
सप्तरीको राजविराजस्थित जिल्ला कारागारमा कैदीबन्दीको स्थानान्तरणको विषयलाई लिएर तनाव भएको छ ।
कैदीबन्दीको स्थानान्तरणका साथै चौकीदार नियुक्तिमा आर्थिक अनियमितता भएको आरोप लगाउँदै उनीहरू आन्दोलित बनेपछि कारागारमा तनाव भएको हो ।
यता प्रशासनले भने चौकीदारको व्यवहारलाई लिएर विवाद उत्पन्न भएको जनाएको छ। बिहान सामान्य विवाद भएको र अहिले अवस्था सामान्य जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी डीएसपी हेमराज घिमिरे जानकारी दिए । 'बिहान सामान्य विवाद भएको हो, अहिले अवस्था सामान्य छ,' डीएसपी घिमिरेले लोकान्तरसँग भने ।
कारागारमा विवाद भएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको उनले जानकारी दिए ।
२/३ दिनदेखि आन्दोलन भएपछि कारागारमा प्रहरी पुग्दा उनीहरूले शरीरमा मट्टितेल खन्याएका सप्तरीका प्रमुख जिल्ला अधिकारी श्याम कृष्ण थापाले जानकारी दिए । 'कारागारमा प्रहरी पुग्दा उनीहरूले शरीरमा मट्टितेल खन्याएर धम्क्याउन खोजेका हुन्, अहिले अवस्था सामान्य छ,' उनले लोकान्तरसँग भने ।