
नेपाली कांग्रेसले पार्टीका तर्फबाट सरकारमा सहभागी भएका १२ जना मन्त्रीलाई हप्ताको २ दिनमात्र भेटघाट गर्न भनेर दिएको समयसीमा तत्काल लागू नहुने भएको छ ।
गत गत बिहीबार (माघ ३) सभापति शेरबहादुर देउवाको बुढानीलकण्ठस्थित निवासमा सबै मन्त्रीसँग छलफल गर्दै पार्टीले नतिजा दिने गरी मन्त्रालयका काममा मात्र समय दिन भनेको थियो । तर, पार्टीको निर्देशन कार्यान्वयन संसदीय दलको बैठक नबसी नहुने भएको छ ।
नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले संयुक्त सरकारमा सहभागी भएका मन्त्रीहरूलाई कार्यसम्पादनमा अझै प्रभावकारी बनाउन दिएको केही दिनपछि मात्र लागू हुने जानकारी दिए ।
‘पार्टीले निर्णय गरेअनुसार कुनै मन्त्रीले निवास र मन्त्रालयको नियमित भेटघाट छोट्याएर कामसँग सम्बन्धित विषयमा मात्रै केन्द्रित हुनुभयो भने उहाँहरूको कुरा हो,’ घिमिरेले लोकान्तरसँग भने, ‘माघको १४/१५ गते कांग्रेस संसदीय दलको बैठक बस्छ । त्यसपछि मात्र अनिवार्य रूपमा पार्टीको यो निर्णय लागू हुन्छ ।’
मन्त्रीलाई नतिजामुखी बनाउनका लागि गरिएको निर्णयलाई मन्त्रीले कार्यान्वयन गर्नुपर्ने घिमिरेले बताए । नेता कार्यकर्तासँग मन्त्रालय र निवासमा भेट्नेहरूको बाक्लो भीड लागेपछि कांग्रेसले मन्त्रीहरूको लागि ‘हप्तामा २ निश्चित दिन खुल्ला भेटघाट गर्ने, नागरिकको गुनासो सुन्ने, सुझाव लिने बाँकी ५ दिन सम्पूर्ण रूपले मन्त्रालयको काममा केन्द्रित हुने’ निर्णय गरेको थियो ।
प्रशासनिक मुख्यालय सिंहदरबारमा मन्त्रीलाई भेट्न सर्वसाधारण पुग्दाको भीडले कर्मचारीलाई समेत काम गर्न कठिनाइ पर्ने गरेको छ । मन्त्री बनेलगत्तै बधाई दिनेको भीड एक महिनासम्म पनि नरोकिएपछि कांग्रेसले यस अघि भदौको पहिलो हप्ता बैठक राखेर भेटघाट कम गर्न निर्देशन दिएको थियो । तर, पनि मन्त्रीसमक्ष व्यक्तिगत गुनासो लिएर आउनेको संख्या बढेपछि पार्टीले अनावश्यक भीड जम्मा नगर्न मन्त्रीहरूलाई निर्देशन नै दिएको हो ।
यो पार्टी तह र नागरिकबाट आउने गरेका सुझाव र मागको सम्बन्धमा महिनामा एकपटक केन्द्रीय कार्यालयमा उपस्थित हुन पनि मन्त्रीलाई निर्देशन दिइएको थियो ।
‘पार्टीको प्रदेश समिति, जिल्ला, क्षेत्र एवं स्थानीय तहमार्फत पार्टी केन्द्रीय कार्यालयमा आउने गरेका नागरिकका सुझाव र मागहरूका सम्बन्धमा महिनामा १ पटक पार्टी केन्द्रीय कार्यालयमा उपस्थित हुनुपर्नेछ,’ कांग्रेसको निर्णयमा भनिएको छ ।
गृहमन्त्री रमेश लेखकका प्रेस संयोजक लोकेन्द्र भट्टले पार्टीले गरेको खुला भेटघाट दुई दिनमात्रै गर्ने निर्णय कार्यान्वयनमा गइनसकेको बताए ।
‘पार्टीले मन्त्रालयदेखि निवासमा भीडभाड नबढोस् भनेर निर्णय गरेको धेरै दिन भएको छैन । अहिले पहिलेजस्तै नियमित भेटघाट भइरहेको छ । अहिलेको भेटघाटको शैली हेर्दा व्यावहारिक हिसाबले मिलाउन अलि गाह्रो हुन सक्छ । तर, पार्टीको निर्णय भइसकेपछि कार्यान्वयन नगरी हुँदैन । अर्को हप्ताबाट पार्टीले भनेको जसरी भेटघाटको तालिका बन्छ ।’
गृहमन्त्री लेखकले ललितपुरको मन्त्री क्वार्टरमा बिहान ८ देखि १० र सिंहदरबारस्थित मन्त्रालयमा ३ बजेपछि खुला भेटघाट गर्दै आएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँग गृहमन्त्री लेखकको बढी भेटघाट हुने गरेको छ ।
