
चीनको नयाँ ऊर्जा गाडी (एनईभी) निर्माण गर्ने अग्रणी कम्पनी बीवाईडीले ‘बीवाईडी सेन्जेन’ सार्वजनिक गरेको छ ।
कम्पनीका अनुसार ‘बीवाईडी सेन्जेन’संसारकै ठूलो रोल–अन/रोल–अफ कार क्यारियर हो । यस जहाजले ९२०० गाडी बोक्न सक्ने क्षमता राख्ने र यो बीवाईडीको दिगो यातायात र अन्तर्राष्ट्रिय विस्तारतर्फको महत्त्वपूर्ण कदम भएको कम्पनीले जनाएको छ ।
चीनको जियाङ्सु प्रान्तको याङझाउमा निर्माण सम्पन्न भएर हालै पानीमा उतारिएको यो २१९ मिटर लामो र ३७.७ मिटर चौडा जहाज एलएनजी डुअल–फ्युल प्रविधि, बीवाईडीका अत्याधुनिक ब्याट्री प्याक र शाफ्ट जेनेरेटरद्वारा सञ्चालित छ । यी प्रविधिले ‘बीवाईडी सेन्जेन’ लाई संसारकै सबैभन्दा वातावरणमैत्री र कुशल कार क्यारियर बनाएको कम्पनी बताउँछ ।
‘बीवाईडी सेन्जेन’ले बीवाईडीको बढ्दो जहाजहरूको समूहमा स्थान पाएको छ । यसअघि ‘बीवाईडी एक्स्प्लोरर नं. १’, ‘बीवाईडी हेईफेई’ र ‘बीवाईडी चान्जाओ’ जस्ता जहाजहरूले ७, ००० देखि ९,२०० गाडी बोक्ने क्षमता राख्दै अन्तर्राष्ट्रिय बजारमा एनईभी आपूर्ति गरेका थिए ।
बीवाईडीले सन् २०२६ सम्म आफ्नो जहाज संख्या ८ पुर्याउने योजना बनाएको छ । जसले बढ्दो विश्वव्यापी माग पूरा गर्न सहयोग पुर्याउने कम्पनीको विश्वास छ ।
२०२४ मा, बीवाईडीले ४ लाख १७ हजार भन्दा धेरै विद्युतीय गाडी विदेश पठाएको छ । जुन अघिल्लो वर्षभन्दा ७२ प्रतिशत बढी हो । विद्युतीय गाडीको माग बढ्दै जाँदा, नयाँ प्रविधि, दिगो समाधान र बलियो आपूर्ति प्रणालीसँग अगाडि बढिरहेको बीवाईडीले जनाएको छ ।