२५ जेठ २०८३, सोमबार
मधेशका सवाल

‘मधेशका एजेन्डा जिउँदा छन्, अहिलेका दल समाप्त भए नयाँ आउँछन्’

माघ ११, २०८१
काठमाडौं
‘मधेशका एजेन्डा जिउँदा छन्, अहिलेका दल समाप्त भए नयाँ आउँछन्’

नेपालमा दुई किसिमको मधेश छ । एउटा मधेश पूर्वदेखि पश्चिमसम्मको हो । जुन झापादेखि कञ्चनपुरसम्म फैलिएको छ । अर्को एउटा सांस्कृतिक मधेश छ । यो सप्तरीदेखि पर्सासम्म ८ जिल्लामा फैलिएको सरकारी मधेश हो । यो ८ जिल्लाको मधेश प्रदेशमा पछिल्ला आन्दोलनमा एमाले कमजोर थियो । एमालेलाई निशाना बनाइएको थियो । पछिल्लो समय एमालेले यहाँ आफ्नो संगठन उकास्दै आएको छ । 

पालैपालो एमाले र कांग्रेसले मधेशी शक्तिहरूलाई आफ्नो सहयोगीको रूपमा ल्याउने गरेका छन्, जसले मधेशआश्रित दल कमजोर र निष्प्रभावी बन्दै गएका छन् । उनीहरूको टाउको र पुच्छर कहीँ पनि मधेश प्रकट हुने अवस्था छैन । अन्य दलको लहैलहैमा मधेशआश्रित दल पनि राष्ट्रिय दल बन्नतिर लागे । संविधानले पनि राष्ट्रिय दल भन्न बाध्य बनायो । किनकि संविधानले क्षेत्रीय दलको अवधारणा नै राखेको छैन । प्रादेशिक संरचनामा जाँदा क्षेत्रीय मुद्दाको आधारमा क्षेत्रीय दल बन्न सक्छ । 

छिमेकी भारतको बिहारमा लालुप्रसाद यादवको पार्टी, उडिसामा नवीन पटनायकको पार्टी र पश्चिम बंगालमा ममता बनर्जीको पार्टी आफ्नो ठाउँमा मजबुत छन् । तर, अन्य ठाउँमा खास प्रभाव जमाउन सकेका छैनन् । यस्ता दल लोकलाइज हुन्छन् । हाम्रोमा संविधानले क्षेत्रीय पार्टीको अवधारणा नै राखेन । एउटै प्रदेशभित्र पनि एउटा खास ‘ब्लक’मा एउटा ‘इथ्निक’ समूहको सघनता हुन सक्छ । उनीहरूको आफ्नै नारा हुन सक्छ । मधेश प्रदेशमा मधेशी दलितहरूको उपस्थिति सिराहा र सप्तरीमा धेरै छ । धनुषामा कम छ । एउटा पार्टी बनायो भने त्यो क्षेत्रमा उनीहरू मज्जाले आइदिन सक्छन् । क्षेत्रीय पार्टी नहुँदा आउन सक्दैनन् । 

सबैभन्दा पुराना र सदनका ठूला दल एमाले र कांग्रेसले सरकार बनाएका छन् । यहीबेला सरकारले संविधान संशोधन गर्ने भनेको छ । सत्तारुढ दलमा पनि एमाले वृत्तले थ्रेसहोल्ड बढाउने कुरा गरेको छ । अझै हौसिँदै एमालेले जबजलाई दुईदलीय मान्यताअनुसार हो भनेर परिभाषित गरिरहेको छ । उनीहरूले मधेशका दललाई विभाजित गर्ने, विग्रह ल्याउने र ‘डिस्टर्ब’ गर्ने प्रयास गरे, जसले गर्दा मधेशी दलहरू कमजोर बन्दै गएका छन् । 

प्रादेशिक अभ्यासलाई सघन बनाउन के–के कानून बनाउनुपर्ने हो ? अहिलेसम्म किन नबनाएको हो ? भन्ने कुरा सतहमा ल्याउन सकिन्छ । त्यस्तै, बजेट बाँडफाँडको कुरा छन् । जनसरोकारका यस्ता मुद्दाहरू वस्तुपरक तरिकाले उठायो भने अन्य भूगोलका बासिन्दाले पनि भन्छन्, यो त हाम्रै लागि पनि हो, किनभने मधेश मात्रै प्रदेश छैन, अन्य ६ वटा पनि छन् ।

