१२ साउन २०८३, मंगलबार
सन्दर्भ : युवा पलायन

युवाहरूको विदेश मोह र स्वदेशमा चलिरहेको चिन्तामा नमिलेको तालमेल

फागुन ८, २०८१
काठमाडौं
युवाहरूको विदेश मोह र स्वदेशमा चलिरहेको चिन्तामा नमिलेको तालमेल

बौद्धिकताको विकास र प्रविधिको प्रभावले विश्वमा हलचल ल्याएको छ । जहाँ राम्रो अवसर छ, त्यहाँ आकर्षणका कारण गन्तव्य बनाउने प्रचलन बढ्दो छ । सोही कारण विदेशिनेको संख्या बढ्दै गएको छ । अहिलेसम्म करिब ४५ लाख मानिस काम र अध्ययनका लागि विदेशिएका छन् ।

नेपालले विप्रेषणमार्फत गत आवको अन्त्यसम्म १४४.३२ बिलियन रुपैयाँ प्राप्त गरेको थियो र विप्रेषण बढ्दो छ । प्रविधिले समय र दुरीको प्रभाव घट्दो छ भने उम्दा मानिसको श्रम मागले वैदेशिक ज्ञान र सीप प्राप्त गर्न सजिलो भएको छ । प्रविधि एवं ज्ञानको उपयोगसँगै केही देशका जनताले उन्नत जीवन जिउन पाएका छन् । अवसर प्राप्ति र गुणस्तरीय जीवन जिउने रहरले बसाइँसराइको प्रभाव बढ्दो देखिएको छ । आर्थिक अवसर कमजोर भएका देशलाई विकास एवं रुपान्तरण गर्न दक्ष जनशक्ति स्वदेशमा टिकाइराख्न अप्ठ्यारो परेको छ ।

नेपालले दक्ष जनशक्ति व्यवस्थापन गर्न नसक्दा धेरै युवाले विदेशी गन्तव्यको खोजी गर्ने कार्य बढ्दो छ । प्रायः युवाहरूले शासकीय प्रणाली, राजनीतिक अवस्था, अवसरको कमी, स्वदेशमा न्यून श्रम मूल्य, सेवा प्रवाहको कठिन अवस्थाले जनजीविका र व्यवसाय गर्न अनुकूल नभएका कारण विदेश जाने र जान चाहनेको संख्या बढ्दो छ । विदेश जान विकल्प नभएको भन्ने भनाइ युवा पुस्तामा बढ्दो रहेको पाइन्छ ।

विदेश जाने प्रवृत्तिमा विभिन्न आधार र अवस्थाहरू देखिएका छन् । पहिलो आधार ग्रीनकार्ड, पीआरजस्ता सुविधामा विदेशमै बसाइँ सर्ने प्रवृत्ति हो । अमेरिकाले प्रत्येक वर्ष ग्रीनकार्डका लागि आवेदनको आह्वान गर्दछ र चिठ्ठा प्रणालीबाट छानिएकालाई ग्रीनकार्डको अवसर दिएको छ अब भने यो अवसरमा पुनर्विचार हुने सम्भावना पनि छ । 

युरोपका केही देश तथा अस्ट्रेलिया, जापान लगायतले निश्चित मापदण्ड पुगेका त्यहाँ कार्यरत दक्ष जनशक्तिलाई पीआर दिने गरेको पाइन्छ । स्थायीरूपमा बसोवास गर्नेहरू गैरआवासीय नेपाली नागरिकको रूपमा रहन्छन् । स्वदेशमा उनीहरूको योगदान कमै देखिन्छ ।

वैधानिक र सहजताका साथ विदेशिएका गैर आवासीय नेपालीको ज्ञान सीप र पूँजीको उपयोग गर्न राज्यले लगानीका अवसरहरू बढाउन आवश्यक देखिन्छ । स्थायीरूपमा विदेशमा बसेका गैरआवासीय नेपालीको नामबाट संगठित सञ्जाललाई उपयोग गर्न हालै सरकारले अध्यादेशबाट १० वर्षसम्म गैर आवासीय नेपालीले लगानी गरी बस्न सक्ने व्यवस्था गरेको छ ।  गैरआवासीय नेपालीबाट नेपालको हित प्रबर्द्धन गर्न ज्ञान र सीपको उपयोग तथा लगानीका अवसरमा आकर्षित गरी सीपको उपयोग गर्न सके आर्थिक उन्नतिमा टेवा पुग्न सक्छ ।

