०४ साउन २०८३, सोमबार
‘याम सर’ले हाँकेको नमूना स्कूल

विद्यार्थीको मूल्यांकनका लागि साप्ताहिक परीक्षा, जंकफूडदेखि मोबाइल प्रतिबन्ध

माघ २६, २०८१
सुर्खेत
विद्यार्थीको मूल्यांकनका लागि साप्ताहिक परीक्षा, जंकफूडदेखि मोबाइल प्रतिबन्ध

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको बीचमा अवस्थित छ, प्रदेशकै चर्चित विद्यालय जन नमूना माध्यमिक विद्यालय । वीरेन्द्रनगर-६ को पीपल चौतारा नजिकै रहेको यो विद्यालय २००८ मा स्थापना भएको हो ।

तत्कालीन दैलेख जिल्ला अन्तर्गत पर्ने गढीमा स्थापना भएको यो विद्यालय सुर्खेत जिल्लाको रूपमा अस्तित्वमा आएसँगै वीरेन्द्रनगर सारियो । झण्डै ३२०० विद्यार्थी अध्ययन गरिरहेका यो विद्यालयमा बालविकासदेखि कक्षा १२ सम्म अध्ययन अध्यापन गराइन्छ ।

बालविकासदेखि कक्षा १२सम्मै नेपाली र अंग्रेजी भाषामा अध्यापन हुने यो विद्यालयमा विद्यार्थी भर्नाका लागि ‘मन्त्रीदेखि मुख्यमन्त्री’सम्मले ‘भनसुन’ गर्ने गरेका छन् ।

यो विद्यालयमा कक्षा ६ देखि हरेक वर्ष नयाँ विद्यार्थी भर्ना लिने गरिएको छ । विद्यालयमा भर्ना हुन चाहनेहरूको संख्या हरेक वर्ष हजारौंको दरमा बढिरहेको छ । उदाहरणका लागि चालु शैक्षिक सत्रमा विद्यालयले ७३५ नयाँ विद्यार्थी भर्ना लिँदा भर्ना हुन आवेदन भने २७०० को परेको थियो ।

यही विद्यालयको प्रधानाध्यापकका रूपमा कार्यरत छन्, यामबहादुर श्रेष्ठ । बिहानदेखि साँझसम्मै विद्यालयमा खटिने श्रेष्ठले राजनीतिक शास्त्रमा स्नातकोत्तर गरेका छन् । जसले विद्यालयलाई नमूना विद्यालय बनाउन अथक मिहिनेत गरेका छन् ।

२०२८ साल माघ २७ गते वीरेन्द्रनगर-७, इत्राममा जन्मिएका श्रेष्ठले कक्षा ३ सम्म हालको संस्कृत माध्यमिक विद्यालय, ४ देखि एसएलसीसम्म नेवारेमा रहेको अमरज्योति माध्यमिक विद्यालय र त्यसपछि आईए, एमए सुर्खेत बहुमुखी क्याम्पस, बीएड काठमाडौं शिक्षा क्याम्पस र एमएड सुर्खेत बहुमुखी क्याम्पसबाट उत्तीर्ण गरेका हुन ।

घरको एक मात्र छोरा भएका कारण उनले अध्ययन गर्ने मौका पाए । उनीपछि उनका तीन दिदीबहिनी छन् । कक्षा १ देखि ३ सम्म अध्ययन गर्दा उनी पढाइमा भने त्यति अब्बल थिएनन् । उतिबेला खरीले स्लेट बोर्डमा लेख्ने चलन थियो । विद्यालयमा डेस्क बेन्च केही पनि थिएनन् । उनी घरबाट चकटी लिएर विद्यालय जान्थे । त्यतिबेला उनीहरूले विद्यालयको भवन निर्माण गर्न ढुंगा बोक्नेसम्मको काम गरे ।

‘एकदिन एक जना सरले मेरो कान नराम्ररी बटार्नु भयो । कानबाट अलिकति रगत पनि निस्कियो । म रुँदै घरमा गएँ । घरमा गएर बज्यैलाई भनेँ, बज्यै विद्यालयमा आएर शिक्षकलाई झपार्नु भयो’, ती दिन स्मरण गर्दै उनी भन्छन्, ‘त्यतिबेला कापी, किताब नपाइने हुँदा सरले भनेको आधारमा पढ्नुपर्ने र परीक्षा दिनुपर्ने प्रचलन थियो । एक म्याडमले स्वास्थ्य पढाउनुहुन्थ्यो । उहाँले धेरै पिट्ने भएका कारण अधिकांश दिन उनको कक्षामा नै गएन ।’