केन्द्रीय राजनीतिमै प्रत्येक पार्टीको नेतृत्वप्रति प्रश्न उठेको छ । मधेशको राजनीतिमा पनि मधेश आश्रित दलहरूको हालत त्यस्तै छ । जसरी ठूला पार्टीमा लामो समयदेखि उही नेतृत्व छ । त्यसरी नै मधेशका दलमा पनि वर्षौंदेखि उही नेतृत्व छ । यसकारण मधेशको नेतृत्वलाई डर पनि छ । ठूला दलले यसैगरी संगठन बनाउँदै जाने हो, थ्रेसहोल्ड बढाउने भने हामी न माथि हुन्छौं, न तल हुन्छौं भन्ने डर छ । 

मधेशका दलमा डरको अर्को कारण पनि छ । ४६ सालपछि राज्य भनेकै कांग्रेस र एमाले भए । जिल्ला सीडीओ पुग्दा कि कांग्रेसको हुन्छ कि एमालेको हुन्छ । न्यायाधीश पुग्दा पनि कांग्रेस या एमालेका हुन्छन् । हुँदाहुँदा अख्तियार र निर्वाचन आयोगमा पनि फलानो पार्टीको हो भनिन्छ । आन्दोलनको राजनीतिमा मान्छे‘बियोन्ड’ पार्टी जान्छन् । आफ्नो, भविष्य र वर्तमान सुनिश्चित गर्ने उनीहरूको ध्येय हुन्छ । तर, जब संरक्षणको चुनावी राजनीति हुन्छ, तब पार्टीको ओत लाग्छन् । अहिले मधेशका दल उकुसमुकुस र अप्ठ्यारोमा छन् । 

मधेशको एजेन्डा जनसंख्याको आधारमा प्रतिनिधित्व हो ।'जिसकी जितनी हो आबादी, सहभागिता में न हो पाबंदी’मतलब जसको जति भागीदारी छ, उत्ति हिस्सेदारी पाउनुपर्‍यो भन्ने हो । आज राज्यको अनुहारमा कार्यपालिका, न्यायपालिका र विधायिकामा कति मधेशी छन् ? सरकारले गरेका मनोनयनमा मधेशी अनुहारलाई ‘इग्नोर’ गरिएको छ । मधेशभित्रको समावेशितालाई पनि ‘इग्नोर’ गरिएको छ । अर्कातिर प्रदेशलाई अधिकार नै कम दिइएको छ । दिइएको अधिकारका लागि पर्याप्त सहजीकरणका मार्गचित्र कोर्ने काम संघीय सरकारले गरेको छैन । स्रोतहरूको विनियोजन पनि जनसंख्याको आधारमा भइदिएनन् । भूमि कानूनसम्बन्धी व्यवस्थापनका सवालमा पनि मधेशी चनाखो छन् । यसैले गर्दा मधेशी समतामूलक समाज चाहन्छन् । यसैले मधेशको एजेन्डा जिउँदो छ । एजेन्डा जिउँदो भएपछि आजका दलहरू विभाजित भए पनि, समाप्त भए पनि अर्को दल आउँछन् । 

मेरो त भनाइ के हो भने मधेश पनि यही देशभित्रको हिस्सा हो । मधेशका समस्या, सरोकार, सामर्थ्य र सम्भावनाका बारे सम्बोधन गर्नु चुनावी प्रतिस्पर्धा गर्ने सबै पार्टीको जिम्मेवारी हो । मधेशका मुद्दालाई उठाउने, सतहमा ल्याइदिने काम उनीहरूले पनि गर्नुपर्छ । जब उनीहरूले गर्दैनन्, अनि पो अर्को शक्तिको खाँचो पर्छ । मुद्दा जिउँदा छन् । 

मधेशी दलमा हामीले जसरी चाहे पनि हुन्छ भन्ने एक प्रकारको अहं छ । तर, भुइँ तहमा उकुसमुकुसको अवस्था छ । यसले गर्दा मधेशमा नयाँ नारा र शक्ति आउनुपर्छ भन्ने चाहना पनि त्यत्तिकै छ । नभए तत्कालका लागि मधेशका दलहरू एक ठाउँमा आइदिनुपर्छ भन्ने माग पनि मधेशीको छ । यो हाँक र हौसला मधेशमा छ । तर, मधेशका भनेर चिनिएका दलमा यत्ति तिक्तता, नफरत र इगो छ, यति अहं छ कि उनीहरू भुइँ तहको हाँक र हौसलालाई स्वीकार गर्न सक्छन् कि सक्दैनन् ? यो अहिलेको यक्ष प्रश्न हो । 

