०२ असार २०८३, मंगलबार
गुण्डागर्दीको फेरिँदो रूप

सुषुप्त 'गुण्डागर्दी' फेरि सल्बलाउन थाल्यो : प्रभुत्व देखाउन सामाजिक सञ्जालमा तडकभडक

माघ २५, २०८१
काठमाडौं
सुषुप्त 'गुण्डागर्दी' फेरि सल्बलाउन थाल्यो : प्रभुत्व देखाउन सामाजिक सञ्जालमा तडकभडक

एक समय काठमाडौं उपत्यकामा ‘गुण्डाहरूको जगजगी’ थियो । उनीहरूका विभिन्न समूह थिए । ठमेल र दरबारमार्गका डान्सबार तथा दोहोरी, रेष्टुरेन्ट र पबमा उनीहरूको गुण्डागर्दी चल्थ्यो । चन्दा असुली, फिरौती र अपहरणका ठूल्ठूला घटना बाहिर आउँथे । कहिलेकाही व्यक्ति हत्यासम्मका घटना हुन्थे । 

काठमाडौंको ‘गुण्डागर्दी’ सम्झिन दुई दशक अघिको एउटा घटना पुनःस्मरण गरे पुग्छ । घटना २०६१ वैशाख ३१ गतेको हो ।  काठमाडौंको पानीपोखरीस्थित चाइनिज चुफाङ रेष्टुरेण्टमा राजिव गुरुङ उर्फ (दीपक मनाङे) समूहले मिलन गुरुङ उर्फ (चक्रे मिलन)माथि तरबार प्रहार गरेको थियो । हप्ता र मासिक असुलीमा खोसाखोस भएपछि मनाङे समूहले चक्रेमाथि तरबार प्रहार गरेको थियो । 

२० वर्ष अघिको मुद्दाको अन्तिम छिनोफानो गत कात्तिक २० गते मात्रै भएको थियो । ज्यान मार्ने उद्योग कसुरमा सर्वोच्च अदालतले मनाङेलाई दोषी ठहर गरेको थियो । सर्वोच्चको फैसलासँगै उनी हाल डिल्लीबजार सदरखोरमा कैद जीवन बिताइरहेका छन् । 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको ‘नोटिस’मा चक्रे अहिले संगठित गुण्डागर्दीमा छैनन् । आफैंलाई ‘थ्रेट’ महसुस गरेर उनी ८/१० जनाको समूहमा हिँड्दै आएका छन् । उनको समूहले विभिन्न ठाउँमा आउजाउ गरेको र खाना/खाजा खाँदै गरेको भिडियो सामाजिक सञ्जाल टिकटकतिर पोस्ट गरिरहेको देखिन्छ । 

०००
२०६७ जेठ ४ मा बीपी कोइराला क्यान्सर अस्पताल भरतपुरका तत्कालीन कार्यकारी निर्देशक डा. भक्तमान श्रेष्ठको अपहरण भएको थियो । १९ दिन बन्धक बनाइएका श्रेष्ठ एक करोड १० लाख बराबर मूल्य पर्ने सुन बुझाएपछि अपहरणमुक्त भएका थिए । सुन बुझाउन श्रेष्ठका आफन्त र एक जना प्रहरी भारतमै पुगेका थिए । 

कुनै समय काठमाडौंमा दिनेश अधिकारी ‘चरी’ र कुमार श्रेष्ठ उर्फ ‘घैंटे’को दबदबा थियो । उनीहरू चन्दा असुली, फिरौती र जबरजस्ती धम्क्याएर व्यवसायीबाट रकम असुल्थे । 

नेकपा (एमाले) निकट चरी र नेपाली कांग्रेस निकट घैंटेको गिरफ्तारी रोक्न पार्टीका नेतादेखि उच्च पदस्थले समेत प्रहरीलाई निर्देशन दिन्थे । तर, प्रहरीले रंगेहात पक्राउ गर्ने योजना बनाउँदै गयो । २०६८ बैशाखमा नागढुंगाबाट चरीलाई पक्राउ गरियो । व्यवसायीलाई धम्की दिएर गुन्डागर्दी गर्दै हिँडेका उनलाई धादिङमा १७ करोड रुपैयाँ बराबरको टेन्डर मिलाएर फर्किने क्रममा पक्राउ गरेको थियो । गाडीमै तरबार र खुकुरी लिएर हिँडेका चरी पछि धरौटीमा छुटे । 

