१२ साउन २०८३, मंगलबार
जीवनदर्शन

मानिसको स्वभाव, कारण र असर

माघ ५, २०८१
काठमाडौं
मानिसको स्वभाव, कारण र असर

संसारमा तीन किसिमका मानिस हुन्छन् । एकथरी मानिस त्यस्ता हुन्छन्, जो आफूले दुःख उठाएर अरूलाई सुख दिन्छन्, सुख दिने प्रयास गर्दछन् । उनीहरूलाई आफ्नो दुःखसुखको वास्तै हुँदैन ।

कसरी अरूलाई सुख दिन सकिन्छ भन्छन् र त्यसैमा जीवन बिताउँछन् । यस्ता मानिसहरू थोरैलाई धेरै ठान्छन्, थोरै लिएर धेरै दिन्छन्, दिने प्रयास गर्छन् । यस किसिमका मानिसलाई सात्विक प्रकृतिका मानिस भनिन्छ । जसमा ऋषिमुनि, साधुसन्त तथा महापुरुषहरू पर्छन् । उनीहरूको संख्या कम भए पनि उनीहरूकै देनले संसार धानिरहेको हुन्छ । 

दोस्रोथरी त्यस्ता मानिस हुन्छन्, जो अरूलाई दुःख दिएर आफ्नो सुख खोज्ने गर्दछन् । उनीहरूलाई अर्काको दुःखको वास्ता हुँदैन । हमेशा कसरी आफूले सुख पाइन्छ भन्ने सोच्छन् र यस निम्ति जस्तोसुकै हर्कतमा उत्रन पनि पछि पर्दैनन् । उनीहरू धेरैलाई थोरै देख्छन् । सकेसम्म केही पनि नदिएर लिन खोज्छन् । दिनै परे पनि निकै कम दिएर धेरै लिन खोज्छन्, लिने प्रयास गर्छन् । यस्ता मानिस तामसिक प्रकृतिका हुन्छन्, जसको संख्या अघिल्लोभन्दा बढी छ । 

तेस्रोथरी यस्ता छन्, जसले अरूको वास्ता नगरी आफ्नो सुख खोजिरहेका हुन्छन् । उनीहरूलाई अर्काको सुखदुःखको वास्तै हुँदैन । आफ्नै सुखको खोजीमा दौडन्छन् । यस्ता मानिस खान्थेपिन्तेमा रमाउँछन् । रस, रङ्ग, सुखसयल र मोजमस्तीमै हराइरहेका हुन्छन् । उनीहरूलाई अर्काको वास्ता त हुँदैन तर, आफ्नो सुखका लागि भने मरिमेटिरहेका हुन्छन् । यस्ता मानिसहरू राजसिक प्रकृतिका मानिन्छन्, जसको संख्या सर्वाधिक बढी छ । तथापि हिजोआजको कुरा गर्ने हो भने तामसिक प्रकृतिका मानिसको संख्या बढ्दै गएको छ । हाल जेजति प्राकृतिक असन्तुलन र तिनका असर बढ्दै गएका छन् त्यसको मूल कारण यही हो ।

यद्यपि, भागवतमा व्यासजीले ८४ लाख किसिमका प्राणीको कुरा गरेका छन् । उनले भागवतको दोस्रो स्कन्धदेखि छैटौँ स्कन्धसम्मको पूरा ११९ अध्याय कुनै न कुनै रूपमा सृष्टि प्रक्रियाकै विषय उठान गरेका छन् । तेस्रो स्कन्ध त पूर्ण रूपले सर्ग अर्थात् सृष्टि वर्णनमै केन्द्रित देखिन्छ । जसको दशौं अध्यायमा उल्लेख भएअनुसार सृष्टि तीन किसिमको हुन्छ, जसमा प्राकृत, वैकृत र प्राकृतवैकृत पर्दछ । यीमध्ये प्राकृतमा महत्त्व, अहङ्कार, पञ्चमहाभूत, १० इन्द्रीय, तिनका देवता तथा पञ्चतन्मात्रा पर्छन् ।

