२६ असार २०८३, शुक्रबार
जलविद्युत्‌को शेयरका नाम ठगिए गाउँका सोझा

५० परिवारको उठीबास गराउँदै रारा हाइड्रो, बैंकले लिलामी थाल्दा सम्पर्कमा छैनन् अध्यक्ष

व्यक्तिबाट साढे नौ लाखमा जग्गा खरिद गरेर कम्पनीलाई ६० लाखमा बिक्री
माघ २७, २०८१
सुर्खेत
५० परिवारको उठीबास गराउँदै रारा हाइड्रो, बैंकले लिलामी थाल्दा सम्पर्कमा छैनन् अध्यक्ष
तस्वीरहरू सौजन्य : विशाल सुनार ।

दैलेखको डुंगेश्वर गाउँपालिका–४ पराजुली खोलामा विद्युत उत्पादन गर्ने भनेर रारा हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले २०६७ सालमा ‘अपर पराजुली खोला जलविद्युत आयोजना’का रूपमा काम थाल्यो ।  

चार किलोमिटर नहर खनेर २ दशमलव १५ मेगावाट बिजुली निकाल्ने भन्दै ५० घरपरिवारको खेतबारीमा संरचना निर्माण गरियो ।

संरचना निर्माणमा जग्गाधनी र अरु गाउँलेसमेत खटिए । जग्गाधनी र कामदारलाई शेयरधनी बनाउने भनेर कम्पनीले स्थानीयसँग २५ हजारदेखि ५ लाखसम्म रकम उठ्यो ।

तर, १४ वर्षसम्म आयोजनाको काम पूर्ण त भएन नै, कम्पनीका कारण ५० भन्दा बढी घरपरिवार उठीबासको मुखमा पुगेका छन् भने अन्य लगानीकर्ताको करोडौं लगानी जोखिममा परेको छ । बनाइएका संरचना र सामग्रीहरू जीर्ण बन्दै गएका छन् । 

गाउँमा जलविद्युत आयोजना बनेपछि रोजगारी पाइने आशा राखेका स्थानीय र जलविद्युत उत्पादनको मुनाफाबाट समृद्धिको यात्रा तय गर्ने सपनाकासाथ शेयर लगानी गरेका लगानीकर्ताहरू अहिले विचल्लीमा परेका छन् ।

आयोजनास्थलमा अपलत्र सामान

आयोजनाको मुख्य लगानीकर्तामा एभरेष्ट बैंक र लगानीकर्तामा सिद्धार्थ बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंक थिए । शुरूमा ३२ करोडमा बनिसक्ने भनिएको आयोजनामा ४२ करोड खर्च भइसक्दासमेत आधा काम पनि सकिएको छैन । निर्धारित समयमा काम सम्पन्न नभएपछि नेतृत्वकर्ता एभरेष्ट बैंकले लिलामी पक्रिया थालेको छ । 

एभरेष्ट बैंकले यही माघ ३ गते नै पन्ध्र दिने सूचना जारी गरि लिलामीको प्रक्रिया शुरू गरिसकेको छ । अबको एक/दुई दिनमा बिड सार्वजनिक गर्ने तयारीमा बैंक रहेको छ । बैंकले आफ्नो ३४ करोड सावाँ र दश करोड ब्याज असुल नभएको भन्दै आयोजनाको लिलामी प्रक्रिया थालेको जनाएको छ । 

‘हामी अबको एक/दुई दिनमै बिड खोल्ने तयारीमा छौं’, एभरेष्ट बैंकका सूचना अधिकारी केशवराज पौडेलले लोकान्तरसँग भने, ‘दुई वटा बिड परेको छ ।’ पौडेलका अनुसार आयोजनास्थलमा भएका सबै संरचना, जग्गा र सामाग्री लिलाम प्रक्रियामा जानेछन् । 

एभरेष्ट बैंकले निकालेको लिलामी सूचना ।

त्यसरी लिलाम हुँदा डुंगेश्वर गाउँपालिका-४ का ५० घरपरिवार उठीबासको मुखमा पुग्नेछन् भने लगानी गरेको शेयर बापतको रकम पनि डुब्ने जोखिम छ । २०७६ सालयता कम्पनीका २२ जनै शेयर सदस्य सम्पर्कविहीन भएको स्थानीयको आरोप छ । बैंकले उनीहरूमा नाममा लिलाम सूचना जारी गरेको छ।

आयोजना मात्रै होइन, बैंकले त्यस क्षेत्रका किसानहरूको जग्गासमेत लिलाम गर्ने अवस्था आएपछि स्थानीय चिन्तित बनेका छन् । 

डुंगेश्वर गाउँपालिका-४,की धर्मेकुमारी बुढाले उक्त कम्पनीमा शेयरको रूपमा पाँच लाख लगानी गरेको बताउँछिन् । त्यति मात्र होइन, आयोजनाकै व्यापार व्यवसायमा उनको २० लाख रूपैयाँ फसेको छ ।

आयोजनाको निर्माणाधीन भवन ।

आयोजनास्थलमा ६ वर्षदेखि ईडीएस, प्रो सोलुसन, मताप र नेचुरल कम्पनीका प्रतिनिधिहरू काम गरेबापतको करोडौं रूपैयाँ पाउने आशामा कुरेपनि एकातिर सञ्चालकहरू सम्पर्कविहीन छन् भने अर्कोतिर आयोजना नै लिलामीको चरणमा जाँदा अब के हुने भन्ने अन्योलमा छन् । 

