२५ असार २०८३, बिहीबार
कासमु पन्छाउन खोज्दा अन्योल

प्रहरी बढुवामा राजनीतिक दबाब : गृहमन्त्रीको 'अब्जेक्सन'ले एसएसपी बढुवा अड्कियो

पुस २९, २०८१
काठमाडौं
प्रहरी बढुवामा राजनीतिक दबाब : गृहमन्त्रीको 'अब्जेक्सन'ले एसएसपी बढुवा अड्कियो

नेपाल प्रहरीको प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बढुवा अलपत्र परेको छ । गृहमन्त्री रमेश लेखकले कार्यसम्पादन मूल्यांकन (कासमु) पन्छाएर बढुवा गर्न खोजेपछि एसएसपी बढुवा अलपत्र परेको हो । 

कासमुलाई आधार मानेर बढुवा सूची निकाल्नुपर्ने गृहसचिव गोकर्णमणि दुवाडी र प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरको प्रस्तावमा गृहमन्त्री रमेश लेखकले ‘अब्जेक्सन’ जनाएका छन् । 

बढुवा आकांक्षी केही प्रहरी उपरीक्षक (एसपी)ले कांग्रेसकै नेतामार्फत् बढुवा सूचीमा अटाउन दिएको दबाब थेग्न नसकेर गृहमन्त्री लेखकले गृहसचिव र आईजीपीको प्रस्तावमा अब्जेक्सन जनाएका हुन् । उनले केही एसपीलाई जसरी पनि एसएसपीको बढुवा सूचीमा अटाउन गृहसचिव दुवाडी र आईजी कुँवरलाई दबाब दिएको स्रोत बताउँछ । 

कमजोर कासमु भएका र आफूनिकटलाई माथि ल्याउन खोज्दा गत भदौदेखि रिक्त एसएसपी पदको बढुवा प्रक्रिया अवरुद्ध भएको प्रहरी मुख्यालयका एक उच्च अधिकृतले बताए । ‘आईजीपीसाब बढुवा प्रक्रियाकै छलफल भनेर एकसातादेखि गृहमा धाइरहनुभएको छ, तर अन्तिममा कासमुमा कमजोर भएकालाई बढुवा गर्नुपर्ने दबाब आएपछि उहाँ छलफल छलफल नै नटुंग्याई आउनुहुन्छ,’ मुख्यालयका ती अधिकृतले लोकान्तरसँग भने, ‘गृहमन्त्रीज्यूलाई आफ्नै नेताबाट दबाब भएको महसुस हामीले गरेका छौं ।’

गृहसचिव र आईजीपी गत बुधबार साँझ अबेरसम्म जसरी पनि एसएसपीको बढुवा सूची निकाल्ने कसरतमा थिए । तर, सचिव र आईजीपीले आफ्नो मनसायलाई दबाउन खोजेको बुझेरै गृहमन्त्री लेखक समय नमिलेको भन्दै छलफलमा गएनन् । बरू उनी बिहीबार बिहानै सुदूरपश्चिमतिर लागे । शुक्रबार मन्त्रिपरिषद् बैठकमा सहभागी हुन उनी काठमाडौं आए । शनिबार सार्वजनिक बिदा भएकोले आइतबार पनि पुनः बढुवाको लागि छलफल भएको थियो । तर, कुनै निष्कर्ष निस्केन ।

माथिल्लो दर्जा एआईजी र डीआईजीको बढुवा सूची भटाभट निस्किँदा एसएसपीको बढुवा निकाल्न नसकेको भन्दै आईजीपी कुँवरले संगठन भित्रैबाट आलोचना खेप्दै आएका छन् । 

एआईजी र डीआईजी बनाउनेमा मात्रै सरकार केन्द्रित हुँदा एसएसपी, एसपी र डीएसपी बढुवा अलपत्र परेको प्रहरी मुख्यालय स्रोत बताउँछ । ‘सरकारको ध्यान एआईजी र डीआईजी बनाउनेमा मात्र केन्द्रित हुँदा एसएसपी, एसपी र डीएसपीको बढुवा अलपत्र परेको हो,’ मुख्यालयका स्रोतले भन्यो । 