धादिङको खहरे घर भएका उनी एमाले धादिङ क्षेत्र नम्बर १ का तत्कालीन उपाध्यक्षसमेत थिए । आपराधिक पृष्ठभूमिका चरीमाथि गोलीकाण्ड, फिरौती र लुटपाटका अभियोग पनि थिए । ७ महिना जेल बसेर छुटे पनि उनले गुण्डागर्दीलाई छाडेनन्, उल्टो बढावा दिए । एमालेकै एक नेतासँग रकम बार्गेनिङ नमिल्दा चरीको ओरालो यात्रा शुरू भयो । 

२०७१ साउनमा तत्कालीन काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख पुष्कर कार्की (हाल एआइजीबाट अवकाश)को कार्यकालमा नागर्जुन नगरपालिकाको भीमढुंगामा इन्काउन्टरमा चरी मारिए । घटनाको धादिङका तत्कालीन एमालेका नेता (हाल नेकपा समाजवादी)का वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले संसद्मा विरोध जनाएका थिए । 

चरी मारिएपछि केही हदसम्म काठमाडौं उपत्यका र आसपासका जिल्लामा गुण्डागर्दी सुषुप्त अवस्थामा रह्यो । चरी मारिएपछि ‘घैंटे’को दबदबा शुरू भयो । प्रहरीले घैंटेलाई ग्लोबल पोजिसनिङ सिष्टम (जीपीएस) ट्रयाकर पनि राख्यो । जीपीएस ट्रयाकर हटाइदिन नेपाली कांग्रेस नुवाकोटका नेता दाजुभाई अर्जुन नरसिंह केसी र जगदिश नरसिंह केसी अपराध अनुसन्धान कार्यालयमै पुगेका थिए । 

प्रहरीले घैंटेलाई धेरै सम्झाइ बुझाइ गर्‍यो । उनी सुध्रिएनन् । गुण्डागर्दी छाडेनन् । अनुसन्धान कार्यालयका तत्कालीन प्रमुख सर्वेन्द्र खनाल (आइजीपीबाट अवकाशप्राप्त)को कार्यकालमा २०७३ भदौमा सामाखुसीमा आफ्नो घर बाहिरै प्रहरी ईन्काउण्टरमा मारिए । यो घटनालाई लिएर कांग्रेसका नेताहरूले संसद् र सडकमै विरोध जनाएका थिए ।

‘राजनीतिको अपराधीकरण’ र ‘अपराधको राजनीतिकरण’ भएको यी दुई घटनामा नेताहरूले प्रहरी ‘अपरेसन’माथि प्रश्न मात्रै उठाएनन् । मानव अधिकार आयोगमा समेत घटना छानबिनको उजुरी दिएका थिए । 

काठमाडौंमा हुने गुण्डागर्दी नियन्त्रणका लागि प्रहरीका यी दुई ईन्काण्टरपछि गुण्डागर्दी कम हुने विश्वास थियो । झण्डै एक वर्ष गुण्डाहरूको भागाभाग नै भयो । प्रहरीको निर्मम कारबाहीपछि आपराधिक पृष्ठभूमिका व्यक्तिहरूले वैकल्पिक पेशा रोज्न थाले ।

नाम चलेका गुण्डाहरू साजन महर्जन, राधे भण्डारी, बाघबहादुर लामा, गणेश लामालगायतले तत्काललाई आफ्ना काम बन्द गरे । 

