
नेपाल बैंक तथा वित्तीय क्षेत्रका संघ संस्थाहरूले बैंक तथा वित्तीय क्षेत्र पारदर्शी र सुरक्षित रहेको स्पष्ट पारेका छन् ।
नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले शुक्रबार संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै बैंकिङ क्षेत्रमा देखिएका अराजक गतिविधिबारे प्रस्टीकरण दिएका हुन् ।
केही अराजक गतिविधिहरू बैंकिङ क्षेत्रलाई खलबलाउन सक्रिय रहेको उल्लेख गर्दै उनीहरूले सामाजिक सञ्जालमा फैलाइएका गलत र भ्रामक सूचना प्रति ध्यान नदिन आग्रह गरेका छन् ।
अन्तर्राष्ट्रिय बैंकिङ सिद्धान्त र नेपाल राष्ट्र बैंकका नीतिहरूको पूर्ण पालना गर्दै बैंकिङ क्षेत्र उदाहरणीय बनेको संघ संस्थाहरूको दाबी छ ।
निक्षेपकर्ताहरूको रकम सुरक्षित रहेको र व्यक्तिगत खातामा रहेको ५ लाख रुपैयाँसम्मको बचत तथा मुद्दती निक्षेप सरकारद्वारा स्थापित 'निक्षेप तथा कर्जा सुरक्षा कोष'मार्फत सुरक्षित रहेको विज्ञप्तिमार्फत जानकारी दिइएको छ ।
गलत अभिव्यक्ति दिने, समाजलाई त्रसित पार्ने तथा बैंकिङ सेवाबाट वञ्चित गराउने कार्य कानूनी दायरामा ल्याउन विज्ञप्तिमार्फत सरकारलाई आग्रह गरिएको छ।
बैंकिङ क्षेत्रलाई विश्वास, सद्भाव र सहयोग पुर्याउने ग्राहक तथा सरोकारवालाप्रति आभार व्यक्त गर्दै, आगामी दिनमा सेवा सुधार्ने उनीहरूको प्रतिबद्धता छ।
