
नबिल बैंक लिमिटेडले सूचना सुरक्षा व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय मान्यता प्राप्त आईएसओ २७००१: २०२२ प्रमाणपत्र प्राप्त गरेको छ विश्वव्यापी मान्यता प्राप्त अन्तर्राष्ट्रिय संस्था इन्टरसर्ट (INTERCERT) ले बैंकलाई उक्त प्रमाणपत्र प्रदान गरेको हो ।
यो उपलब्धिले नबिल बैंकको ग्राहकको डेटा सुरक्षा र संवेदनशील सूचनाको सुरक्षा अभ्यासप्रतिको प्रतिबद्धता स्पष्ट पारेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
उच्च पदस्थ कर्मचारीहरूको उपस्थितिमा नबिल बैंकको मुख्य कार्यालयमा आयोजित कार्यक्रममा आइतबार उक्त प्रमाणपत्र हस्तान्तरण गरिएको हो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले प्रमाणपत्रले डाटा सुरक्षामा नबिल बैंकको गुणस्तरलाई मान्यता दिएको बताए । उनले भने, 'हामी ग्राहकहरूको डाटा सुरक्षालाई पहिलो प्राथमिकतामा राख्छौं । यो प्रमाणपत्रले सुरक्षात्मक उपायलाई निरन्तर सुधार्न गरिएको हाम्रो प्रयासलाई मान्यता दिइएको छ । यो प्रकृयालाई हामी निरन्तर सुधार गर्ने प्रतिबद्धता पनि गर्छौं ।'
आईएसओ २७००१: २०२२ प्रमाणपत्र सूचना सुरक्षा व्यवस्थापन प्रणालीका लागि अन्तर्राष्ट्रिय मान्यता प्राप्त मापदण्ड हो ।
यो प्रमाणपत्र प्राप्त गर्नु नबिल बैंकको सुरक्षाको उच्च मापदण्ड कायम राख्न गरिएको प्रयासको महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ ।
नबिल बैंक नेपालको अग्रणी वाणिज्य बैंकहरूमध्ये एक हो ।
बैंकले २४ लाखभन्दा बढी सेवाग्राहीलाई २६८ शाखा र ३२० एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ । नबिल बैंकले ४० वर्ष देखि नेपाली बैंकिङ क्षेत्रमा नवीनतम सेवाहरूको शुरूआत गर्दै महत्त्वपूर्ण भूमिका खेलेको छ । बैंकले नेपालको बैंकिङ विकासमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको छ ।