गृहमन्त्रीसँग स्थानीय प्रशासन, सरुवा र बढुवाका माग लिएर नेता कार्यकर्तादेखि सर्वसाधारणसम्म आउने गरेका छन् ।
शहरी विकास मन्त्री प्रकाशमान सिंहका प्रेस संयोजक जगन्नाथ दुलालले पनि तालिका बनाएर केही दिनमा पार्टीको निर्णय कार्यान्वयनमा लाने जानकारी दिए ।
‘मन्त्रीज्यूले अहिले पनि आफ्नो निर्वाचन क्षेत्रमा रहेको बानेश्वरस्थित कार्यालयमा बिहीबार बिहान ८ देखि १० बजेसम्म नागरिकका गुनासो सुन्दै आउनुभएको छ,’ दुलालले भने, ‘उहाँ चाक्सीबारीस्थित निवासमै बस्नुहुन्छ । केही भेटघाट त्यहीँ हुन्छन् । तर, पार्टीले निर्णय गरेपछि केही दिनपछि उहाँले नयाँ तालिका बनाउनुहुन्छ ।’
सिंहको निवासमा बिहान साढे ७ बजेदेखि नै नेता/कार्यकर्ताको बाक्लो भीड लाग्ने गरेको छ । कांग्रेसमा सिंहको घरमा अन्य नेताको भन्दा बाक्लो भीडभाड लाग्ने गरेको नेताहरू बताउँछन् । सिंहदरबारस्थित कार्यालयमा भने सिंहलाई भेट्नका लागि समय निर्धारण गरिएको छैन । मन्त्रालयमा भएका बेला उनले आवश्यकता अनुसार खुलारूपमा भेटघाट गर्ने गरेका छन् ।
स्वास्थ्य मन्त्री प्रदीप पौडेलको सचिवालयले पार्टीको निर्देशनपछि खुला भेटघाटलाई कम गर्दै लगेको बताएको छ । ‘यसअघि नै मन्त्रीज्यू एक दिन संसदीय दलको कार्यालय र एक दिन केन्द्रीय कार्यालयमा जाने तालिका बनाएका थियौं । तर, त्यो कार्यान्वयन गर्न खोजेर पनि प्रभावकारी हुन सकेको थिएन । निवासमै भेटघाट गर्ने र गुनासो सुन्ने काम गर्दै आएका थियौं,’ पौडेलको सचिवालयका एक सदस्यले भने, ‘मन्त्रालयले गर्न खोजेका काम अझै व्यवस्थित हुन् भनेर पार्टीले खुला भेटघाट कम गर्न भनेको छ । पार्टीको निर्णयपछि निवास र मन्त्रालयमा खुला भेट कम गर्दै गएका छौं । केही दिनमा तालिकालाई अझै व्यवस्थित बनाउँछौं ।’
मन्त्रीका लागि मात्रै होइन, कांग्रेसले पार्टीका पदाधिकारीका लागि पनि केन्द्रीय कार्यालयमा भेटघाटको तालिका बनाउने वाचा पटक–पटक गर्दै आएका छन् । तर, सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले यसलाई नियमित गर्न सकेका छैनन् ।
बैठक बस्दा र कार्यक्रम भएका बेलाबाहेक सभापति देउवा केन्द्रीय कार्यालय नै जाँदैनन् । बूढानीलकण्ठस्थित निवासमै देउवाले भेटघाट गर्ने गरेका छन् ।
आवश्यक पदाधिकारी र शीर्ष नेताको बैठकसमेत देउवाले निवासमै राख्ने गरेका छन् । उपसभापति र महामन्त्रीहरू बैठक र कार्यक्रमबाहेक कहिलेककाहीँ मात्रै ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालय पुग्ने गरेको कर्मचारीहरू बताउँछन् ।
सरकारमा २१ मध्ये १० मन्त्री कांग्रेसबाटै छन्, जसमा उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, परराष्ट्र मन्त्री आरजु देउवा छन् ।
त्यस्तै, तेजुलाल चौधरी युवा तथा खेलकुद, बद्रीप्रसाद पाण्डे संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, अजयकुमार चौरसिया कानून, न्याय तथा संसदीय मामिला, प्रदीप पौडेल स्वास्थ्य तथा जनसंख्या मन्त्री छन् ।
त्यस्तै, सरकारमा रामनाथ अधिकारी कृषि तथा पशुपन्छी विकास, दीपक खड्का ऊर्जा, जलस्रोत तथा सिँचाइ, ऐनबहादुर शाही वन तथा वातावरण मन्त्री छन् । सरकारमा रूपा विक वन तथा वातावरण र पूर्णबहादुर तामाङ ऊर्जा राज्यमन्त्री रहेका छन् ।