दोस्रोमा विदेशमा छात्रवृत्ति पाएका वा भर्ना भई आफ्नै खर्चमा पढ्न जाने युवा शक्ति रहेको र अध्ययनका लागि विदेश जाने प्रवृत्ति बढ्दो नै छ । विदेशमा पढ्न गई उच्च शिक्षा प्राप्त गरेपछि कडा मेहनत र परिश्रम गरी सोही देशमा नै स्थापित हुने वा ग्रीन कार्ड र पीआर लिने गरेको पाइन्छ ।

विश्वविद्यालयले अन्तर्राष्ट्रिय श्रम बजारकेन्द्रित अध्यापनमा ध्यान दिन नसकेका कारण विदेशमा पढ्ने मोह बढेको हो । विदेशिएका युवाको सीप र ज्ञान स्वदेशमा उपयोग नहुँदा विकास र रूपान्तरणका कार्यमा सहयोग हुन सकेको छैन । अवसरको कमी र जीवन जिउन श्रमको उचित मूल्य पाउने आधार कमजोर भएको महसुस भएको पाइन्छ । देशको उन्नति र प्रगतिका लागि विदेश अध्ययनपछि ज्ञान–सीप स्वदेशमा उपयोग गर्न अनिवार्य छ ।

विदेशमा अध्ययन गर्ने मोहप्रति हाम्रा विश्वविद्यालयहरू पनि आरोपित छन् । अन्तर्राष्ट्रिय शैक्षिक अवसर प्राप्त गर्न विश्व विद्यालयहरूले नयाँ ज्ञान र सीप आर्जन गर्ने तथा छिट्टै श्रम बजारमा बिकाउ हुने शिक्षा दिन तत्पर हुनुपर्छ ।

युवा शक्तिको उपयोग गर्न शिक्षा प्राप्तिलाई बजारको माग र प्रविधि एवं उत्पादनसँग जोडी स्वदेशमै अवसर सिर्जना गर्न राज्यको ध्यान जानुपर्छ । अध्ययनका लागि गएका विद्यार्थीको ज्ञानसीपको उपयोग गर्न युवामैत्री शासन प्रणाली र सेवा प्रवाहमा सुधार गर्न आवश्यक छ । रोजगारीको अवसर नपाएका वा श्रमको मूल्य पाउन नसकेका जनशक्ति श्रम सम्झौता भएका देशमा श्रम स्वीकृति लिई जाने क्रमलाई तेस्रो बर्गमा हेर्न सकिन्छ ।

विदेशमा स्थायी बसोबासमा गएकाको ज्ञान–सीप उपयोग गर्न लगानीका अवसरमा प्राथमिकता दिने, विदेशमा पढ्न जाने क्रम रोक्न स्वदेशमा नै आधुनिक शिक्षा उपलब्ध गराउने र पढ्न गएका व्यक्तिको ज्ञान–सीपको उपयोग गर्ने वातावरण बनाउने, दक्ष श्रमिक मात्र विदेश जाने अवसर बढाई सेवासुविधा, सुरक्षामा ध्यान दिने र बाह्य श्रमका लागि भएका अवरोध तुरुन्त हटाउने, अवैधानिकरूपमा विदेशिने रहर घटाउन सचेतना फैलाउने र भिजिट भिषामा निगरानी बढाउने,  जोखिमयुक्त विदेशिने कार्यका लागि उत्साहित गर्नेलाई कडा कारबाही गर्नेजस्ता काम गर्नुपर्छ ।