वैकृतमा पशुपंक्षी र वनस्पति पर्छन् भने प्राकृतवैकृतमा सनकादि मानवपुर्खा पर्दछन् । जहाँसम्म संख्यात्मक हिसाबको कुरा छ तिनमा जलचर नौ लाख किसिमका, स्थावर २० लाख किसिमका, पंक्षी १४ लाख किसिमका, पशु ३० किसिमका, कीराकमिला ११ लाख किसिमका र मानिस चार लाख किसिमका देखिएका छन् ।

अभिधा अर्थको आँखाले हेर्दा मानिस चार लाख किसिमका हुन्छन् भन्न गाह्रो पर्न सक्छ । तर, यो ऋषिवाक्यको कुरा हो । यस्ता आर्ष वाक्यलाई अभिधाको आँखाले मात्र हेर्न मिल्दैन, अन्यथा अर्थको अनर्थ हुन सक्छ । ऋषिमुनिहरू समाधिको भाषामा बोल्छन् । त्यसैले कतै व्यञ्जनाको आँखाले हेर्नुपर्ने हुन्छ, कतै लक्षणाले अर्थ निकाल्नुपर्ने हुन्छ । यहाँ पनि भएको यही हो । उनले ८४ लाख किसिमका प्राणी हुन्छन् भनेको यस्तै अर्थमा हो । 

जस्तो ८४००००० संख्यामा पाँचवटा शून्यलाई कटाउँदा ८४ मात्र बाँकी रहन्छ । अनि ८४ भनेको १२ हो । ८+४=१२ । त्यस्तै १२ भनेको पनि ३ हो । १+२=३ । यसको अर्थ प्राणी समुदाय तीन किसिमका हुन्छन् भन्ने हुन्छ । तिनमा एकथरी सात्विक प्रकृतिका हुन्छन्, जो माथि उल्लेख भएअनुसार सदा परहितमा ध्यान दिन्छन् । अर्काथरी राजसिक प्रकृतिका हुन्छन्, जो सदा आफ्नो हितमा ध्यान दिन्छन् । अर्काथरी तामसिक प्रकृतिका हुन्छन्, जो सदा परपीडनमा रमाइरहेका हुन्छन् । 

तामसिक प्रकृतिका मानिस भनेको तमोगुणी प्राणी हो, अज्ञान र अन्धकारमा जीवन बिताउने प्राणी हो । उनीहरू यस्तै मोह, महामोहजन्य अन्धकारमा जीवन बिताइरहेका हुन्छन् र अन्ततः आफूले पनि दुःख पाउँछन् । अर्कालाई पनि दुःख दिन पुग्छन् । त्यस्ता मानिसले यस जीवनमा पनि सुख पाउँदैनन् र अर्को जीवनमा पनि दुःखी नै हुन्छन् । आखिर अर्को जीवन भनेको पनि के हो र ? यही जीवनमा गरिएको कर्मको फल नै हो । 

त्यस्तै, राजसिक प्रकृतिका मानिस यस जीवनमा केही सुखीजस्ता देखिए पनि अन्ततः उनीहरूको अर्को जीवन दुःखी नै हुन्छ । तर, सात्विक प्रकृतिका मानिसहरू भने यस जीवनमा दुःखीजस्ता देखिए पनि उनीहरूले अर्को जीवनमा सुख पाउँछन् । 

त्यसैले, अहिलेको आवश्यकता भनेको यस्ता तामसिक र राजसिक प्रकृतिका मानिसलाई सत्वगुणी बनाउनु हो । सात्विक प्रकृतिको बनाउनु हो । जसका लागि त्यस्तै किसिमको शिक्षा, पाठ्यक्रम, पाठ्यपुस्तक र राजनीतिक वातावरणको आवश्यकता पर्छ । होइन भने प्राकृतिक असन्तुलन थप बिग्रँदै जान्छ र अन्ततः यही नै सबैको नारकीय दुःखको कारण बन्न पुग्छ । अस्तु आजलाई यति नै ।

salt training

कमेन्ट गर्नुहोस्