०२ साउन २०८३, शनिबार

पाठेघरको क्यान्सरले नेपालमा दैनिक चार जना महिलाको मृत्यु

माघ १५, २०८१
झापा
पाठेघरको क्यान्सरले नेपालमा दैनिक चार जना महिलाको मृत्यु

नेपालमा पाठेघरको मुखको क्यान्सरका कारण दैनिक चार जना महिलाको मृत्यु हुने गरेको स्वास्थ्य अधिकारीहरूले बताएका छन् । 

नेपालमा महिलामा हुने क्यान्सरमध्ये स्तन क्यान्सर पछि दोस्रो स्थानमा रहेको पाठेघरको मुखको क्यान्सर बर्सेनी दुई हजार एक सय ६९ जनालाई हुने गरेको जिल्ला स्वास्थ्य कार्यालय झापाका जनस्वास्थ्य अधिकृत प्रकाश पाठकले बताए । तीमध्ये ६१ प्रतिशत अर्थात् एक हजार तीन सय १३ जनाको बर्सेनी मृत्यु हुने गरेको उनी बताउँछन् । 

ह्युमन पापिलोमा भाइरस (एचपीभी)को दुई सयभन्दा बढी प्रजातिमध्ये १२ वटा प्रजाति पाठेघरको मुखको क्यान्सर गराउने मुख्य कारक हुन् । जिल्लामा माघ २२ गतेदेखि २९ गतेसम्म एचपीभी खोप अभियान सञ्चालन गर्न लागिएको छ ।  

खोप अभियान अन्तर्गत जिल्लाका १५ वटै स्थानीय तहका विद्यालयभित्र र विद्यालय बाहिर रहेका ५४ हजार नौ सय ९९ छात्रा तथा किशोरीलाई एचपीभी खोप लगाइने स्वास्थ्य कार्यालयले जनाएको छ ।

झापामा एचपीभी खोप अभियानका लागि सात सय ५५ खोप केन्द्र, सात सय ८१ जना स्वास्थ्यकर्मी र एक हजार पाँच सय १५ जना स्वयम्सेविका परिचालन हुनेछन् । सात सय ५५ खोप केन्द्रमध्ये पाँच सय ५७ विद्यालयमा, एक सय ४० स्वास्थ्य संस्था र ४० वटा बाह्य केन्द्र रहनेछन् ।

विश्व स्वास्थ्य संगठन (डब्यूएचओ)ले सन् २०३० सम्ममा यो रोग निवारणका लागि एकीकृत रूपमा तीन तहको उपाय अवलम्बन गर्न सिफारिस गरेअनुसार नेपाल सरकारले १० देखि १४ वर्षसम्मको किशोरीलाई खोप लगाउने भएको हो । 

गत आर्थिक वर्ष २०८०/०८१ मा सात वटै प्रदेशका १० हजार बालिकालाई एचपीभी खोप लगाइएको थियो । विश्व स्वास्थ्य संगठनका अनुसार महिलामा हुने क्यान्सरमध्येमा पाठेघरको मुखमा हुने क्यान्सर चौथो मुख्य क्यान्सरको रूपमा देखिएको छ । 

विश्वमा हरेक वर्ष पाँच लाख ७० हजार महिलालाई पाठेघरको मुखको क्यान्सर हुन्छ भने यो रोगबाट हरेक वर्ष तीन लाख ११ हजार (५५ प्रतिशत) महिलाको मृत्यु हुने गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्