
क्यानडाबाट निस्किएको डढेलोको बाक्लो धुवाँका कारण संयुक्त राज्य अमेरिका (यूएस)भरि अस्वस्थकर वायु गुणस्तरको चेतावनी जारी भएको छ । यसले न्यू जर्सी-न्यूयोर्कमा हुने फिफा विश्वकप फाइनल खेलमा अनिश्चितताको बादल मडारिएको अलजजीराले जनाएको छ ।
दक्षिणतर्फ बहिरहेको हावाका कारण राजधानी वासिङ्टन डीसी पनि नराम्ररी प्रभावित भएको छ। त्यहाँको वायु प्रदूषण मापक सूचकांक (एक्युआई) दोस्रो उच्च स्थान अर्थात् ‘धेरै अस्वस्थकर’ श्रेणीमा पुगेको छ। यस अवस्थामा अधिकारीहरूले सबै नागरिकलाई अत्यावश्यकबाहेक बाहिरी गतिविधिमा संलग्न नहुन आग्रह गरेको समाचारमा उल्लेख छ ।
सोमबार बिहान खुला रङ्गाशालामा फाइनल खेल आयोजना हुन लागेको न्यूयोर्क र छिमेकी न्यू जर्सीको महानगरीय क्षेत्रमा वायुको अवस्था संवेदनशील समूहका लागि हानिकारक हुन सक्ने बताइएको छ । यद्यपि, बिहीबारको तुलनामा वायुको अवस्थामा केही सुधार आएको छ। बिहीबार बाक्लो धुलो र धुवाँका कारण म्यानहटनको आकाश नै देखिन मुस्किल परेको थियो ।
यसैबीच, डेट्रोइट र सिकागो शहरको वायु गुणस्तर सूचकाङ्क 'खतरनाक' दायरामा पुगेको छ। विश्वको वायु प्रदूषण ट्र्याक गर्ने संस्था 'आईक्यूएयर'का अनुसार यी दुई शहर यतिबेला विश्वकै सबैभन्दा बढी प्रदुषित शहर बनेका छन्।
राष्ट्रिय मौसम सेवा (नेसनल वेदर सर्भिस) का मौसमविद्हरूले शनिबार बिहानसम्म धुवाँ अझै बाक्लो हुन सक्ने चेतावनी दिएका छन् ।
एनएफएलका न्यूयोर्क जायन्ट्स र जेट्स टोलीको घरेलु मैदानको रूपमा रहेको मेडोल्यान्ड्सको विशाल खुला रङ्गाशालामा हुने फाइनल खेलमा करिब ८० हजार दर्शक उपस्थित हुने अपेक्षा गरिएको छ।
अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा)ले डढेलोका कारण बिग्रेको वायुको गुणस्तरले हालको अवस्थामा विश्वकप फाइनल खेललाई कुनै खतरा नरहेको जनाएको छ । यसअघि शुक्रबार नै प्रतियोगिताका आयोजकहरूले आफूहरूले अवस्थालाई नजिकबाट नियालिरहेको बताएका थिए । 'यसबारे छलफल भइरहेको छ र राष्ट्रिय मौसम सेवाका एकजना प्रतिनिधि फिफाको मुख्यालयमै बसेर यसलाई नजिकबाट नियालिरहनुभएको छ,' ह्वाइट हाउस विश्वकप कार्यदलका कार्यकारी निर्देशक एन्ड्रयू जिउलियानीले एक ब्रिफिङका क्रममा भने।
यसै विषयमा छलफल गर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार नै फिफाका अध्यक्ष जियानी इन्फान्टिनोलाई भेट्ने कार्यक्रम तय भएको छ ।