०५ साउन २०८३, मंगलबार

पूर्वसांसद हर्कमानको जीवनीमा ‘उपद्रष्टा हर्कमान तामाङ’

फागुन ७, २०८१
विराटनगर
पूर्वसांसद हर्कमानको जीवनीमा ‘उपद्रष्टा हर्कमान तामाङ’

पूर्वसांसद हर्कमान तामाङको जीवनीमा आधारित रहेर पुस्तक ‘उपद्रष्टा हर्कमान तामाङ’ प्रकाशित भएको छ । 

तीन पटकसम्म चुनाव जितेपनि सामान्य जीवन बिताइरहेका तामाङका बारेमा साहित्यकार केशु विरहीले यो पुस्तक लेखेका हुन् । पुस्तकको बुधबार विराटनगरमा लोकार्पण गरिएको छ ।

विरहीले तामाङलाई राजनीतिक, शैक्षिक, सामाजिक तथा सांस्कृतिक व्यक्तित्व भनेर पुस्तकमा  थप चिनाएका छन् । विरहीका अनुसार ‘उपद्रष्टा हर्कमान तामाङ’ अनुसन्धानपरक (शोधमूलक) कृति हो । अग्रज स्रष्टा तामाङको जीवनीलाई आधार बनाएर उक्त पुस्तक तयार गरिएको  विरहीले बताए ।  

तामाङका बारेका तयार पारेको पुस्तकको बिक्रीबाट प्राप्त भएको कम्तीमा ५० प्रतिशत रकमले बेलबारीमा एउटा अनुसन्धान अक्षयकोष निर्माण गर्ने र यसबाट प्राप्त ब्याजबापतको रकमबाट अनुसन्धानका क्षेत्रमा काम गर्ने व्यक्तिलाई पुरस्कृत गर्ने विरहीले बताए । 

उनले पहिलो चरणमा बेलबारी बहुमुखी क्याम्पसमा अक्षयकोष स्थापना गर्ने र त्यसको ब्याजबाट अनुसन्धान गर्ने कम्तीमा एक जना विद्यार्थीलाई पुरस्कृत गरिने र दोस्रो चरणमा भने राष्ट्रियस्तरका अनुसन्धातालाई पुरस्कृत गर्ने गरी कोष तयार पारिने बताए । 

राजनीतिक रूपमा सफल भएपनि पारिवारिक रूपमा भोग्नु परेका समस्याका बारेमा समेत पुस्तकमा उल्लेख गरिएको विरहीले बताए । 

२००८ साउन २५ गते भोजपुरको बोखिममा जन्मेका तामाङको बाल्यकाल भारतमा बित्यो । उनले पढ्दै राजनीति शुरू गरेका थिए । दार्जिलिङमा बसेर राजनीतिक चासो लिएर उनले विद्यार्थी राजनीति गरेका थिए । पञ्चायती व्यवस्था भएकाले राजनीति गर्न सजिलो थिएन । 

तामाङले जीविकोपार्जनका लागि ट्युसन पढाउने गर्थे ।  नेपालमा खुला राजनीति प्रतिबन्ध भएका बेला उनले सुनसरीको धरानबाट राजनीतिक यात्रा तय गरेका थिए । 

तामाङले २०४८, २०५६ सालको आमनिर्वाचन र २०५१ सालको उपनिर्वाचनमा मोरङको साविक ४ नम्बर क्षेत्रबाट चुनाव जितेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्