अहिले काठमाडौंमा दुई प्रकारको काम भइराखेको छ । एउटा मधेशी दलहरू सबैले वार्ता समिति बनाएका छन् । हाम्रो मुद्दा कमजोर भयो, हामी एक हुनुपर्छ, हामी भिड्नुपर्छ भनेर एउटा सोच काठमाडौंका सार्वजनिक मञ्चमा राखेको देखिन्छ । यसरी ‘पब्लिक डिस्कोर्स’ हुँदा, वार्ता समिति बनाउँदा, बातचित हुँदा र दलहरू एक ठाउँमा उभिएर कुरा गर्दा ती काम हुन्छन् । 

पछिल्लो समयमा मिडियाबाट मधेश हराएको थियो । अहिले मधेशलाई ‘नोटिस’मा लिन थाल्यो । दोस्रो, मधेशमा के हुँदैछ भनेर सिंहदरबार तनावमा आयो । फेरि मधेशमा कोलाहल हुने हो कि ? किन भइराखेको छ ? कसको उत्प्रेरणा हो ? समय हुँदै यसलाई कसरी सेलाउने हो ? यो कसरी तुहाउने हो भनेर सिंहदरबारलाई पर्न थालेको छ । तेस्रो, मधेशका नेतृत्वहरू आफ्नो समीक्षामा गएका छन् । 

२०७२ को मधेश आन्दोलन शक्तिशाली आन्दोलन भएर पनि राज्यसँग कुनै सम्झौताविना नै टुंगियो । यसैले पहिलोपटक मधेशका नेतालाई लागेको छ कि हामीले अब आत्मसमीक्षा गर्नुपर्छ । हामी आफू कहाँ–कहाँ चुक्यौं भन्ने कुरा नभनेपछि जनताले हामीलाई स्वीकार्दैनन् भन्नेमा उनीहरू पुगेका छन् । २०६२/६३ को आन्दोलनमा कांग्रेस–एमालेलाई जसरी अप्ठ्यारो परेको थियो, त्यस्तै अप्ठ्यारोमा मधेशी दल छन् । मधेशमा ठूला दललाई झन् अप्ठ्यारो छ । आत्मसमीक्षा गर्नुपर्ने स्थितिमा छन् । हामी पनि चुक्यौं भन्ने कुरा परिरहेको छ । २०७२ सालमा संविधानसँग असमझदारी लिएर जुन ‘मुभमेन्ट’ भयो, त्यो बेला पनि नेताहरूको मत भिन्नता भयो । 

मधेशको नेतृत्वमा मैले नै क्रेडिट लिने गरी आन्दोलन गरें र मधेशको मसिहा हुँ भन्ने ढाेंग देखियो । त्यसले गर्दा एकजुट भएर राज्यसँग ‘नेगोसिएट’ गर्न सकेनन् । ‘नेगोसिएसन’ पनि एउटा ‘आर्ट’ हो । के दाबी गर्ने र ‘बटलमलाइन’ के हुने भन्नेमा नेतृत्व पहिले प्रस्ट हुनुपर्छ । मधेशको सवालमा त्यो कुरा घालमेल भयो, जसले गर्दा मधेशलाई त्यतिखेर असफलता हात लाग्यो । राज्य पक्ष सफल भयो । बाध्य भएर मधेशका दलहरू चुनावमा जोडिए । मधेशका दलमा विगतमा आन्दोलनका बेलामा जुन रोग थियो, आज पनि मधेशका दलहरूको रोग जिउँदा छन् । त्यसैले अहिले नै यिनीहरू एकजुट, उत्साहित र ऐक्यबद्ध भए भनेर भन्न गाह्रो छ । 

आजको भोलि जनता सडकमा नआइदिन सक्छन् । यस्तोमा संसद्को हिउँदे अधिवेशन आह्वान भएकाले संसदलाई उपयोग गर्ने विषय प्राथमिकता हुन सक्छ । सडकमा आउनुअघि मधेशका दलहरूले अन्य विषयमा पनि सोच्नुपर्ने हुन्छ । अरू पश्चगामी, अतिवादी र दक्षिणपन्थी शक्तिहरू ढुकेर बसेका छन् । मधेशले न्यायपूर्ण समाजका लागि राष्ट्रिय मुद्दा लिएर अगाडि बढेको हो । तर, मधेशको यो मामिलासँगै राष्ट्रिय मुद्दा लिएर बाँकी शक्तिले पनि घुसपैठ गर्न सक्छन् । बंगलादेशमा विद्यार्थीहरूको एउटा चासो थियो, तर धेरै पक्ष सडकमा आइदिए । 