कक्षा चारमा अध्ययन गर्न उनी नेवारे गए । नेवारे र हालको जन मावि जान उनको घरबाट उत्तिकै दूरी थियो । त्यहाँ उनका काकाले पढाउने भएका कारण घरबाट उनी अमरज्योति मावि नेवारेमै भर्ना भए । 

‘उतिबेला झोलामा किताब लिने चलन थिएन । हामीसँग झोला नै हुन्थेन । कालुन्चोक एअरपोर्ट हुँदै खेतैखेतको आलीमा हिँडेर जानुपर्थ्यो । किताब कापी हातमा समातेर जानुपर्ने अवस्था थियो’, श्रेष्ठले भने ।

null

एकदिन उनी भावर भन्ने स्थानमा खेतको आलीबाट चिप्लेर पोखरीमा खसे । सबै किताब कापी भिजे भने उनले लगाएका लुगाहरू हिलाम्मे भए ।

‘त्यसपछि म त्यो दिन विद्यालय गइनँ  । सरले पिट्ने भय थियो । तीन दिनपछि मात्रै गएँ । त्यतिबेलासम्म किताब कापी र आफ्नो ड्रेस सुकाएँ’, उनले भने, ‘त्यसबेला चारै कक्षाबाट पाँच सात रूपैयाँ शुल्क लिने चलन थियो । अभिभावकले विद्यालयमा गएर शुल्क बुझाउने गर्थे ।’ 

शुल्क बुझाउन ढिला गरे शिक्षकहरूले कक्षामा शुल्क नल्याएको भन्दै नाम सुनाउँथे । त्यो नाम आएको खण्डमा ‘लाज’ हुन्थ्यो । त्यही भएर उनी सात दिनसम्म विद्यालय नगएको इतिहास पनि छ । 

विद्यालयमा कक्षा कोठा लिप्नुपर्ने चलन थियो । छात्राले कक्षाकोठा साताको दुई दिन बढार्ने र लिप्ने तथा छात्रले पानी ल्याउनेदेखि माटो र गोबर ल्याउनुपर्ने नियम थियो । ‘विद्यालयको वरिपरि मगर बस्ती थियो । त्यहाँ गोबर मागेर पाइन्थेन । त्यत्रो ठूलो विद्यालयका लागि गोबर दिन उनीहरू चाहन्नथे । हामीलाई भने गोबर नभई नहुने । त्यसका लागि हामी टिम नै बनाएर गोबर चोर्थ्यौं। गोबर चोर्दा धेरैपटक गाली खाइयो भने लखेटाइ समेत पायौं’, उनी भन्छन्, ‘हामीलाई पानी ल्याउन पनि ठूलो चुनौती थियो । २० लिटरको जर्किनको बीचमा भाटा राख्ने र चार जनाले काँधमा बोकेर ल्याउने गर्थ्यौं । पानीका लागि आउन र जान गरेर एक घण्टा लाग्थ्यो ।’

कक्षा चारबाट नै उनले एबीसीडी पढे । उतिबेला मिनिङ्ग कण्ठ गर्नुपर्ने चलन थियो । उनले ‘मर्निङ’को स्पेलिङ कण्ठ गर्न नसक्दा सरको हातबाट लाठीसमेत खाए । कक्षा चारमा उनी त्यति राम्रो विद्यार्थी थिएनन् । 

तर, जब ६ कक्षामा पुगे उनी बदलिए । उनी एकाएक राम्रो नम्बर ल्याउने विद्यार्थीमा उक्लिए । कक्षा ७ देखि एसएलसीसम्म उनी निरन्तर प्रथम भए । २०४४ सालमा उनी दोस्रो श्रेणीमा एसएसली उत्तीर्ण भए । 

‘प्रथम हुन थालेपछि हरेक वर्ष चिन्ता लाग्थ्यो । विद्यालयले नतिजा सार्वजनिक गर्दा रुखमाथि चढेर सुन्थ्यौं’, उनी भन्छन्, ‘त्यस्तो गर्नुको एउटै कारण के थियो भने कतै दोस्रो भइन्छ कि भन्ने डर नै हो ।’

