
राष्ट्रिय स्वतन्त्र पार्टीको लुम्बिनी प्रदेश अधिवेशनमा सभापति पदमा कुनै पनि उम्मेदवारले स्पष्ट बहुमत प्राप्त नगरेपछि फेरि मतदान हुने भएको छ ।
सभापति पदका लागि ६ जनाबीच प्रतिस्पर्धा भएको थियो । तर कसैले पनि स्पष्ट मत प्राप्त नगरेकाले धेरै मत ल्याउने दुई जनाबीच आइतबार पुनः मतदान गरिने मुख्य निर्वाचन अधिकृत गोकुल सापकोटाले जानकारी दिए ।
सभापति पदका लागि ६ जनाबीच भएको प्रतिस्पर्धामा रुपन्देहीका मञ्जु भुसालले ७१, बाँकेका डा.राजकुमार सुवेदीले ८०, रुपन्देहीका मधुप्रसाद अर्यालले १९, रुपन्देहीका शालिकराम घिमिरेले १ सय ९९, अर्घाखाँचीका गोपाल घिमिरेले ८७ र रुपन्देहीका गणेश पौडेलले ८४ मत प्राप्त गरेका छन् ।
धेरै मत प्राप्त गर्ने अर्घाखाँचीका गोपाल घिमिरे र रुपन्देहीका शालिकराम घिमिरेबीच प्रतिस्पर्धा हुने निर्वाचन अधिकृत सापकोटाले जानकारी दिए । शनिबार साँझ सम्पन्न मतदानमा पाँच सय ५२ मत खसेको थियो ।