०००
तर, २०७४ असोजमा शान्तिनगरमा निर्माण व्यवसायी शरद गौचनको गोली प्रहारबाट हत्या भयो । केन्द्रीय अनुसन्धान ब्यूरो, अपराध अनुसन्धान कार्यालय, जिल्ला प्रहरी परिसर टेकुका प्रहरी टोली अनुसन्धानमा खटिए । ठेक्कापट्टाको चन्दा दिन नमानेपछि गौचनको हत्या भएको थियो । 

प्रहरीले गौचन हत्याका मुख्य योजनाबार समिरमान सिंह बस्न्त्यानलगायतलाई नियन्त्रणमा लिन सफल भयो । भारतबाट ल्याएका बस्न्त्यान र केही प्रहरी अधिकारीको कनेक्सन देखिएकै कारण उनलाई मुद्दा चलेको निकाय जिल्ला परिसर काठमाडौंमा नराखी सीआइबीमा राखियो । प्रहरी अधिकारीबाटै विरोध भएपछि परिसरमा लगेर बयान लिइएको थियो । भारतीय नम्बरबाट गौचनलाई फोन गरेर ठेक्कापट्टाको भागवण्डा माग गरेका बस्न्त्यातबाट प्रहरीले कर्तव्य ज्यान मुद्दा चलायो । उनी अहिले कारागारमा जेल जीवन बिताइरहेका छन् । 

बस्न्त्यातसँग कनेक्सनमा रहेका गुण्डा नाइके मनोज बुढामगर उर्फ मनोज पनि ईन्काउन्टरमै मारिए । युवा संघ रूपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्या जिम्मा लिएका उनलाई प्रहरीले पटकपटक आत्मसमर्पण गर्न सम्झाउँदा उनी लुकेर बसेका थिए । रुपन्देहीका तत्कालीन प्रहरी प्रमुख श्यामलाल ज्ञवाली (एआइजीबाट अवकाशप्राप्त)को कार्यकालमा तत्कालीन डीएसपी कुमोद ढुंगेल (हाल एसपी)को नेतृत्वमा २०७४ फागुनमा पुनको इन्काउन्टर गरिएको थियो । 

‘चरी, घैंटे र पुन प्रहरी इन्काण्टरमा मारिएपछि काठमाडौंमा संगठित गुण्डागर्दी गर्ने समूह तितरवितर मात्रै भएनन, उनीहरूले आफ्नो कार्यशैलीलाई नै परिवर्तन गरेको देखिन्छ,’ अनुसन्धान कार्यालयका पिलर ४ (गुण्डागर्दी हेर्ने पिलर)का एक अधिकृतले लोकान्तरसँग भने, ‘अहिले कोही आफैं ठेक्कापट्टामा लागेका छन्, कोही राजनीतिमा लागेका छ्न् त कोही होटल व्यवसायमा लागेका छन् ।’ ती अधिकृतका अनुसार एक दशक अघिको जस्तो देखिनेगरी गुण्डागर्दी अहिले उपत्यकामा छैन । 

काभ्रेली गुण्डा नाइके गणेश लामा अहिले कांग्रेसको राजनीतिमा छन् । जितेन्द्रमान तामाङ उर्फ दावा लामा काभ्रेको भुम्लु गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित भए । राधे भण्डारी धादिङमै ठेक्कापट्टामा छन् । बाघे आफ्नै ठेक्कापट्टा र प्लटिङ व्यवसायमा छन् । राजु गोर्खाली बालुवा खानीमा ठेक्कापट्टा गर्छन् । ‘पुराना र नाम चलेका गुण्डाहरू अहिले आ–आफ्नै पेशामा आवद्ध छन्, उनीहरूले जबरजस्ती चन्दा असुली गरेको वा फिरौती मागेको सूचना प्रहरीमा आएको छैन,’ अनुसन्धान कार्यालयका ती अधिकृतले भने, ‘तर, पनि हामीले उनीहरूको निगरानी गर्न छाडेका छैनौं ।’ 

