
कुनैबेला धनगढी–डडेल्धुरा सडक निर्माणको धुलोमा हिँड्दै गर्दा इन्जिनियर बन्ने सपना देखेका उनी अहिले आकाशमा १४ हजार घण्टा विमान उडाएर नेपाली उड्डयन इतिहासमै सबैभन्दा अनुभवी पाइलटको रूपमा आफ्नो नाम दर्ज गर्न सफल भएका छन् । उनी हुन् क्याप्टेन वेद उप्रेती ।
क्याप्टेन वेद उप्रेतीको यात्रा सडकको धुलोबाट शुरू भएर अन्तर्राष्ट्रिय आकाशसम्म पुगेको छ । धनगढी–डडेल्धुरा राजमार्ग ती हजारौं यात्रीका लागि सधैँ यात्रा गर्ने बाटो रह्यो, तर वेद उप्रेतीका लागि त्यो मार्ग जीवनको परिभाषा बदल्ने प्रेरणाको स्रोत बन्यो ।
बाल्यकालमा यही बाटो अनेकौं पटक हिँड्दा, धुलो र पसिनासँग खेल्दा उनले देखेका सपना केवल आँखामा ढकमक्क भरिएका कल्पना मात्र थिएनन्। ती सपना हावासँगै फैलिएका थिए, पहाडका उकालो–ओरालोहरूसँगै परिपक्व बन्दै गएका थिए ।
कैलालीको गोदावरीमा जन्मेका उप्रेती बाल्यकालमै डडेल्धुराको हटगाउँमा पुगे । पाँच–सात वर्षको उमेरमा धनगढी–डडेल्धुरा सडक हिँडेर पार गरेका ती दिनहरू सम्झँदा अहिले पनि उनको मन रोमाञ्चित हुन्छ। यही यात्राले उनलाई भविष्यको बाटो देखाइदियो। यो केवल व्यक्तिगत सफलताको कथा होइन, समर्पण, सपना र सामाजिक उत्तरदायित्त्वको प्रेरक गाथा हो।
सडकको धुलोले जगाएको आकाशी सपना
डडेल्धुराको हटगाउँमा बाल्यकाल बिताएका उप्रेतीले ५–७ वर्षकै उमेरदेखि धनगढी–डडेल्धुरा सडक निर्माणको चर्चा सुने । ‘६ दिन हिँडेर यात्रा गर्ने बेला मैले इन्जिनियरहरूलाई हेरेँ । उनीहरूको कामले मलाई सडक बनाउने सपना देखाए’, उनी भन्छन् ।
तर, भाग्यले उनलाई इन्जिनियरको सट्टा पाइलट बनाउने ठान्यो। २०२९ सालमा पहिलो गाडी डडेल्धुरा पुग्दा उनको सपनाको विमान पनि उड्न थालिसकेको थियो। महेन्द्रनगरमा विज्ञान पढ्दै गर्दा उनले इन्जिनियर बन्ने लक्ष्य राखे। तर, समयले उनलाई आकाशतर्फ डोर्यायो।
नेपाली सेनामा सेकेन्ड लेफ्टिनेन्टका रूपमा प्रवेश गरेपछि उनको जीवनले नयाँ मोड लियो। भारतको नेशनल डिफेन्स एकेडेमी र हैदरावादस्थित इन्डियन एयरफोर्स एकेडेमीमा तालिम लिँदै गर्दा उनले पाइलट बन्ने सपना देखे।
१४ हजार घण्टाको उडान, फाइटर प्लेनबाट एयरबससम्म
सेनामा १२ वर्ष बिताएपछि उनले व्यावसायिक पाइलट बन्ने निर्णय गरे। नेकोन एयर, एयर डेक्कन, किंगफिसर हुँदै लायन एयरसम्मको यात्रा तय गरे। अहिले उनी भारतको एलायन्स एयरमा क्याप्टेनका रूपमा कार्यरत छन्।

१४ हजार घण्टा आकाशमा बिताएका उप्रेती भन्छन्, ‘यदि म त्यति बेला धनगढी–डडेल्धुरा सडकमा हिँडेको थिइनँ भने सायद म पाइलट बन्ने कल्पना समेत गर्ने थिइनँ।’
नेपाली सेनाबाट उड्डयन क्षेत्रमा कदम राखेका उप्रेतीले भारतको नेशनल डिफेन्स एकेडेमीमा फाइटर प्लेन उडाउन सिके। नेकोन एयर, एयर डेकोन, लायन एयर (इन्डोनेसिया) जस्ता एयरलाइन्समा क्याप्टेनको हैसियतले विमान चलाए।
