
विसं २०४८ देखि २०५० सम्म शंकर खनाल शिक्षण पेसामा थिए । तेह्रथुमको लालीगुराँस नगरपालिकाको कृष्ण माविमा उनले दुई वर्ष पढाए । राहत कोटामा शिक्षण शुरू गरेका उनी व्यक्तिगत स्वतन्त्रता लागि जागिर छोडिदिएको बताउँछन् । ‘सरकारी जागिरमा पसेपछि आफ्नो व्यक्तिगत स्वतन्त्रता रहँदैन,’ उनले भने ‘म स्वतन्त्र रहन खोज्ने मान्छे हुँ । मलाई अर्काको बन्धन मन पर्दैन । म जे गर्छु स्वतन्त्र रूपले गर्छु ।’
अध्ययन/अनुसन्धान आफ्नो मुख्य रूचिको विषय भएको उनले बताए । जागिर छाड्दा धेरैले गाली गरेको उनी बताउँछन् । जागिर छाडेपछि कतिपयले उनलाई ‘पागल’को उपनामसमेत दिएको उनी सम्झिन्छन् ।
उनका चार दाजुभाइ हुन् । उनीबाहेक सबै अहिले पनि सरकारी जागिरे नै छन् । उनलाई भने अहिले पनि जागिर छाडेको पछुतो छैन । दुई वर्षमै जागिर छाडेपछि उनले व्यापार शुरू गरेका थिए । शुरूमा किराना पसल हुँदै अलैँचीको व्यापार गरेको उनले बताए । व्यापारबाट आम्दानी गरेको पैसा उनले चिया खेतीमा लगाए । आफ्नै ४० रोपनी जग्गामा उनले चिया खेती गरेका हुन् ।
उनले आफ्नो बारीमा चिया मात्रै रोपेनन्, चिया उत्पादन गर्ने किसानले भोगिरहेको समस्याबारे पनि जानकारी लिए । किसानलाई सहज बनाउन उनकै पहलमा सिंहदेवी चिया उत्पादक सहकारी संस्था खोलिएको थियो । यो नेपालको दोस्रो चिया उत्पादक सहकारी रहेको खनालको दाबी छ ।
पहिलो भने इलामको तीनजुरे चिया उत्पादक सहकारी हो । तीनजुरे भने २०५१ सालमा दर्ता भएको हो । सँगै फाइल पेस गरे पनि विभागको ढिलाइले आफूहरूको सहकारी एक वर्ष ढिलो दर्ता भएको शंकरले बताए ।
अहिले सहकारीले चिया प्रशोधनसमेत गरिरहेको छ । डेनमार्क सरकारको अनुदान सहयोगमा ‘उन्नती’ कार्यक्रमअन्तर्गत १ करोड अनुदान र १ करोड सहकारीको लगानीमा प्रशोधन थालेको उनले बताए । सहकारीले चियाको बिक्री गुराँसे टी स्टेट धनकुटालाई गर्ने गरेको थियो ।
सहकारी शुरू गर्दा पनि चुनौती खेप्नु परेको थियो । ‘सहकारी शुरू गरेपछि हाते चिया बनाएर बजारमा बेच्न थाल्यौं । यो गुन्द्रुक भनेर धेरैले मन पराएनन् । सहकारीलाई घाटा हुन थाल्यो । संस्थाभित्र घाटा भएपछि दरारहरू उत्पन्न भए,’ उनले भने, ‘दुई रुपैयाँ भए पनि नाफा भयो भने संस्था राम्रा हुन्छ । एक रुपैयाँ घाटा भयो भने सधैं गाली खानुपर्छ । पछि अनुदानमा फ्याक्ट्री सञ्चालन गरेका थियौं । करोडौंको कारोबार हुन थालेपछि सबैको आँखा लागे ।’
चियाको ब्राण्डिङ गर्ने लक्ष्य राखे पनि त्यो भने नसकिएको उनले बताए । पहाडमा चियाको ब्रान्ड भनेर बेच्न नसकिने उनको भनाइ छ । ‘युरोपतिर हाम्रो चिया जानु पर्ने हो,’ उनले भने, ‘तर हामी युरोप बेच्न सक्दैनौं । भारतमा बेच्यो । उसैले अन्य देशमा बेच्छ ।’
ग्रिन टी, ब्ल्याक टी, ह्वाइट टी र गोल्डेन टी बनाएर उनीहरूले बेच्ने गरेका छन् । यी अर्थाेडक्स चियाका भेराइटी हुन् । प्रशोधन नगर्दा हरियो पत्ती मात्रै बिक्री हुने गरेको थियो । सहकारी खुलेपछि किसानलाई ठूलो राहत मिलेको खनालको दाबी छ । बाहिर बेच्दा समयमा टिपेर पठाउनु पर्ने, निर्धारित समयमा मात्रै उसले चिया लाने गरेको र पछि सहकारीसँगै प्रशोधनको काम हुन थालेपछि किसानले जतिसुकै बेला बेच्न पाउने गरेको उनले बताए ।
थप चिया खेती विस्तार गर्न भने नसकिएको उनले बताए । राज्यको नीतिले गर्दा चिया खेती विस्तार हुन नसकेको खनाल बताउँछन् । ‘नीतिगत समस्या समाधानका लागि हामीले धेरै पैरवी गरेका थियौं । सरकारले चियालाई कृषि मन्त्रालयअन्तर्गत राखे पनि कृषि मानेको छैन । कृषिमा दिने अनुदान चियालाई दिँदैन । कृषिका लागि मल अनुदान आउँछ तर, चियाका लागि आउँदैन । कृषि सिचाईका लागि विधुमा अनुदान छ तर, चियामा छैन । अन्य कृषिमा सिचाईका लागि भनेर ३ रुपैयाँ प्रति युनिट छ भने चियामा सिचाइ गर्दा १० रुपैयाँ युनिट नै तिर्नुपर्छ,’ उनले भने ।
चिया खेतीमा सरकारको नीति प्रस्ट नभएको उनको भनाइ छ । ३० वर्ष सहकारीमा काम गरेर उनी त्यहाँबाट बिदा भए । उनी अहिले भने उनी किसानलाई प्राङ्गारिक मल बिक्री वितरण गरिरहेका छन् ।
प्राइभेट कम्पनी खोलेर अग्र्यानिक मलको बिक्री गरिरहेका छन् । आफैंले मल उत्पादन गर्नेगरी कम्पनी स्थापना गरिएको उनले बताए । इलाम र धनकुटा तेह्रथुमका किसानले धेरै मल लाने गरेको उनले बताए । कफी खेतीमा धेरै मल जाने गरेको उनले बताए । चियामा चाहिँ किसानले ट्रायल मात्रै गरिरहेको उनले बताए ।