स्थानीयले शेयरबापत लाखौं रकम, काम गरेको ज्याला, जग्गाको मुआब्जा र कामदारलाई खुवाएको रासनबापतको करोडौं रकम पाउनै बाँकी छ । त्यसैमा बैंकले धितो लिलाम सूचना जारी गरिदिएपछि स्थानीय लगानीकर्ताहरूको पैसा र जग्गा गुम्ने खतरा भएको छ । 

आयोजनास्थलका स्थानीय मात्र होइन, सुर्खेतको वीरेन्द्रनगरका केही व्यापारीहरूले समेत हाइड्रोमा लगानी गरेका थिए । उनीहरूको लगानी समेत जोखिममा परेको छ । वीरेन्द्रनगरका स्थानीय शिवराज अधिकारी, गुरुङ नर्सिङ होम, गंगाराम तिमिल्सेनाको समूह लगायत धेरैको करोडौं रूपैयाँ सञ्चालकका कारण डुबेको हो ।

‘बैंकले आफ्नो पैसा मात्रै असुल्ने हो, बाँकी हाम्रो पैसा कसरी फिर्ता पाउने भन्ने समस्या देखा परेको छ’, एक करोड बढी लगानी गरेका एक लगानीकर्ताले भने, ‘यसले हामीलाई घरको न घाटको बनायो । सञ्चालकहरूको विश्वासमा पर्दा करोडौं डुब्यो ।’

कतिसम्म भने आयोजनामा गाउँपालिकाको समेत लगानी छ । यसअघिका अध्यक्ष नगेन्द्र मल्लका पालामा २५ लाख बराबरको शेयर लगानी भएको गाउँपालिका अध्यक्ष सुन्दरकुमार केसीले बताए । 

‘बैंकले लिलाम गर्ला, उसको कुरा भयो । यहाँका नागरिकले जग्गाको मूल्य पाएका छैनन् । मजदुरले ज्याला पनि नपाएको, शेयर रकम पनि नपाएको उजुरी पालिकामा आइरहेका छन्’, अध्यक्ष केसीले भने, ‘हाम्रो पालिकाको पनि यसअघिका अध्यक्ष नगेन्द्र मल्लका पालामा २५ लाख बराबरको शेयर लगानी छ । अब कसरी त्यो रकम असुल्ने ? स्थानीयका माग कसरी पूरा गर्ने ? हामी अन्योलमा छौं ।’

कम्पनीका अध्यक्ष नरसिंह मल्ल सम्पर्कबाहिर छन् । नेपाली कांग्रेसको राजनीति गर्ने उनी वीरेन्द्रगरमा बस्दै आएका छन् । तर, उनले लगानीकर्ता कसैलाई नभेट्ने र फोन समेत नउठाउने गर्दै आएका छन् । 

‘उहाँसँग (नरसिंह मल्लसँग) यो विषयमा सल्लाह गर्न फोन गरेको थिएँ । फोन उठेन । उहाँ कहाँ हुनुहुन्छ थाहा छैन । फोन नम्बर पनि बदलिरहनुहुन्छ’, गाउँपालिका अध्यक्ष केसीले भने । लोकान्तरले पनि उनीसँग सम्पर्कका लागि पटक पटक प्रयास गरेको थियो । उनका परिवारका सदस्यमार्फत समेत सम्पर्क गर्न खोज्दा पनि उनी सम्पर्कमा आउन चाहेनन् । 

साढे नौ लाखमा जग्गा खरिद, कम्पनीलाई ६० लाखमा बिक्री

कम्पनीका सञ्चालकले स्थानीय देवबहादुर शाहीबाट नौ लाख पचास हजार रूपैयाँमा खरिद गरेको जग्गा हाइड्रो कम्पनीलाई भने ६० लाखमा बिक्री गरेको खुलेको छ । शुरूमा शाहीबाट यो जग्गा कर्णबहादुर थापाको नाममा पास लगिएको थियो । 

जग्गाधनीसँग जग्गा किनेपछिको पूर्जा ।

त्यसपछि कर्णबहादुर थापाबाट कम्पनीलाई बिक्री गर्दा ६० लाख मूल्य कायम गराइएको पाइएको हो ।

कम्पनीका सञ्चालक शंकरलाल वैद्यले बैंकले लिलामी प्रक्रिया शुरू गरेपनि कसरी त्यो समस्या समाधान गर्ने भन्ने अन्योलता प्रकट गरे । 

‘त्यहाँ मेरो पनि पाँच करोड भन्दा बढी रकम डुबेको छ । बैंकको ४४ करोड र अन्यको शेयर रकम बराबर २५ करोड रकम डुबेको छ’, उनले भने, ‘अब कसरी असुल्ने तनाव भएको छ । अध्यक्ष मल्ल पछिल्लो समयमा सम्पर्कमा नै आउनु भएको छैन ।’

कम्पनीलाई बेच्दाको पूर्जा ।

कम्पनीका अर्का सञ्चालक मंगलबहादुर विश्वकर्माले आफू बाहिर भएको भन्दै कुराकानी गर्न अस्वीकार गरे । 

salt training

कमेन्ट गर्नुहोस्