गत भदौयता एसएसपीका २५ दरबन्दी रिक्त छन् । बढुवा आकांक्षी ४० जना एसपी छन् । आईजीपी कुँवरलाई समेत आकांक्षी एसपीले नेतामार्फत् दबाब दिन थालेपछि उनले केहीलाई त मुख्यालयमै बोलाएर हप्काएको सचिवालयका एक प्रहरी अधिकृतले बताए । उनले भने, ‘मन्त्रालयमा गृहमन्त्रीज्यूलाई लिस्ट पठाएका हुन्छन्, यता आईजीपसाबलाई पनि शक्ति केन्द्रमार्फत् दबाब दिन्छन् । उहाँले केहीलाई त सचिवालयमै बोलाएर हप्काउनुभएको थियो ।’

मुख्यालय स्रोतका अनुसार क्रम संख्याको ५६ नम्बरमा रहेका एसपी चक्रराज जोशी, ५० नम्बरमा रहेका योगेन्द्रसिंह थापा, ४५ नम्बरमा रहेका पदमबहादुर विष्ट, ३९ नम्बरमा रहेका भुवनेश्वर तिवारी, ४१ नम्बरमा रहेको सुरेश काफ्ले, ३८ नम्बरमा रहेका राजेन्द्र धमलालगायतले आफूहरूलाई बढुवा सूचीमा अटाउन कांग्रेसकै नेतामार्फत् गृहमन्त्री लेखकलाई दबाब दिएका छन् । 

मुख्यालयका अनुसार २०५६ असार ३ का प्रहरी निरीक्षकका ब्याची राकेश सिंह, तुलबहादुर कार्की, विनोद सिलवाल, विमलराज कणेल र राजिव बस्नेत र २०५८ साउन १८ मा प्रहरी निरीक्षकमा भर्ना भएका ब्याचीहरूबीच बढुवामा प्रतिस्पर्धा हुने देखिन्छ । २०५८ का ब्याचीहरू रमेश थापा, प्रकाश रानाभाट, कमल थापा, कृष्णप्रसाद कोइराला, जनार्दन जिसी, सन्तोष खड्का, रन्जु सिग्देल, अनुपमशमशेर जबरा, श्यामकुमार महतो, कृष्णप्रसाद पंगेनी, अजय केसी, नवराज अधिकारी, वीरबहादुर बुढामगरलगायत बढुवाका प्रतिस्पर्धी हुन् । 

त्यस्तै एसपीहरू होविन्द्र बोगटी, वेद विष्ट, सञ्जयसिंह थापा, शान्तिराज कोइराला, दयानिधि ज्ञवाली, प्रभु ढकाल, अमेरेन्द्रबहादुर सिंह, श्यामसिंह चौधरी, प्रवीण धिताल, प्रभुप्रसाद ढकाल, सन्तोष सिंह राठौर, शिवकुमार श्रेष्ठ, ऋषिराज कँडेल पनि प्रतिस्पर्धी छन् । 

केही एसपीहरू भने विगतमा कारबाही भोगेकामध्ये पर्छन् । एसपी रानाभाटविरुद्ध धनुषा हुँदा लागूऔषध कारोबारीसँग साँठगाँठ गरेको आरोप लागेको थियो । अर्का एसपी कमल थापा ललितपुर हनीट्र्यापमा मुछिएका अधिकृत हुन् । एसपी कँडेल तत्कालीन अपराध महाशाखामा प्रहरी निरीक्षक हुँदा यार्सागुम्बा लुटपाटमा निलम्बनमा परेका अधिकृत हुन् । 

प्रहरी महानिरीक्षक कुँवरले भने बढुवाको गृहकार्य भइरहेको बताए । ‘ बढुवा हुन्छ, हामी आन्तरिक छलफलमै छौं,’ उनले लोकान्तरसँग भने ।

salt training

कमेन्ट गर्नुहोस्