
नेपाली कांग्रेसमा नियमित चार वर्षे समयसीमा अर्थात् २०८२ मंसिरभित्रै १५औं महाधिवेशन गर्नुपर्ने मत कायमै रहेका बेला पूर्वमहामन्त्री डा. शशांक कोइरालाले अर्कै बहस जन्माइदिएका छन् । जसले कांग्रेसभित्र फेरि तरंग सृजना भएको छ ।
खासगरी पार्टीको महाधिवेशनबारे संस्थापनभन्दा संस्थापनइतर पक्षले आवाज उठाइरहेको छ । संस्थापनइतर पक्षले चार वर्षे सीमाभित्रै महाधिवेशन गर्नुपर्ने दबाब दिँदै आएको छ । नभए २०८३ वैशाखसम्म कुनै हालतमा महाधिवेशन गर्नुपर्ने उनीहरूको माग छ ।
तर, शशांकले २०८४ को आम निर्वाचनपछि मात्रै महाधिवेशन गर्न सकिने बताएर नयाँ बहस सृजना गरिदिएका छन् । सभापति शेरबहादुर देउवालाई थप सहज बनाउने गरी शशांकले बोलिदिएपछि देउवालाई एकातिर ‘हाइसञ्चो’ भएको छ भने अर्कोतिर ‘धर्मसंकट’ ।
कुनै एक पार्टीसँग एकीकरण गर्दा चुनावपछि महाधिवेशन गराउन सक्ने सुविधा नेतृत्वलाई भएको शशांकको भनाइ थियो ।
विधान अनुसार चार वर्ष, दुई पटकमा ६/६ महिना गरी १ वर्ष र संविधानको व्याख्या अनुसार अर्को ६ महिना समय लम्ब्याउन सक्ने सुविधा कांग्रेसलाई नभएको होइन । तर, शशांकको आशय र कांग्रेसको आन्तरिक तयारी हेर्दा साढे ५ वर्षमा पनि महाधिवेशन नहुने देखिन्छ । किनकी देउवाले नियमित चारमध्ये तीन वर्ष गुजारिसकेका छन् । तर, नियमित महाधिवेशन हुने गरी कुनै गतिविधि अगाडि बढेका छैनन् ।
विधान अनुसार समय थपिने लगभग पक्का भइसकेको छ । महाधिवेशनको प्रारम्भिक रूपमा गर्नुपर्ने क्रियाशील सदस्यता वितरण र नवीकरणको काम अझै राम्रोसँग शुरू भएको छैन । सदस्यताको विषयले कांग्रेसमा सबैभन्दा धेरै झमेला ल्याउने गर्छ । कांग्रेसको विधान र संविधानको व्यवस्था अनुसार उसले ढिलोमा २०८४ जेठभित्रै १५औं महाधिवेशन गर्नैपर्छ ।

तर, २०८४ मा देशैभर स्थानीय तह र आम निर्वाचन हुनेछ । संसदीय पात्रो अनुसार २०८४ वैशाखमा स्थानीय तह र मंसिरमा प्रदेशसभा र प्रतिनिधिसभाको चुनाव हुनेछ । त्यसले गर्दा चुनावको सम्मुखमा महाधिवेशन गर्ने कुरा असम्भव जस्तै देखिन्छ ।
उसो त चुनावमा हुने आन्तरिक प्रतिस्पर्धाको कारण कम्तीमा पनि चुनाव र महाधिवेशनबीच एक वर्षको अन्तर राख्नुपर्ने मत कांग्रेसभित्रै छ । वडादेखि केन्द्रसम्मै आन्तरिक प्रतिस्पर्धामा गर्दै नेतृत्व चयन गर्ने अभ्यास कांग्रेसमा छ । यसैले चुनाव हुने वर्ष महाधिवेशन गर्नु उचित नहुने शशांकको अभिव्यक्ति थियो ।
शशांकको अभिव्यक्ति संस्थापनसँग सम्बन्ध थप सुधार गर्ने र अनुकूलतामा बोलिदिएर आफ्ना लागि बाटो खोल्ने रणनीति अन्तर्गत भएको नेताहरूको टिप्पणी छ। शशांकले भने जसरी कुनै पार्टीसँग एकीकरण गरेर जाने हो भने कांग्रेसको १५औं महाधिवेशन गर्न कम्तीमा सात वर्ष लाग्ने देखिन्छ ।
