निद्रासम्बन्धी समस्या आजको समाजमा निकै सामान्य बनिसकेको छ । शरीर र मानसिक स्वास्थ्यमा गम्भीर प्रभाव पार्ने यस समस्याका विभिन्न कारणहरू छन् ।
यदि तपाईंलाई पनि निद्रामा समस्या आइरहेको छ भने, त्यसका कारणहरू बुझेर केही सरल उपायहरू अपनाउन सक्नुहुन्छ जसले तपाईंको निद्रामा सुधार ल्याउन मद्दत पुर्याउन सक्छ ।
निद्रामा गडबडीको प्रमुख कारणहरूमध्ये पहिलो हो सुत्ने र उठ्ने समयको अनियमितता । हाम्रो शरीरमा हुने हर्मोनहरूको सन्तुलनले निद्रा र जाग्रत अवस्था नियन्त्रण गर्छ, जसलाई ‘सक्र्याडियन रिदम’ भनिन्छ ।
जब हामी निरन्तर एउटै समयमा सुत्न र उठ्न सक्दैनौं, तब हर्मोनहरूको असन्तुलनले निद्रा गडबड हुन सक्छ । अर्कोतर्फ, घुर्ने बानी भएका व्यक्तिहरूमा अक्सिजनको कमी र कार्वनडाइअक्साइडको वृद्धि हुन्छ, जसले उनीहरूलाई थुप्रैपटक ब्युँझाउन सक्छ, यद्यपि उनीहरूले यसलाई थाहा पाउँदैनन् ।
यसलाई 'स्लिप एप्निया सिन्ड्रोम' भनिन्छ । त्यस्तै, मोटोपन, थाइराइड समस्याहरू, डिप्रेसन, मधुमेह, प्रोस्ट्रेट समस्याहरू र लागूऔषध दुव्र्यसनजस्ता शारीरिक र मानसिक समस्याहरूले पनि निद्रामा खलल पुर्याउँछन् ।
उमेरसँगै पनि निद्रामा गडबडी आउन सक्छ । विशेषगरी २० वर्षको उमेरमा व्यक्ति दिनमा ८ घण्टा सुत्नुपर्छ, तर उमेर बढ्दै जान्छसँगै निद्रा घट्न थाल्छ ।
यद्यपि, उमेर अनुसार मस्तिष्कको परिपक्वतामा पनि फरक पर्न सक्छ र त्यसले निद्रामा असर पुर्याउन सक्छ ।
निद्रामा सुधार ल्याउनका लागि केही प्रभावकारी उपायहरू छन् । पहिलो, सुत्ने र उठ्ने समय नियमित बनाउनु महत्त्वपूर्ण छ । यसले शरीरको हर्मोनल सन्तुलनलाई सँगै राख्न मद्दत पुर्याउँछ ।
बेलुकी खाना खाइसकेपछि कम्तिमा दुई घण्टा आराम गरेर मात्र सुत्नुपर्छ, ताकि पाचन प्रणाली राम्रोसँग काम गर्न सकोस ।
यदि तपाईंलाई राति पानी पिउने बानी छ भने यसलाई कम गर्न प्रयास गर्नुहोस्, किनकि बारम्बार उठ्दा निद्रामा समस्या आउन सक्छ ।
घुर्ने समस्या भएका व्यक्तिहरूले सुत्ने क्रममा दायाँ वा बाँया सुत्न प्रयास गर्नुपर्छ, र दिउँसो सुत्ने बानी छोड्नु पनि महत्त्वपूर्ण छ ।
धूमपान, मद्यपान र लागूपदार्थको सेवनले पनि निद्रामा खलल पुर्याउन सक्छ, त्यसैले यसलाई हटाउनु उपयुक्त हुन्छ ।
स्वस्थ आहार र नियमित व्यायामले पनि निद्रामा सुधार ल्याउन मद्दत गर्छ, साथै मोटोपन घटाउने प्रयास गर्दा पनि निद्रामा सुधार आउने सम्भावना बढी हुन्छ ।
समग्रमा, यी उपायहरू अपनाएर निद्रामा सुधार ल्याउन सकिन्छ र जीवनशैलीमा सकारात्मक परिवर्तन गर्न मद्दत पुर्याउन सक्छ ।