०६ साउन २०८३, बुधबार
कांग्रेस संस्थापनको रणनीतिक बैठक

नेताहरू बिच्किन थालेपछि बूढानीलकण्ठमा देउवाले गरे अर्थपूर्ण खुलासा

फागुन २, २०८१
काठमाडौं
नेताहरू बिच्किन थालेपछि बूढानीलकण्ठमा देउवाले गरे अर्थपूर्ण खुलासा

आफ्नै समूहका नेताले टिम परिवर्तन गर्न सक्नेसम्मको तयारी थालेपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूलाई सहयोग गर्ने शीर्ष नेतासँग छलफल गरेका छन् । 

१५औं महाधिवेशन नजिक नआउँदै इतर समूहका रूपमा डा. शेखर कोइरालाले गतिविधि बढाएपछि देउवा पनि आफू निकटका नेतासँग छलफलमा जुटेका हुन् । उनले शुक्रबार बिहान आफ्नै निवास बूढानीलकण्ठमा साढे दुई घण्टा लामो छलफल गरे । 

१४औं महाधिवेशनसम्म आफूलाई नजिकबाट सहयोग गर्ने नेताहरू ध्रुवीकरण हुन थालेपछि देउवा सक्रिय बनेका हुन् । उनले आफू निकटका पदाधिकारी, पूर्वपदाधिकारी र सिनियर नेतासँग छलफल गरेका भेटमा सहभागी नेताहरूले बताएका छन् ।

देउवाले बोलाएको छलफलमा उपसभापति पूर्णबहादुर खड्का, पूर्वउपसभापति विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, डा. शशांक कोइराला, डा. प्रकाशशरण महत, बालकृष्ण खाँण, एनपी साउँद र उमाकान्त चौधरी सहभागी थिए ।

पछिल्लो समय समूहका नेताहरू असन्तुष्ट भइरहेका बेला देउवाले आफूलाई १४औं महाधिवेशनमा जिताउन भूमिका खेल्ने नेताहरूसँग छलफल गरेका हुन् । ‘आफ्नो टिमका नेताहरूसँग नबसेको लामो समय भएको थियो । यसैले बिहान साढे ९ बजेदेखि १२ बजेसम्म सभापतिले छलफल गर्नुभएको हो’, देउवा निकट स्रोतले भन्यो, ‘छलफलमा पार्टीको आन्तरिक राजनीति, समसामयिक राजनीतिक लगायतका विषयमा छलफल भएको छ ।’

छलफलका सहभागी भएका एक नेताले पछिल्लो समय संस्थापन पक्ष कमजोर रहेको र नेताहरूले टिम परिवर्तन गर्न खोजेको समाचार आएपछि सभापतिले सहयोग गर्ने सबै नेतालाई छलफलमा बोलाएको जानकारी दिए ।

‘आफूलाई सहयोग गर्नेलाई सभापतिले छलफलमा बोलाउनुभएको हो । जहाँ १०औं देखि १४औं महाधिवेशनमा सहयोग गर्ने नेताहरू सहभागी थियौं । पछिल्लो समय नेताहरू ध्रुवीकरण हुन खोजेको भन्दै समाचारहरू पनि आएका छन् । धेरै चर्चा र परिचर्चा भएपछि हामी पनि छलफल होस् भन्नेमा थियौं । सभापतिले छलफल गर्न खोज्नुभएको हो’, ती नेताले भने, ‘यसैले सहयोग गर्ने सबैले कुरा राखे । सभापतिले पनि आफ्नो कुरा राख्नुभयो ।’ 

null

बैठकमा इतरपक्षका रूपमा शेखर कोइरालाले गतिविधि बढाउँदा संस्थापन कमजोर भएको सन्देश गएकोबारे पनि चर्चा भएको ती नेताले बताए ।

‘अरूले पार्टीका गतिविधि धेरै गरेकोमा चर्चा र परिचर्चा धेरै भयो । तर, हाम्रो संस्थापन पक्ष कमजोर भएको सन्देश गयो । यस्तोमा कसरी अगाडि बढ्ने भनेर सरसल्लाह भएको हो’, ती नेताले भने, ‘नेताहरूले सभापतिलाई सतर्क पनि गराउनुभयो । आफ्ना असन्तुष्टि  र कुरा पनि राख्नुभएको छ ।’

यो पनि पढ्नुहोस्- जसले देउवाबाट पटकपटक लिए मौका, अहिले हान्न खोज्दैछन् अन्यत्र चौका !