कार्यतालिका अनुसार फटाफट काम भए वडादेखि केन्द्रसम्मको अधिवेशन गर्न कम्तीमा एक वर्ष लाग्नेछ । तर, त्यसका लागि अहिलेसम्म कुनै तयारी अघि बढेको छैन । यसकारण तोकिएको समयमै महाधिवेशन हुने सम्भावना क्षीण बन्दै गइरहेको छ । शशांककै बोलीमा लोली मिलाउने हो भने कांग्रेसको १५औं महाधिवेशन २०८५ को मंसिरपछि मात्रै हुनेछ ।
केन्द्रीय सदस्य अजयबाबु सिवाकोटी कम्तीमा एक वर्ष कुलिङ पिरियडको लागि चाहिने बताउँछन् । आन्तरिक गुटबन्दीको असर निर्वाचनमा पर्ने भन्दै उनी कम्तीमा एक वर्षको अन्तर हुनुपर्ने तर्क गर्छन् ।
‘हाम्रो आन्तरिक चुनावको प्रतिस्पर्धाको तुष चुनावमा देखिन्छ । यसको असर स्थानीय तह र संसदीय निर्वाचनमा परेको देखिन्छ । हारेको रिसमै हुने र जितेको पनि कोहीसँग बदलाको भावमा रहिरहन्छ’, सिवाकोटी भन्छन्, ‘यसैले समय घर्काउन नमिल्ने भएपछि आन्तरिक प्रतिस्पर्धापछि सहज हुने कुलिङ पिरियड कम्तीमा एक वर्ष चाहिन्छ । यसैलाई हेरेर कम्तीमा २०८३ वैशाखसम्म १५औं महाधिवेशन गरिसक्ने गरी कार्यतालिका बनाउनतिर पार्टी नेतृत्व लाग्नुपर्छ ।’
कुनै दलसँग एकीकरण भए नेपाली कांग्रेस नाम पनि बदलिने हो ?
कांग्रेसमा पार्टी विधान र संविधान अनुसार समयमा महाधिवेशन नहुने र चुनावपछि हुने हो भने पार्टीको नाम समेत परिवर्तन गर्न तयार हुनुपर्ने प्रश्न उठेको छ । केन्द्रीय सदस्य सिवाकोटी समय हुन्जेल महाधिवेशन नगरी पछाडि सार्दा पार्टीसामु नैतिक र कानूनी प्रश्न उठ्ने बताउँछन् ।
‘विधान र संविधानको व्यवस्था अनुसार हामीलाई धेरै ढिलाइ गर्दा पनि साढे पाँच वर्षमा महाधिवेशन गरिसक भनेको छ । यो समयको पनि अन्तिम ६ महिनामा महाधिवेशन गर्दा स्थानीय तहको निर्वाचन हुनेछ’, सिवाकोटी भन्छन्, ‘यसैले २०८३ को वैशाखसम्म महाधिवेशन सकाउने गरी अहिलेदेखि नै कार्यक्रम बनाउन लाग्नुपर्छ । चुनावपछि गरौं भन्दा धेरै नैतिक र कानूनी झमेलाको सामना गर्नुपर्छ । पार्टीमा विधिविहीनता छाउँछ ।’

कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महत भने महाधिवेशनको लागि धेरै समय बाँकी रहेकोले अहिले नै पछाडिको बारेमा धेरै बोल्नु उचित नहुने बताउँछन् । ‘१५औं महाधिवेशनको लागि धेरै समय बाँकी छ । परिस्थिति हेरेर जे गर्दा पार्टीलाई सहजता हुन्छ त्यही गर्ने हो’, महत भन्छन्, ‘महाधिवेशनको नजिक हामी दुईवटा चुनावको संघारमा पनि हुनेछौं । चुनावलाई हेरेर समेत हामी महाधिवेशनको निर्णयमा पुग्नुपर्छ । यसैले यी सबै परिस्थितिको मूल्यांकन गरेर कांग्रेस महाधिवेशनमा होमिन्छ ।’