स्वतन्त्र सांसदले वास्तविक विषय सदनमा उठाउँदा मिडियाको ध्यानाकर्षण हुन्छ भने मधेशका दलमा धेरै सांसदहरू छन् । उनीहरूले मुद्दा सदनबाट उठाउन अधिकतम प्रयास गर्नुपर्छ र सरकारलाई घेराबन्दी गर्नुपर्छ ।

त्यसकारण अहिलेको उपयुक्त विषय के हो भने सदनमा संख्या थोरै भए पनि मधेशको माग के–के कुरामा छन् भनेर दबाब दिन सकिन्छ । राज्यको अनुहारमा मधेश कहाँ छ भनेर स्वेतपत्र जारी गर्न सकिन्छ । मधेशका दल र सांसदहरूले गरे भने नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादीभित्र रहेका मधेशी नेतृत्वलाई पनि दबाब पुग्छ । तिमीहरू पनि बोल भन्न सकिने अवस्था रहन्छ । राज्यको संरचनामा मधेश कहाँ छ ? सुप्रिम कोर्टमा कति जना न्यायाधीश छन् ? कति जना राजदूत छन् ? कति जना सचिव छन् ? ७७ जिल्लामा कति सीडीओ छन् ? भनेर जवाफ माग्न सकिन्छ । अहिलेको चित्र देखाएर सकारात्मक दबाब सिर्जना गर्न सकिन्छ । राज्यलाई ‘करेसक्सन’ गर्न र दबाब बढाउन यो एउटा उपाय हुन सक्छ । 

प्रादेशिक अभ्यासलाई सघन बनाउन के–के कानून बनाउनुपर्ने हो ? अहिलेसम्म किन नबनाएको हो ? भन्ने कुरा सतहमा ल्याउन सकिन्छ । त्यस्तै, बजेट बाँडफाँडको कुरा छन् । जनसरोकारका यस्ता मुद्दाहरू वस्तुपरक तरिकाले उठायो भने अन्य भूगोलका बासिन्दाले पनि भन्छन्, यो त हाम्रै लागि पनि हो, किनभने मधेश मात्रै प्रदेश छैन, अन्य ६ वटा पनि छन् । अरूलाई पनि मुख्यमन्त्री, मन्त्री र सांसद हुने अवसर छ । 

मधेशको सवाल क्षेत्रीयजस्तो देखिए पनि राष्ट्रिय सवाल हो । राज्य पुनर्संरचनासँग जोडिएको सवाल हो । राष्ट्रिय एकताको पुनर्परिभाषा गर्ने सवाल हो । तर, सदनलाई प्रतिध्वनित गर्‍यौं भने मिडियाको पनि ‘नोटिस’मा आउँछ । अन्तर्राष्ट्रिय समुदायको पनि ध्यानाकर्षण हुन्छ । अन्य समुदायले पनि बाध्य भएर यस्तो बोलिरहेका छन् भनेर बुझ्न पाउँछन् ।

स्वतन्त्र सांसदले वास्तविक विषय सदनमा उठाउँदा मिडियाको ध्यानाकर्षण हुन्छ भने मधेशका दलमा धेरै सांसदहरू छन् । उनीहरूले मुद्दा सदनबाट उठाउन अधिकतम प्रयास गर्नुपर्छ र सरकारलाई घेराबन्दी गर्नुपर्छ । सरकारलाई घेराबन्दी भनिरहँदा विपक्षमा रहेका माओवादी, रास्वपा, राप्रपाजस्ता पार्टीलाई पनि दबाब पर्छ । मधेशले सदनभित्र दिएको दबाब पक्ष र विपक्ष दुवैलाई पर्छ । यसले नयाँ ध्रुवीकरण र नयाँ घर्षण निर्माण गर्छ । 

(मधेश मामिलाका जानकार समेत रहेका राजनीतिक विश्लेषक चन्द्रकिशोरसँग लोकान्तरका लागि रमेश सापकोटाले गरेको कुराकानीमा आधारित ।)

salt training

कमेन्ट गर्नुहोस्