
भोजपुरको पौवादुङमा गाउँपालिकाले ‘आफैं पाल्दै, आफैं खाँदै’ कार्यक्रम अन्तर्गत गर्भवती तथा सुत्केरीलाई कुखुरा वितरण गरेको छ ।
गर्भवती तथा सुत्केरीको पोषणलाई ध्यानमा राख्दै गाउँपालिकाले कुखुरा वितरण गरेको जनाएको छ । कार्यक्रम अन्तर्गत पौवादुङमाका ६ वटै वडामा रहेका गर्भवती तथा सुत्केरीलाई एक/एक वटा भाले, दुई वटा पोथी कुखुरा वितरण गर्दै आइएको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिए ।
वितरण गरिएको कुखुरा पालेर उनीहरूले आवश्यक रूपमा अण्डा, मासुको रूपमा प्रयोग गर्न सक्ने अध्यक्ष राईको भनाइ छ ।
गाउँपालिकाले सुत्केरी, गर्भवती र नवजात शिशुको स्वास्थ्यलाई लक्षित गरेर यो कार्यक्रम नियमित रूपमा सञ्चालन गरिरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले बताए ।
कार्यक्रम अन्तर्गत वर्षमा एकपटक कुखुरा वितरण गरिने गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले बताइन् । वितरण गरिएको पोथी भने उनीहरूले दुई वर्षसम्म पाल्नुपर्ने नियम छ ।
गर्भवतीले प्रत्येक पटक स्वास्थ्य संस्थामा जाँच गराएवापत एक क्यारेट अण्डासमेत वितरण भइरहेको उपाध्यक्ष राईले बताइन् ।
कार्यक्रमअन्तर्गत सोमबार पौवादुङमा पाँच सानोदुम्माका १२ जना गर्भवती तथा सुत्केरीलाई एक/एक वटा भाले र दुई वटा अण्डा दिने पोथी वितरण गरिएको छ ।