
नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का शीर्ष नेताहरूले अब प्रदेशमा नेकपा र एमाले सम्मिलित सरकार बन्ने बताएका छन् ।
मंगलबार साँझ नेकपाका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालसँग भएको भेटपछि कोशी प्रदेशका नेताहरूले यस्तो ब्रिफिङ गरेका हुन् ।
कोशी प्रदेशमा नेकपाकै नेतृत्वमा सरकार बनाउन पहल गरिदिन आग्रह गर्दै पुगेका प्रदेश नेताहरूलाई शीर्ष नेतृत्वले नयाँ सत्ता समीकरण र एमालेसँगको सहकार्यबारे जानकारी गराएका थिए ।
भेटपछि नेकपा कोशी प्रदेश इन्चार्ज एवं पूर्वमुख्यमन्त्री राजेन्द्र राईले कोशी प्रदेश सरकारको नेतृत्वमा आफ्नो पार्टीले सशक्त दाबी गरेको बताए ।
‘कोशी प्रदेशमा नेकपा एमालेले लामो समय (करिब चार वर्ष) सम्म सरकारको नेतृत्व गरिसकेकाले अबको पालो हाम्रो पार्टीको हुनुपर्ने तर्क हामीले राखेका छौँ,’ नेता राईले भने , ‘हाम्रो समर्थनमा पनि सरकार बनेको हो, पाँचै वर्ष उनीहरूले (एमाले) मात्र पालैपालो नेतृत्व गर्ने कुरा हुँदैन ।’
उनले आफूहरूको दाबीमा संयोजक र सहसंयोजक सकारात्मक रहेको पनि बताए ।
नयाँ सत्ता समीकरणबारे बोल्दै नेता राईले नेकपा र एमालेबीच गठबन्धन हुने करिब पक्का भइसकेको नेताहरूले ब्रिफिङ गरेको जानकारी दिए ।
नेकपा कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले पनि कांग्रेसको अरुचि र वर्तमान राजनीतिक घटनाक्रमले वामपन्थी सहकार्यको सम्भावना बढेको भनेर नेताहरूले ब्रिफिङ गरेको बताए ।
नेपाली कांग्रेसभित्रको आन्तरिक कलहका कारण वर्तमान राजनीतिमा अन्योल देखिएको विश्लेषण गर्दै नेता राईले भने , ‘कांग्रेसभित्र गगन थापाहरू सरकारमा नजाने पक्षमा छन् । तर, यदि कांग्रेस फुट्यो भने देउवा पक्ष सरकारमा सहभागी हुन सक्छ । विभाजन नभएसम्म कांग्रेस सरकारमा जोडिने सम्भावना कम छ ।’
नेता राईका अनुसार अबको एक हप्ताभित्र राजनीतिक दृश्यमा फेरबदल आउने सम्भावना छ ।