लायन एयरमा नयाँ पाइलटहरूलाई उडान तालिम दिएर उड्डयन क्षेत्रमा नयाँ पुस्ता तयार गरे। ‘मैले नेपाली आकाशमा पाँच हजार घण्टा उडान भरेको छु। यो मेरो जन्मभूमिप्रतिको समर्पण हो’, उप्रेतीले भने ।
विमानभित्रै सङ्ग्रहालय, विश्वकै अनुपम प्रयास
विमानहरूलाई केवल यात्रा वा उडानका लागि प्रयोग गरिन्छ भन्ने सोचलाई उनले तोडे। उनले पुरानो जहाजलाई भत्काउनुको साटो त्यसलाई नेपालकै पहिलो हवाई सङ्ग्रहालय बनाए। धनगढीमा स्थापित यो सङ्ग्रहालय अहिले महेन्द्रनगरमा सारिएको छ।
त्यस्तै, काठमाडौंको सिनामंगलमा रहेको एभिएसन म्युजियम पनि उनकै पहलमा स्थापना भएको हो। टर्किस एयरको अवतरण क्रममा ग्राउन्डेड भएको एयरबस–३३० लाई उनले सङ्ग्रहालयमा परिणत गरे।
क्याप्टेन उप्रेतीले गरेको ‘एयरक्राफ्ट म्युजियम’ नेपालको गौरव हो। पुरानो विमान किनेर बनाएको यो सङ्ग्रहालयले पर्यटकलाई आकर्षित गरेको छ ।
जहाँ पर्यटकले पाइलटको युनिफर्म लगाएर ककपिटमा फोटो खिच्न सक्छन्। देश–विदेशबाट जुटाएका १०० भन्दा बढी दुर्लभ विमानका पार्ट्स र फोटो प्रदर्शित छन्।

ग्राउन्डेड विमानलाई ७ करोड खर्चमा सङ्ग्रहालयमा रूपान्तरण गरेर उड्डयन प्रेमीहरूको मन जित्ने काम गरेका छन् ।
पुस्तक र ट्रस्टः सुदूरपश्चिमका लागि हृदय
वेद उप्रेतीको जीवन केवल उड्डयनसम्म सीमित छैन। उनले ‘वेद उप्रेती ट्रस्ट’ स्थापना गरी सुदूरपश्चिमका क्यान्सर पीडितहरूलाई सहयोग गर्दै आएका छन्। उनले लेखेको ‘दुर्गम विस्मयलोक : भूस्वर्गको परिकल्पना सुदूरपश्चिम नेपाल’ पुस्तकको आम्दानी पनि सामाजिक कार्यमै लगानी हुने उनको भनाइ छ।
उप्रेतीको सामाजिक पहल उनको उडानभन्दा पनि गहिरो छ । १० वर्षको शोधपछि प्रकाशित पुस्तकले सुदूरपश्चिमको पर्यटन सम्भावना र सुन्दरतालाई विश्वसमक्ष राखेको छ।
आकाशमा उड्दा पनि उनको मन सधैँ डडेल्धुराको पहाडमा बस्छ। फर्कने बाटो खोज्छ ।
लोकल ‘ब्वाय’देखि ‘ग्लोबल हिरो’सम्म
‘सपना देख्नु र त्यसलाई पछ्याउनु जीवनको विज्ञान हो’, ४७ वर्षीय उप्रेती भन्छन् । अहिले हाल भारतको एयरलाइन्स एयरमा क्याप्टेन छन्। तर, उनी आफूलाई ‘डडेल्धुराको छोरा’ भन्न रुचाउँछन्।
धनगढी–डडेल्धुरा सडक हुँदै पहाड चढ्दै गरेका सानो वेदले कुनै दिन आकाश चुम्ने कुरा कसैले सोच्न सकेको थिएन। तर, दृढ इच्छाशक्ति, मेहनत र आत्मविश्वासले उनलाई हजारौं फिट माथिको उचाइमा पुर्यायो।
उनको जीवन केवल सफलताको कथा मात्र होइन, त्यो एक प्रेरणादायी यात्रा हो । जसले सपना देख्न र तिनलाई साकार पार्न सिकाउँछ ।
क्याप्टेन वेद उप्रेतीको कथा एउटा ‘लोकल ब्वाय’को ‘ग्लोबल हिरो’ बन्ने कहानी हो। उनले आफ्नो सपनालाई पखेटा लगाए, तर आफ्नो जरा कहिल्यै बिर्सिएनन् ।