
दैलेखको राकम कर्णालीस्थित आधारभूत अस्पताललाई अब ५० शय्याको बनाइने भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको मातहत सञ्चालन गर्नेगरी यो अस्पताललाई ५० शय्याको बनाइने भएको हो ।
सोमबार बालुवाटारमा बसेको नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । ‘दैलेख जिल्लाको आठबीस नगरपालिकाको स्वामित्वमा रहेको १५ शय्या क्षमताको आधारभूत अस्पताललाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत व्यवस्थापन र सञ्चालन गर्नेगरी हस्तान्तरण गर्न स्वीकृति प्रदान गर्ने’, मन्त्रिपरिषद् बैठकको निर्णयमा भनिएको छ ।
उक्त क्षेत्रमा रहेको करिब ९ लाख जनसंख्यालाई सेवा प्रवाह गर्न राकममा बन्ने अस्पतालको स्तरवृद्धि गर्न लागिएको छ । प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलका अनुसार कर्णालीको केन्द्रविन्दुमा रहेको दैलेखको राकमस्थित उक्त अस्पताललाई ५० शय्यामा सञ्चालन गर्ने सरकारको योजना छ ।
यस निर्णयले प्रतिष्ठानको भविष्यमा ठूलो सकारात्मक असर पर्ने उनले बताए । अब यस क्षेत्रका बासिन्दाको लागि स्वास्थ्य सेवाको सहज र प्रभावकारी पहुँच पुग्ने उनले विश्वास व्यक्त गरे । विगत लामो समयदेखिको यो सपनाको प्रोजेक्ट अब सफल हुने चरणमा रहेको उनको भनाइ छ ।
दैलेखको आठबीस नगरपालिका र प्रतिष्ठानको नियमित संवाद सहकार्यमा प्रदेश सरकार, संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र अर्थ मन्त्रालय हुँदै पुनः स्वास्थ्य मन्त्रालयमार्फत मन्त्रिपरिषद् बैठकबाट यो महत्त्वपूर्ण निर्णय भएको प्रतिष्ठानका रजिस्ट्रार निर्पेन्द्र महतले बताए ।