सात जनालाई किन पक्राउ गरियो ?
यसैबीच बुधबार अनुसन्धान कार्यालयले ७ जनालाई काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखा घर भएर चाबहिल बस्ने गोपाल मोक्तान, गोरखा आरुघाट घर भएर गोंगबु बस्ने सुमन पराजुली, धादिङ घर भएर गोंगबु बस्ने रोमन आलेमगर, तनहुँ घर भएर गोंगबु बस्ने गुनबहादुर गुरुङ, सोही ठाँउ बस्ने मनोहर थापामगर, गोरखा आरुघाट घर भएर गोंगबु बस्ने पदमबहादुर मगर र काभ्रेको रोशी-७ का रोशन तामाङ हुन् । ​

उनीहरूमध्ये मोक्तान नेपाली कांग्रेस र अन्य ६ जना एमाले समर्थित हुन् । उनीहरूले सामाजिक सञ्जाल फेसबुक र टिकटकमा तरबार, खुकुरी प्रदर्शन गर्दै केक काटेर फोटो तथा भिडियो अपलोड गरेका थिए । उक्त फोटो र भिडियोले समाजमा अशान्ति पैदा गर्ने र आतंक सिर्जना गर्ने भएकाले अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश बस्नेतले यो घटनाक्रमसँगै अब उपत्यकामा गुण्डागर्दीविरुद्ध अपरेसन शुरू भएको बताए । ‘म ईन्सपेक्टर, डीएसपी र एसपी हुँदा पनि काठमाडौंका विभिन्न कार्यालयमा रहेर काम गरें, हिजोको गुण्डागर्दी र आजको गुण्डागर्दी फेरिएको पाएको छु,’ एसएसपी बस्नेतले लोकान्तरसँग भने, ‘अहिले पहिलेजस्तो फोनमा धम्की दिएर चन्दा असुलीका घटना छैनन्, यसैगरी सामाजिक सञ्जालमा आफ्नो प्रभुत्व रहेको देखाउने र अरुलाई तर्साएर असुली गर्ने क्रम बढेको छ ।’ 

पक्राउ मध्येका सातै जनाको लगाइखुवाई र हाउभाउ सामान्य सर्वसाधरणभन्दा ‘एलिट’ देखिन्छ । आतंक सिर्जना गरेर तरबार र खुकुरी नचाउँदै असभ्य शैलीमा केक काटेको भिडियो फेसबुक र टिकटकमा राखेपछि अनुसन्धान कार्यालयले आवश्यक अनुसन्धानका लागि पक्राउ गरेको हो । 

‘कसैले के लगायो र के खायोसँग हाम्रो सरोकार होइन तर, शैली ठीक हुनुपर्यो,’ बस्नेत भन्छन्, ‘अब यस्ता गतिविधिमा हाम्रो निगरानी रहन्छ, अनुसन्धानका लागि पक्राउ गरिन्छ र उनीहरूको विगत र वर्तमान केलाइन्छ ।’ 

पक्राउ मध्येका गोपाल मोक्तानले आफ्नो दोलखामा ढुंगा खानी रहेको र सुमन पराजुलीले ऊन व्यवसायी रहेको बयान प्रहरीमा दिएका छन् । तर, प्रहरीले उनीहरूको विगततर्फ पनि अनुसन्धान गर्ने एसएसपी बस्नेतले जानकारी दिए । 

पछिल्लो पटक सामाजिक सञ्जालमा हेर्दै अस्वाभाविक लाग्ने र गुण्डागर्दी शैली देखिने खालका भिडियोहरू पोष्ट भइरहेका छन् । यस्ता हरेक पोष्टमा प्रहरी अनुसन्धान अगाडि बढ्ने अनुसन्धान कार्यालयले जनाएको छ । ‘ग्याङ बनाएर हिँड्ने, तरबार र खुकुरी नचाउने र व्यवसायी वा अन्यलाई हेर हाम्रो ताकत भन्दै चन्दा पो उठाइरहेका छन् कि ?,’ उनी भन्छन्,‘ फेरिँदो गुण्डागर्दी शैलीमाथि हाम्रो निरन्तर निगरानी रहन्छ ।’

salt training

कमेन्ट गर्नुहोस्