
मोरङ ग्रामथान–४ मोतीपुरका ज्ञानेन्द्र अधिकारी बिहान साढे ४ बजे नै किसानको घरमा पुगेर दूध संकलन गरेर विराटनगर आउँछन् । दैनिक ४ सय लिटरभन्दा बढी दूध विराटनगवासीलाई खुवाउँछन् । उनी यो पेसामा आवद्ध भएको ७ वर्ष भयो । त्योभन्दा अगाडि उनी वैदेशिक रोजगारीमा गएका थिए ।
२०५८ सालमा माल्दिभ्समा गएका उनी एक वर्ष बसेर नेपाल फर्के । पैसा कमाउने उद्देश्य बोकेर गएका अधिकारीले आफ्नो उद्देश्य भने पूरा गर्न सकेनन् । माल्दिभ्समा रिसोर्टमा काम गर्न भनेर गएका थिए । त्यति बेला माल्दिभ्समा पनि धेरै विकास भएको थिएन । माल्दिभ्सको राजधानी मालेमा एउटा हार्डवेयर पसलमा उनले काम पाए । नेपाल सरकारले कानुनी रूपमा जान दिँदैन थियो । दलालहरूले भारतको केरला पुर्याएर एक डेढ महिना त्यहाँ राखेपछि लगेको उनले बताए ।
कमाइ मासिक १५ हजार देखी १७ हजारसम्म मात्रै थियो । बस्ने र खाने व्यवस्था भने थियो । जेनतेन एक वर्ष बसेर नेपाल फर्किए । उनको पैसा कमाउने रहर पूरा भएन । ९ महिनापछि कुवेत हुँदै उनी इराक पुगे । इराकमा उनले अमेरिकी सेनालाई खाना खुवाउने काम पाए । कमाइ पनि राम्रो भयो ।
तर, बमले धेरै नेपालीको हात खुट्टा गुमेको देख्दा नेपालमै केही गरेको भए हुने रहेछ भन्ने लागेको उनले बताए । आफू बसेको ठाउँ सुरक्षित भए पनि धेरै स्थान असुरक्षित रहेको उनले बताए । त्यतिबेला अमेरिका र इराकको युद्ध चरम उत्कर्षमा थियो । ‘म बसेको ठाउँमा पनि बमहरू आउँथे’, उनले भने, ‘तर हामी बस्ने ठाउँ सुरक्षित थियो । खाना खाने ठूल्ठूला हलहरू थिए । भित्र हुने स्टाफहरूलाई केही भएन तर, धेरै बंगलादेशी, भारतीय र नेपालीमाथि धेरै आक्रमण भएको थियो ।’ उनी त्यहाँ २७ महिना बसे । उनले मासिक ८० हजार कमाउँथे । इराकको द्वन्द्व सकिएपछि कम्पनी टुटेकाले घर फर्केको उनले बताए ।

इराकपछि भने उनले विदेश जाने योजना बनाएनन् । आफ्नै गाउँमै बसेर केही गर्ने सोचेर उनले मोतीपुर कृषक समूह बनाए । तर, त्यो समूह भने धेरै दिन टिकेन । सबैको मन नमिलेपछि समूह विभाजन भएको उनले बताए । २८ जनाको समूह थियो । गाई पालनलाई प्राथमिकतामा राखेर घाँसका बिउ उत्पादन गर्ने लक्ष्यका साथ समूह शुरू गरिएको ज्ञानेन्द्रले बताए ।
‘त्यहाँको माटोमा घाँस राम्रो भएन । सिचाईंका लागि पनि नहरकै भर पर्नु परेपछि अरूले समूह छाड्दै जानुभयो । अन्तिममा दूध सङ्कलन मात्रै हुँदै गयो । तीन जना साथीहरूले साथ दिनुभयो । उहाँहरूले अहिले पनि साथ दिइराख्नुभएको छ । तर उहाँहरूको आ—आफ्नै पेसा छ,’ उनले भने ।
उनले स्थानीय कृषकबाट संकलन नभएका दूध वनिगाभा सहकारी संस्थाबाट पनि ल्याउने गरेका छन् । दूधको बाक्लोपनको आधारमा सरकारले तोकेको मूल्य नघटाई किसानलाई दिने गरेका छन् । ६० देखि ७० रुपैयाँसम्म पैसा किसानलाई दिने गरेको उनले बताए ।
ज्ञानेन्द्रले गाई पालन पनि गरेका थिए । उनले ६ वटा जर्सी गाई पालेका थिए । त्यति बेला दूध अरूलाई नै बेच्ने गरेका थिए । महँगीले गाई पाल्न सक्ने अवस्था नबनेपछि हटाउँदै गएको उनले बताए । ‘दूधको मूल्य थोरै, दाना, चोकर, पराल घाँस महँगो हुँदै गयो । आम्दानीभन्दा खर्च बढी हुन थाल्यो । त्यसपछि दूध बेच्न थालेको हुँ,’ उनले भने ।
अहिले २ वटा गाई मात्रै पालेको उनले बताए । सबै खर्च कटाएर ४० हजार आम्दानी हुने गरेको उनले बताए । विराटनगरमा ४ वटा होलसेल पसल र ७२ घरमा उनले दूध बेच्ने गरेका छन् । दूधको माग धान्न गाह्रो भएको उनले बताए ।
सहकारीहरूले किसानलाई ठगेकाले दूध उत्पादन घटेको उनले बताए । ‘दूध लिँदा ३ दिनभित्र पैसा दिइसक्नु पर्छ । तर, उनीहरूले चाहिँ ४ महिनासम्म दिँदैनन् । घर चलाउन नै किसानलाई समस्या हुन्छ । अनि गाइपाल्न गर्ने किसान पलायन हुन थालेका हुन्’, उनले भने । किसानलाई १५ दिन भित्रमा पैसा दिए किसानलाई राहत पुग्ने उनको भनाइ छ ।