तर, सिवाकोटी भने जिम्मेवार नेताले चुनावपछि महाधिवेशन गर्न मिल्छ भन्नु नै गलत भएको टिप्पणी गर्छन् । ‘नेतृत्वमा टिकिरहन र महाधिवेशन टार्न प्रचण्डले पार्टीहरूसँग एकीकरण गर्दै नाम बदल्दै अनेक पुच्छर जोड्दै आएका छन् । हामी पनि विधि नमान्ने हो भने त्यतैतिर गए हुन्छ,’ सिवोकाटी भन्छन्, ‘हामीलाई नेपाली कांग्रेस नाम प्यारो छ । भोलि एकीकरण गर्ने पार्टीले नयाँ नाम राखौं भनेर दबाब दिए के हुन्छ ? माओवादीले जस्तै गरी पार्टीहरूसँग एकीकरण गर्दै महाधिवेशन सार्दै जाने र नाम बदल्ने कुरा हामीलाई स्वीकार्य छैन । यसैले नैतिक र कानूनी प्रश्न नउठ्ने गरी समयमा महाधिवेशन गर्नुको विकल्प छैन ।’
राजनीतिक दलसम्बन्धी ऐनको दफा १० मा दलहरू एकीकरण हुन र गाभिन सक्ने व्यवस्था उल्लेख छ । उपदफा ३ मा ‘कुनै दलको नाममा गाभिने वा नयाँ नाममा एकीकरण हुने कुरासमेत खुलाउनु पर्नेछ’ भन्ने उल्लेख छ । यो व्यवस्था अनुसार एकीकरण हुनासाथ पार्टीको नाम फेर्न पर्ने बाध्यता कांग्रेसलाई नहुने देखिन्छ । तर, ठूलै दलसँग सम्झौता गर्नुपर्ने स्थिति आए नाम फेरेर समेत जानुपर्ने स्थिति कायम हुने देखिन्छ ।
एकीकरण नै गरे पनि विधान र संविधान दुवैलाई मिचेपछि पार्टीमाथि गम्भीर प्रश्न उठ्ने सिवाकोटी बताउँछन् ।
संविधानको धारा २६९ मा राजनीतिक दलसम्बन्धी व्यवस्थाबारे उल्लेख छ । ‘दलको विधानमा कम्तीमा पाँच वर्षमा एकपटक सो दलका संघीय र प्रदेश तहका प्रत्येक पदाधिकरीको निर्वाचन हुने व्यवस्था हुनुपर्छ’ भन्ने उल्लेख छ ।
तर, ‘विशेष परिस्थिति उत्पन्न भइ पाँच वर्ष भित्रमा पदाधिकारीको निर्वाचन सम्पन्न हुन नसकेमा ६ महिनाभित्र त्यस्तो निर्वाचन गर्न सकिने गरी राजनीतिक दलको विधानमा व्यवस्था गर्न बाधा पर्ने छैन’ भन्ने उल्लेख छ ।

यता प्रवक्ता महत भने महाधिवेशन चुनावपछि गर्ने, पार्टी एकीकरण गरेर जाने भन्नेतिर अहिले नलागेको महतको दाबी गर्छन् । ‘हामी महाधिवेशन अनुकूल समयमा मात्रै भनिरहेका छौं’, महतले भने, ‘तर, चुनावपछि गर्ने, कुनै दलसँग एकीकरण गर्ने अनि महाधिवेशनमा जाने, त्यसपछि पार्टीको स्थिति कस्तो हुने भन्ने विषयसम्म प्रवेश गरिसकेका छैनौं ।’
केन्द्रीय सदस्य सिवाकोटी साढे पाँच वर्षमा महाधिवेशन नगरे पार्टीलाई पहिचान जोगाउन कठिन गर्ने बताउँछन् । ‘कुनै पार्टीसँग एकीकरण गरेर नयाँ नाम राखे मात्रै साढे पाँच वर्षपछि पनि महाधिवेशन गर्न सकिन्छ । तर, त्यो हाम्रो सबैभन्दा ठूलो आस्थाको नाम नेपाली कांग्रेस रहँदैन’ सिवाकोटीले भने, ‘हामी कुनै पनि कांग्रेसका सदस्य नेता विशेषको स्वार्थमा पार्टीको नाम नै गुम्नेसम्मको स्थितिमा पुग्नु हुँदैन भन्नेमा छौं ।’
अर्का एक केन्द्रीय सदस्यले महामन्त्री गगन थापाको समेत यस विषयमा गम्भीर ध्यानाकर्षण भएको बताए । ‘चार वर्षमा पनि महाधिवेशन नहुँदा केही ढिलाइ गरेर गर्न सकिन्छ तर, साढे पाँच वर्षमा पनि नहुने र कुनै पार्टीसँग एकीकरण गर्दाको जोखिम धेरै हुनेमा महामन्त्री पनि सिरियस भएको पाएका छौं’, ती सदस्यले भने, ‘यसैले समय घर्काउँदा धेरैथोक बिग्रन्छ भनेर पार्टी नेतृत्वलाई सम्झाउनुपर्छ भन्नेमा महामन्त्री हुनुहुन्छ ।’