भने उनले विदेश जाने योजना बनाएनन् । आफ्नै गाउँमै बसेर केही गर्ने सोचेर उनले मोतीपुर कृषक समूह बनाए । तर, त्यो समूह भने धेरै दिन टिकेन । सबैको मन नमिलेपछि समूह विभाजन भएको उनले बताए । २८ जनाको समूह थियो । गाई पालनलाई प्राथमिकतामा राखेर घाँसका बिउ उत्पादन गर्ने लक्ष्यका साथ समूह शुरू गरिएको ज्ञानेन्द्रले बताए । 

‘त्यहाँको माटोमा घाँस राम्रो भएन । सिचाईंका लागि पनि नहरकै भर पर्नु परेपछि अरूले समूह छाड्दै जानुभयो ।  अन्तिममा दूध सङ्कलन मात्रै हुँदै गयो । तीन जना साथीहरूले साथ दिनुभयो । उहाँहरूले अहिले पनि साथ दिइराख्नुभएको छ । तर उहाँहरूको आ—आफ्नै पेसा छ,’ उनले भने । 

उनले स्थानीय कृषकबाट संकलन नभएका दूध वनिगाभा सहकारी संस्थाबाट पनि ल्याउने गरेका छन्  । दूधको बाक्लोपनको आधारमा सरकारले तोकेको मूल्य नघटाई किसानलाई दिने गरेका छन् । ६० देखि  ७० रुपैयाँसम्म पैसा किसानलाई दिने गरेको उनले बताए ।  

ज्ञानेन्द्रले गाई पालन पनि गरेका थिए । उनले ६ वटा जर्सी गाई पालेका थिए  । त्यति बेला दूध अरूलाई नै बेच्ने गरेका थिए । महँगीले गाई पाल्न सक्ने अवस्था नबनेपछि हटाउँदै गएको उनले बताए । ‘दूधको मूल्य थोरै, दाना, चोकर, पराल घाँस महँगो हुँदै गयो ।  आम्दानीभन्दा खर्च बढी हुन थाल्यो । त्यसपछि दूध बेच्न थालेको हुँ,’ उनले भने ।  

अहिले २ वटा गाई मात्रै पालेको उनले बताए । सबै खर्च कटाएर ४० हजार आम्दानी हुने गरेको उनले बताए । विराटनगरमा ४ वटा होलसेल पसल र ७२ घरमा उनले दूध बेच्ने गरेका छन् । दूधको माग धान्न गाह्रो भएको उनले बताए ।  

सहकारीहरूले किसानलाई ठगेकाले दूध उत्पादन घटेको उनले बताए । ‘दूध लिँदा ३ दिनभित्र पैसा दिइसक्नु पर्छ । तर, उनीहरूले चाहिँ ४ महिनासम्म दिँदैनन् । घर चलाउन नै किसानलाई समस्या हुन्छ । अनि गाइपाल्न गर्ने किसान पलायन हुन थालेका हुन्’, उनले भने । किसानलाई १५ दिन भित्रमा पैसा दिए किसानलाई राहत पुग्ने उनको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्