उनको पालामा एसएलसीको नतिजा सुन्न तीन दिन लाग्थ्यो । डिभिजन थाहा पाउन भने धेरै समय कुर्नुपर्थ्यो । उनका बुवा भारतीय सेनामा कार्यरत थिए । भारत र पाकिस्तानको लडाईंताका उनका बुवा घर फर्किए । त्यसपछि उनी भारतीय सेनामा फर्किएनन् । १५ वर्षको जागिरे जीवनमा उनका बुवाले जग्गा जोडेका थिए । आर्थिक समस्या खासै नभएका कारण एसएलसीपछि यामबहादुरले पढाइलाई निरन्तरता दिए । उनीसँगै पढेका साथीहरू भने एसएसलसीपछि जागिर खान गए ।

२०४७ मा आईकम उत्तीर्ण श्रेष्ठ बीकम अध्ययनका लागि काठमाडौं जाने तयारीमा थिए । त्यही समयमा उनकी आमा गम्भीर बिरामी भइन् । आमा बिरामी भएपछि उनलाई उपचारका लागि काठमाडौंस्थित वीर अस्पतालमा लिनुपर्‍यो । त्यहाँ उनकी आमाको पहिलो शल्यक्रिया असफल भयो । दोस्रोपटक शल्यक्रिया गर्नुपर्‍यो । आमाको उपचारका क्रममा घरमा भएको सबै सुनचाँदी बिक्री गर्नुपर्ने अवस्था आयो भने जग्गा समेत बिक्री भयो । त्यसपछि उनी बीकम अध्ययन गर्न काठमाडौं जान सकेनन्, सुर्खेतमै भर्ना भए ।

श्रेष्ठले बीकम उत्तीर्ण हुनुभन्दा पहिले जागिरे जीवन पनि शुरूआत गरे । त्यतिबेला क्षेत्रीय स्वास्थ्य सेवा निर्देशनालयले ६ महिनाका लागि अस्थायी मेडिकल रेकर्डरको जागिर दियो । उनी जागिरका लागि जुम्ला गए । त्यतिबेला उनको तलब २७ सय थियो ।

त्यसपछि २०५० सालमा भैरव माध्यमिक विद्यालय अवलचिङ्गमा उनी कार्यालय सञ्चालन र लेखा विषयको शिक्षकका रूपमा नियुक्त भए । त्यहाँ उनले नौ वर्ष पढाए ।

२०६० सालमा उनी माध्यमिक तहको शिक्षकमा उत्तीर्ण भए । त्यसपछि उनी जन नमूना माध्यमिक विद्यालयमा स्थायी शिक्षकको रूपमा काम गर्न थाले । उनी सोही विद्यालयको सहायक प्रधानाध्यापकको रूपमा २०६२ देखि काम गर्न थाले भने २०६९ देखि प्रधानाध्यापकको भूमिकामा कार्यरत छन् । 

जब उनी प्रअ नियुक्त भए, त्यसपछि उनले विद्यालयमा विव्यस अभिभावकबाटै छान्नुपर्ने भन्दै अडान लिए । त्यतिबेला राजनीतिक दलहरूले विव्यस छान्ने चलन थियो । ‘मैले बारम्बार अभिभावक भेला बोलाउँदा पनि विव्यस गठन हुन सकेन । त्यसपछि जिल्ला शिक्षा कार्यालयमा गई अस्थायी समिति बनाइदिन आग्रह गरेँ । जिल्ला शिक्षा अधिकारीले  विद्यालय निरीक्षकको नेतृत्वमा तीन सदस्यीय अस्थायी विव्यस गठन गरे’, श्रेष्ठले भने । 

null

त्यतिबेला यो विद्यालयमा सिमान्तकृत अभिभावकका छोराछोरी मात्रै पढ्ने गर्थे ।  शिक्षकका छोराछोरी नै अन्य विद्यालयमा पढाउने प्रचलन थियो । त्यसविपरीत उनले आफ्ना छोरालाई सोही विद्यालयमा भर्ना गरे । विस्तारै अन्य शिक्षकले पनि विद्यालयमा आफ्ना छोराछोरी भर्ना गर्न थाले । 

