
रुसी वैज्ञानिकहरूले सूर्यमा ‘रहस्यमय’ कालो धब्बा देखेको दाबी गरेका छन् । सूर्यमा प्लाज्माको कालो उत्सर्जनसँग सम्बन्धित दुर्लभ घटनाको भेटिएको उनीहरूले जानकारी दिएका छन्।
रुसी विज्ञान प्रतिष्ठानको अन्तरिक्ष अनुसन्धान संस्थानको सौर खगोल विज्ञान प्रयोगशालाले बुधबार यसको घोषणा गरेको हो।
सिन्ह्वामा प्रकाशित रिपोर्टअनुसार, रुसी प्रयोगशालाले भनेको छ, ‘आज हाम्रो सूर्यमा एक अत्यन्तै दुर्लभ, सुन्दर र अलिकति डर लाग्दो घटना भयो। देख्न मिल्ने डिस्कको ठीक बीचमा एक स्पष्ट कालो रंगको आकृति देखियो। यो बिस्तारै आंशिक रूपमा अन्तरिक्षमा निस्कियो र आंशिक रूपमा कोरोनामा (सूर्यको सबैभन्दा बाहिरी तह) फैलियो।’
वैज्ञानिकहरूका अनुसार, कालो रंग सामान्यतः न्यूट्रल हाइड्रोजनका कारण देखिन्छ। जसले पछाडिबाट आउने साना वेभलेन्थका विकिरणलाई लगभग पूर्ण रूपमा अवशोषित गर्ने क्षमता राख्छ।
यस घटनाबारे थप व्याख्या गर्दै वैज्ञानिकहरूले भनेका छन्, ‘यस विस्फोटले न्यूट्रल हाइड्रोजनले भरिएको चिसो प्रोमिनेन्सलाई सम्पूर्ण कोरोना क्षेत्रभर फैलायो। अन्ततः, प्रोमिनेन्सको सामग्री पूर्ण रूपमा नष्ट भयो र गायब भयो। तर, झन्डै तीन घण्टासम्म कोरोनल प्लाज्मा बादल देख्न सकियो, जुन फैलिनुअघि मैग्नेटिक लाइनहरूको दिशामा अघि बढिरहेको थियो।’
खगोलशास्त्रीय भाषामा प्लाज्मा तटस्थ ग्यासको बादलको रूपमा रहेको हुन्छ। यो ग्यासको जस्तो कुनै निश्चित आकार हुँदैन, जबसम्म यसलाई कुनै पात्रमा बन्द नगरेको होस्।
ग्यासभन्दा फरक, प्लाज्माले चुम्बकीय क्षेत्रको प्रभावमा विभिन्न संरचना, जस्तै फिलामेन्ट, पुञ्ज वा दोहोरो तह निर्माण गर्न सक्छ।
यो घटना सूर्यका गतिशील क्रियाकलाप र प्लाज्माको असामान्य व्यवहारसम्बन्धी अध्ययनका लागि महत्त्वपूर्ण मानिएको छ।