केही नेताले १५औं महाधिवेशनमा सभापतिका रूपमा देउवा अगाडि नबढ्ने भएपछि बन्न सक्ने सम्भावित टिमबारे सभापतिको मानसिकता जान्न चाहेका थिए । 

‘२०८२ मा महाधिवेशन हुँदैन । हुँदा ८३ सालमा हुने हो । तर, संस्थापन चुपचाप जस्तो देखिँदा अरु पक्षले मात्रै गतिविधि बढाएको जस्तो भयो । हामीमाथि दबाब आयो’, संस्थापनपक्षका ती नेताले भने, ‘अब कसरी अगाडि बढ्ने सभापतिले पनि एउटा बाटो तय गर्नुपर्‍यो । सरसल्लाह अघि बढाउँदै जानुपर्‍यो भन्ने सुझाव दिएका छौं । सभापतिलाई यसरी सुस्ताउन भएन भनेर सतर्क पनि गराएका हौं ।’ 

नेताहरूले सभापतिको मुखबाटै आश्वासन खोजेपछि देउवाले केही अर्थपूर्ण बोली बोलेका छन् ।

अर्का एक नेताका अनुसार पछिल्लो समय शेखर पक्षले एकातिर र अर्कोतिर महामन्त्री गगन थापाले महाधिवेशन केन्द्रित अभियान गरेपछि संस्थापन पक्ष दबाबमा रहेको बताए । 

‘देशव्यापी संगठनमा पकड हामी संस्थापनको छ । तर, गतिविधि शेखर र गगनहरूले गरेका छन् । यसैले संस्थापनमा रहेर १४औं महाधिवेशनमा लागेका नेताहरूले समय लिएर सभापतिसँग सामूहिक भेट गर्नुभएको हो’, ती नेताले भने, ‘सभापतिबाट टिमको विषयमा प्रष्ट कुरा आइसकेको छैन । यस्तोमा हाम्रै टिमबाटसमेत नेताहरू असन्तुष्ट बन्न थालेपछि अब कसरी अगाडि बढ्ने भनेर छलफल भएको हो ।’

बैठकमा नेता कृष्णप्रसाद सिटौलाले १५औं महाधिवेशनको विषयमा थरिथरिका कुरा आएको भन्दै प्रश्न उठाएका थिए । 

‘अहिले नै १५औं महाधिवेशनका विषयमा थरिथरिका कुरा आएका छन् । पार्टीको कार्यक्रम र घोषणा एकातिर छ । तर, पदधिकारीहरू नै एकतर्फ देश दौडाहामा आफैं लागेका छन्’, गगनतिर लक्षित गर्दै सिटौलाले सभापतिलाई सोधे, ‘पदाधिकारी र नेता विशेषले यसरी महाधिवेशन लक्षित कार्यक्रम अगाडि बढाउँदा तपाईंको धारणा के हो ?’

सिटौलाले पहिले र अब पनि देउवाको साथमा रहेको बताएका थिए । जसमा विमलेन्द्र र विजयकुमार गच्छदारले समर्थन जनाएका थिए । 

‘हामी १४ औं महाधिवेशनमा तपाईंको टिमबाट लडेको हो, साथ दियौं । विमलेन्द्र निधि र प्रकाशमान सिंहले पनि सेकेण्ड राउन्डमा साथ दिनुभएको हो । त्यो बेलादेखि अहिलेसम्म तपाईंको साथमा छौं भन्न आएका हौं’, सिटौलाले बैठकमा भने, ‘हामीले समर्थन गरेरै जिताएका हौं । १५औंमा पनि तपाईंसँगै रहन्छौं ।’

सिटौलाले खुलेरै शेखर र गगन मात्रै होइन आफूहरू पनि उत्तिकै दाबेदार रहेको बताएका थिए । ‘शेखर र गगन सभापतिमा हाबी हुनुभएको जस्तो अरु कसैको चर्चा नै छैन । त्यो होइन, हामी पनि छौं । हामी सबै तपाईंसँग जोडिएका छौं’, सिटौलाले भने, ‘साथ दिएका छौं/दिन्छौं । तपाईं अब लड्नुहुन्न । तर, १५औं महाधिवेशनमा तपाईंको अभिभावकत्व चाहिएको छ ।’