उतबेला विद्यार्थी खोज्न उनी नेतृत्वको टोली मुगुसम्म पुगेको थियो । विद्यालयमा अंग्रेजी माध्यमबाट पढाई नहुने भएकै कारण अभिभावकको रुचि थिएन । त्यही कारण विद्यालयमा विद्यार्थी नआउने भए । त्यसको विकल्पको रूपमा विद्यालयमा अंग्रेजी माध्यमबाट पढाउने योजना बताए । फलस्वरूप विद्यार्थीहरू थपिँदै जान थाले । 

‘विद्यार्थीहरूको चाप निरन्तर बढ्न थाल्यो । हामीसँग भएको २९ वटा दरबन्दीले हजारौं विद्यार्थीलाई थेग्न सकिने अवस्था भएन । पछि हामीले अभिभावकबाट शुल्क लिएर पढाउन थाल्यौं’, उनी भन्छन्, ‘जन माविले पैसा असुल्न थाल्यो भन्दै उच्च अदालत सुर्खेतमा मुद्दा पर्‍यो । इजलासमा हाम्रातर्फका वकिलले राखेको धारणा कम भएजस्तो लाग्यो । मैले अन्तिममा अनुमति माग्दै केही भनाइ श्रीमानसमक्ष (न्यायाधीश) राखेँ । श्रीमानले मेरो कुरा सुनेर दरबन्दी भन्दा बढी विद्यार्थी राख्ने अनुमति कसले दियो भन्दै प्रतिप्रश्न गरे । मेरो बोली बन्द भयो ।’

समुदायप्रति बढी जिम्मेदार बनौं भनेर सामान्य शुल्क लिने गरेको उनको भनाइ थियो । त्यतिबेला २७०० विद्यार्थी थिए । दरबन्दी अनुसार अध्यापन गराउने हो भने १३ सय संख्यामा झार्नुपर्ने हुन्थ्यो । त्यो सम्भव नै भएन । 

त्यसपछि उनले कार्यविधि बनाइदिन वीरेन्द्रनगर नगरपालिकालाई अनुरोध गरे । नगरले नमानेपछि उनले अभिभावक संघको अध्यक्ष, एक अभिभावक र वडा सदस्य सम्मिलित स्वैच्छिक सहयोग प्राप्ति सम्बन्धी कार्यविधि निर्माण समिति बनाए । र, त्यसलाई वडाबाट अनुमोदन गराए ।

प्रिन्सिपल एसोसिएसन नेपालका केन्द्रीय सदस्य समेत रहेका श्रेष्ठले  विद्यालयमा शिक्षकभन्दा बढी विद्यार्थीलाई नै सक्रिय बनाउन शुरू गरे । विभिन्न समिति बनाएर विद्यार्थीबाटै सुधारको अभियान शुरूआत गरे । जुन आज निकै फलदायी भएको छ ।  

null

विद्यालयमा नेपाली पोशाक अनुसारको कालो टोली छात्रले लगाउने र छात्राले दुई चुल्ठी बाटेर विद्यालय पोशाकमा आउने नियम बन्यो । छात्रालाई विद्यालयमा गाजल र लिपिस्टिक लगाउन बन्देज गरियो भने जंकफूडदेखि मोबाइल ल्याउन पूर्ण रूपमा बन्द गरियो । 

‘मोबाइल पूर्ण रूपमा निषेध छ । अहिले पनि १५ किलोजति मोबाइल विद्यालयमा नै छन्’, उनले भने, ‘मोबाइल बन्द नगर्ने हो भने कक्षामा धेरै ‘डिस्टर्व’ हुने देखियो’, उनले भने, ‘यसका अलावा सुधारात्मक परीक्षा हरेक शनिबार राख्ने गरिएको छ भने अतिरिक्त क्रियाकलापमा पनि विद्यार्थीलाई नै जिम्मेवारी दिई उनीहरूलाई त्रियाशील बनाइरहेका छौं । हरेक वर्ष शिक्षकलाई आदर्श शिक्षक पुरस्कार दिने गरेका छौं भने विद्यार्थीलाई पनि विभिन्न विधामा पुरस्कार प्रदान गर्ने गरेका छौं ।’

गत शैक्षिक सत्रमा यो विद्यालयले एसईईतर्फको परीक्षामा ७७ प्रतिशत नतिजा ल्याएको थियो । विद्यालयमा अध्ययन गर्नका लागि सुर्खेतका टप निजी विद्यालयबाट समेत विद्यार्थीहरू ‘इन्ट्रान्स’ परीक्षा दिने पुग्ने गरेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्