०५ साउन २०८३, मंगलबार

एचपीभी खोप अभियानको छैठौं दिनसम्म १० लाख जनालाई लगाइयो खोप

माघ २९, २०८१
काठमाडौं
एचपीभी खोप अभियानको छैठौं दिनसम्म १० लाख जनालाई लगाइयो खोप

पाठेघरको मुखको क्यान्सरबाट किशोरीहरूको जीवनरक्षा गर्न भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुरू गरेको एचपीभी खोप अभियान छैठौं दिनसम्म आइपुदा १० लाख किशोरीले खोप प्राप्त गरेका छन् ।

दुई साता लामो अभियानका क्रममा १७ लाख किशोरीहरुलाई खोप लगाउने लक्ष्य राखिएको थियो । तर, छोटो अवधिमै अभियानले प्रगति हासिल गरेको स्वास्थ्य अधिकारीहरू बताउँछन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले क्यान्सरको उपचारसँगै लाग्न नदिन सजगताका उपाय अपनाउने नीति अन्तर्गत शुरू अभियानले राम्रो गति लिइरहेको भन्दै स्वास्थ्यकर्मीहरूप्रति आभार प्रकट गरेका छन् ।

‘क्यान्सरको जोखिम कम गर्न निरोधात्मक अन्तर्गत किशोरीहरूको जीवनरक्षाको यो पवित्र अभियानलाई यति महत्त्वपूर्ण उचाइमा ल्याइपुर्‍याउन साथ दिनुहुने स्वास्थ्यकर्मीहरू, महिला स्वास्थ्य स्वयंसेविका, सञ्चारमाध्यमलगायत सम्बद्ध सबैलाई हार्दिक आभार’, मन्त्री पौडेलले भनेका छन् ।  

मन्त्री पौडेलले अबको बाँकी दिन खोपबाट छुटेका तथा विद्यालयबाहिर रहेका किशोरीहरू खोप लगाउन नछुटुन् भन्नेतर्फ मन्त्रालयको ध्यान केन्द्रित रहने उल्लेख गर्दै आफ्नो वरपरका छुटेकाहरूलाई खोप लगाउने कार्यमा पनि तपाईंको सकारात्मक सहयोग अपेक्षा गरेको उल्लेख गरेका छन् ।

विश्व क्यान्सर दिवसको दिन गत माघ २२ गतेबाट शुरू गरिएको अभियान फागुन ६ गतेसम्म चल्नेछ । अभियानका क्रममा १० देखि १४ वर्षसम्मका किशोरीहरूलाई खोप दिइएको छ ।  

salt training

कमेन्ट गर्नुहोस्