सिटौलाले यस्तो भनेलगत्तै निधि, गच्छदार, सिंहसहितका नेताले समर्थन गरेका थिए । 

नेताहरूले सभापतिको मुखबाटै आश्वासन खोजेपछि देउवाले केही अर्थपूर्ण बोली बोलेका छन् । ‘कांग्रेस पार्टीको ऐतिहासिक मूल्य मान्यता र विरासत छन् । त्यसैले सबै पक्षलाई समेटेर बलियो र सुदृढ कांग्रेस बनाउन अहिले जे जिम्मेवारी छ इमान्दारिताका साथ अगाडि बढ्नुस्’, देउवाले बैठकमा भनेका थिए, ‘आगामी दिनमा अझै पार्टीलाई सक्षम बनाउन अगाडि पनि यो टिमको महत्त्व छ ।’ 

देउवाले यति भनेपछि अब कसरी अगाडि बढ्ने र टिम कस्तो हुने भन्ने आशय केही नेताले राखेका थिए । जवाफमा देउवाले ‘यही टिमबाट अगाडि बढ्नुस्, समय आएपछि घोषणा गरेर अगाडि बढ्छु’ भनेका थिए ।  

पछिल्लो समय महामन्त्री गगन थापाले सभापति देउवासँग ट्युनिङ मिल्छ भनेपछि देउवा पक्षका नेता सशंकित बन्दै आएका थिए । 

‘१५औं महाधिवेशन आउन समय छ । तपाईंहरू एकजुट हुनुस् । अहिले नै सभापतिमा को भनेर मैले घोषणा गरेको छैन’, देउवाले बैठकमा भनेका थिए, ‘तर, जो–जो भए पनि यही टिमबाट हुन्छ तपाईंहरू ढुक्क भएर अगाडि बढ्नुस् ।’

छलफलका क्रममा १४औं महाधिवेशनको समीक्षा र १५औंको विषयमा पनि कुराकानी भएको थियो । 

पछिल्लो समय महामन्त्री गगन थापाले सभापति देउवासँग ट्युनिङ मिल्छ भनेपछि देउवा पक्षका नेता सशंकित बन्दै आएका थिए । देउवाले १५औं महाधिवेशनमा गगनलाई अगाडि सारे पुराना धेरै नेताको राजनीतिक करिअर समाप्त हुने चिन्ता देखिन्छ । यसैले प्रभावशाली नेताहरूले आफैंले समय मागेर ‘देउवाको मनमा के खेलेको छ’ भन्नेमा जवाफ चाहेका थिए । 

पछिल्लो समय देउवा टिमका एनपी साउँद, बालकृष्ण खाँण, डा. प्रकाशशरण महतसहितका नेताहरू असन्तुष्ट हुन थालेका छन् । एकातिर शेखर र गगनले महाधिवेशनको तयारी गर्ने, अर्कोतिर देउवा चुपचाप बस्दा नेताहरू असन्तुष्ट हुँदै ध्रुवीकरणको तयारीमा लागेका छन् । देउवाले गगनलाई च्यापे आफूहरू ध्रुवीकरणमा लाग्न बाध्य हुने चेतावनीसमेत देउवा पक्षका नेताले दिएको नेताहरू बताउँछन् । त्यसैले देउवासँग उनी निकटका नेताले खुलेर छलफल गरेका हुन् ।

शशांक पनि मिसिए छलफलमा
१४औं महाधिवेशनमा नेता डा. शशांक कोइरालाले देउवालाई सहयोग गरेका थिए । यद्यपि, खुलेर सोही समूहमा लागेको देखाएका थिएनन् । 

तर, शुक्रबार देउवाको बूढानीलकण्ठस्थित निवासमा बसेको समूहको छलफलमा शशांक पनि उपस्थित भएका हुन् । शशांकले समेत केही समय अगाडि महामन्त्री गगन थापाले सभापतिमा दाबेदारी गर्ने बेला नभएको टिप्पणी गरेका थिए । 

nullदेउवा टिमबाट आउँदो सभापतिका लागि पूर्णबहादुर खड्का, डा. शशांक कोइराला र कृष्णप्रसाद सिटौला मुख्य दाबेदार छन् । 

छलफलका क्रममा केही नेताले आफूहरू संस्थापनबाट अन्यत्र नगएको भन्दै देउवालाई विश्वास दिलाउन खोजेका थिए । 

‘सञ्चारमाध्यममा हाम्रो संस्थापनपक्षीय नेताहरूले टिम परिवर्तन गर्न खोजेको समाचार आइरहेका छन् । नाम जोडिइरहेको छ भनेर पनि चर्चा भयो’, एक नेताले भने, ‘जसको नाम जोडिएको हो । उहाँहरू आफैंले हामी यतै छौं । कहीँ गएका छैनौं भनेर सभापतिलाई भन्नुभएको छ ।’

salt training

कमेन्ट गर्नुहोस्