१३ असार २०८३, शनिबार
तीन दशकको यात्रा

सरकारी जागिर छाडेर चिया खेती रोजेका शंकर

माघ ५, २०८१
विराटनगर
सरकारी जागिर छाडेर चिया खेती रोजेका शंकर

विसं २०४८ देखि २०५० सम्म शंकर खनाल शिक्षण पेसामा थिए । तेह्रथुमको लालीगुराँस नगरपालिकाको कृष्ण माविमा उनले दुई वर्ष पढाए । राहत कोटामा शिक्षण शुरू गरेका उनी व्यक्तिगत स्वतन्त्रता लागि जागिर छोडिदिएको बताउँछन् । ‘सरकारी जागिरमा पसेपछि आफ्नो व्यक्तिगत स्वतन्त्रता रहँदैन,’ उनले भने ‘म स्वतन्त्र रहन खोज्ने मान्छे हुँ । मलाई अर्काको बन्धन मन पर्दैन । म जे गर्छु स्वतन्त्र रूपले गर्छु ।’ 

अध्ययन/अनुसन्धान आफ्नो मुख्य रूचिको विषय भएको उनले बताए । जागिर छाड्दा धेरैले गाली गरेको उनी बताउँछन् । जागिर छाडेपछि कतिपयले उनलाई ‘पागल’को उपनामसमेत दिएको उनी सम्झिन्छन् ।

उनका चार दाजुभाइ हुन् । उनीबाहेक सबै अहिले पनि सरकारी जागिरे नै छन् । उनलाई भने अहिले पनि जागिर छाडेको पछुतो छैन । दुई वर्षमै जागिर छाडेपछि उनले व्यापार शुरू गरेका थिए । शुरूमा किराना पसल हुँदै अलैँचीको व्यापार गरेको उनले बताए । व्यापारबाट आम्दानी गरेको पैसा उनले चिया खेतीमा लगाए । आफ्नै ४० रोपनी जग्गामा उनले चिया खेती गरेका हुन् । 

उनले आफ्नो बारीमा चिया मात्रै रोपेनन्, चिया उत्पादन गर्ने किसानले भोगिरहेको समस्याबारे पनि जानकारी लिए । किसानलाई सहज बनाउन उनकै पहलमा सिंहदेवी चिया उत्पादक सहकारी संस्था खोलिएको थियो । यो नेपालको दोस्रो चिया उत्पादक सहकारी रहेको खनालको दाबी छ । 

पहिलो भने इलामको तीनजुरे चिया उत्पादक सहकारी हो । तीनजुरे भने २०५१ सालमा दर्ता भएको हो । सँगै फाइल पेस गरे पनि विभागको ढिलाइले आफूहरूको सहकारी एक वर्ष ढिलो दर्ता भएको शंकरले बताए । 

अहिले सहकारीले चिया प्रशोधनसमेत गरिरहेको छ । डेनमार्क सरकारको अनुदान सहयोगमा ‘उन्नती’ कार्यक्रमअन्तर्गत १ करोड अनुदान र १ करोड सहकारीको लगानीमा प्रशोधन थालेको उनले बताए । सहकारीले चियाको बिक्री गुराँसे टी स्टेट धनकुटालाई गर्ने गरेको थियो । 

सहकारी शुरू गर्दा पनि चुनौती खेप्नु परेको थियो । ‘सहकारी शुरू गरेपछि हाते चिया बनाएर बजारमा बेच्न थाल्यौं । यो गुन्द्रुक भनेर धेरैले मन पराएनन् । सहकारीलाई घाटा हुन थाल्यो ।  संस्थाभित्र घाटा भएपछि दरारहरू उत्पन्न भए,’ उनले भने, ‘दुई रुपैयाँ भए पनि नाफा भयो भने संस्था राम्रा हुन्छ ।  एक रुपैयाँ घाटा भयो भने सधैं गाली खानुपर्छ । पछि अनुदानमा फ्याक्ट्री सञ्चालन गरेका थियौं । करोडौंको कारोबार हुन थालेपछि  सबैको आँखा लागे ।’

चियाको ब्राण्डिङ गर्ने लक्ष्य राखे पनि त्यो भने नसकिएको उनले बताए । पहाडमा चियाको ब्रान्ड भनेर बेच्न नसकिने उनको भनाइ छ । ‘युरोपतिर हाम्रो चिया जानु पर्ने हो,’ उनले भने, ‘तर हामी युरोप बेच्न सक्दैनौं । भारतमा बेच्यो । उसैले अन्य देशमा बेच्छ ।’

ग्रिन टी, ब्ल्याक टी, ह्वाइट टी र  गोल्डेन टी बनाएर उनीहरूले बेच्ने गरेका छन् । यी अर्थाेडक्स चियाका भेराइटी हुन् । प्रशोधन नगर्दा हरियो पत्ती मात्रै बिक्री हुने गरेको थियो । सहकारी खुलेपछि किसानलाई ठूलो राहत मिलेको खनालको दाबी छ । बाहिर बेच्दा समयमा टिपेर पठाउनु पर्ने, निर्धारित समयमा मात्रै उसले चिया लाने गरेको र पछि सहकारीसँगै प्रशोधनको काम हुन थालेपछि किसानले जतिसुकै बेला बेच्न पाउने गरेको उनले बताए । 

थप चिया खेती विस्तार गर्न भने नसकिएको उनले बताए । राज्यको नीतिले गर्दा चिया खेती विस्तार हुन नसकेको खनाल बताउँछन् ।  ‘नीतिगत समस्या समाधानका लागि हामीले धेरै पैरवी गरेका थियौं । सरकारले चियालाई कृषि मन्त्रालयअन्तर्गत राखे पनि कृषि मानेको छैन । कृषिमा दिने अनुदान चियालाई दिँदैन । कृषिका लागि मल अनुदान आउँछ तर, चियाका लागि आउँदैन । कृषि सिचाईका लागि विधुमा अनुदान छ तर, चियामा छैन । अन्य कृषिमा सिचाईका लागि भनेर ३ रुपैयाँ प्रति युनिट छ भने चियामा सिचाइ गर्दा १० रुपैयाँ युनिट नै तिर्नुपर्छ,’ उनले भने । 

चिया खेतीमा सरकारको नीति प्रस्ट नभएको उनको भनाइ छ । ३० वर्ष सहकारीमा काम गरेर उनी त्यहाँबाट बिदा भए । उनी अहिले भने उनी किसानलाई प्राङ्गारिक मल बिक्री वितरण गरिरहेका छन् ।

प्राइभेट कम्पनी खोलेर अग्र्यानिक मलको बिक्री गरिरहेका छन् । आफैंले मल उत्पादन गर्नेगरी कम्पनी स्थापना गरिएको उनले बताए । इलाम र धनकुटा तेह्रथुमका किसानले धेरै मल लाने गरेको उनले बताए । कफी खेतीमा धेरै मल जाने गरेको उनले बताए । चियामा चाहिँ किसानले ट्रायल मात्रै गरिरहेको उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्