
पूर्व–पश्चिम राजमार्गमा ट्रकले दुईवटा बसलाई ठक्कर दिँदा ८ जना घाइते भएका छन् ।
रौतहटको चन्द्रपुर नगरपालिका–४ दोस्रो लाच्कास्थित राजमार्गमा मापसे गरेका चालकले चलाएको ट्रकले बसलाई ठक्कर दिँदा ८ जना घाइते भएका प्रहरीले जनाएको छ ।
जनकपुरबाट गरुडातर्फ आउँदै गरेको म प्र ०२–००१ क ०८६७ नम्बरको ट्रकले काठमाडौंबाट धरानतर्फ जाँदै गरेका बा प्र ०३–००१ ख ५२८४ र बा प्र ०३–००१ ख ३६६० नम्बरको यात्रुवाहक बसलाई ठक्कर दिएको थियो ।
ठक्करपछि बा प्र ०३–००१ ख ३६६० नम्बरको बस सडकमा पल्टिएको थियो।
घाइते हुनेहरूमा धनुषाको धनुषाधाम नगरपालिका ९ बस्ने अन्दाजी ६० वर्षीय लालबहादुर तामाङ (ट्रक सहचालक), मकवानपुरको हेटौंडा उपमहानगरपालिका बस्ने अन्दाजी ४३ वर्षीय विकास पौडेल (बा प्र ०३–००१ ख ३६६० नम्बरको बस चालक) रहेका छन् ।
यसैगरी, सुनसरीका ४५ वर्षीय प्रदीप खड्का, सुनसरीको इनरुवा नगरपालिका २ बस्ने अन्दाजी ५७ वर्षीया निर्मलादेवी गुप्ता, मोरङको सुन्दरहरैँचा नगरपालिका ५ हरैता बस्ने अन्दाजी ४६ वर्षीया रितुवर्ण कार्की, सुन्दरहरैँचा नगरपालिका ५ हरैता बस्ने अन्दाजी ४४ वर्षीय मेघराज कार्की, सुनसरीको इटहरी उपमहानगरपालिका बस्ने अन्दाजी ३२ वर्षीय सफल मगर र मोरङको सुन्दरहरैँचा नगरपालिका ५ हरैता बस्ने अन्दाजी ५४ वर्षीया दिलमाया कार्की पनि घाइते भएका छन् ।
घाइतेहरूको विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनामा संलग्न ट्रक चालक महोत्तरी बर्दिबास नगरपालिका बस्ने अन्दाजी ३५ वर्षीय लालबहादुर मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उनको मादक पदार्थ सेवन गरेको पाइएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।