नेपालको अर्थतन्त्रमा वैधानिक विप्रेषण ल्याउने र विदेशमा सिकेको ज्ञान स्वदेशमा उपयोग गर्न यो वर्ग प्रयत्नरत छ । दक्षबाहेकका जनशक्ति पनि अन्तर्राष्ट्रिय श्रम बजारमा जाने गरेको तर, श्रमिकको अन्तर्राष्ट्रिय मान्यताको पालना हुन नसकेको गुनासो पनि छ । श्रमिकलाई श्रम सहजीकरण गर्ने एजेन्सीमार्फत विदेश पठाउने क्रममा शोषण हुने गरेको आरोप पनि छ ।

नेपालको विप्रेषणमा यो बर्गको योगदान महत्त्वपूर्ण रहेको र अर्कोतिर मृत्युवरण गर्ने र घाइते हुनेको संख्या पनि बढ्दै गएको छ ।

विदेशी रोजगारमा जानुपूर्व जान्नुपर्ने सामान्य कुराहरूको जानकारी नहुँदा दुर्घटना भएको हो भन्ने भनाइ छ । प्रायः जोखिमपूर्ण, कठिन र फोहोर काम अर्थात् ‘थ्रीडी’मा धेरै श्रमिक शोषित देखिन्छन् । तान्ने सिद्धान्तभन्दा घचेट्ने सिद्धान्तबाट रोजगारमा जाने प्रचलन छ । 

अन्तर्राष्ट्रिय श्रम बजारमा श्रमको माग र स्वदेशमा रोजगारको अवसर कम भएका कारण विदेशमा काम गर्न जाने गरेको तर अन्तर्राष्ट्रिय श्रम नीतिको पालना भए/नभएको विषयमा ध्यान पुग्न सकेको देखिँदैन । श्रम सुरक्षा, सुविधा, बिमा, उपयुक्त पारिश्रमिक, काम गर्ने समयको सुनिश्चितताजस्ता विषयमा श्रम कूटनीति प्रभावकारी देखिँदैन ।

स्वदेशबाट श्रमिक विदेश जाने प्रक्रियाबाट नै श्रमशोषण भएका घटनाहरू दिनानुदिन बढिरहेका छन् । श्रम स्वीकृति लिएर श्रममा जाने श्रमिकको ज्ञान सीप बढाउने विषय ओझेलमा रहेको पाइन्छ । श्रम गर्न जाने देशको भाषासंस्कृति र सामान्य कानूनमा जानकार नहुँदा श्रमिकले समस्या झेल्नुपरेको छ ।

श्रमिकको उत्पादकत्व बढाउन ज्ञान–सीपको पूर्व तयारी, श्रम गर्न जाने देशको बारेमा सामान्य जानकारी, अन्तर्राष्ट्रिय श्रम नीतिको पालना, विप्रेषण स्वदेशमा लगानी गर्ने, श्रम सुरक्षा र सुविधाका लागि श्रम कूटनीति प्रभावकारी बनाउन सके वैदेशिक रोजगार सम्मानजनक बनाउन सकिन्थ्यो ।

चौथोमा भिजिट भिषामा जोखिमपूर्ण तरिकाले विदेशिने युवा जनशक्ति पर्दछन् । नेपालबाट दक्षिण अमेरिका हुँदै अवैधानिक तरिकाले अमेरिका जाने र शरणार्थीको रूपमा दर्ज भई उतै बस्ने, रुस र युक्रेनको युद्धमा सैनिकका रूपमा देखिएका, महिला श्रमिक गल्फ देश हुँदै विभिन्न देशमा अवैधानिक रूपमा गई शोषित हुने गरेको र जोखिम हुँदा पनि श्रमिकका रूपमा जाने गरेको विषयले हाम्रो शासकीय व्यवस्थाप्रति नै चुनौती देखिएको छ ।

विदेशमा गएकाको देखासिकी र स्वदेशमा सम्भावना नदेखेका युवा पिँडीहरू जानीजानी जोखिमपूर्ण यात्रा गरी जोखिमयुक्त काममा जाने गरेकोमा राज्यले नियन्त्रण गर्न नसकेको र आपतमा परेपछि राज्यले उद्धार गर्नुपर्ने अवस्था रहेको छ । भुटानी शरणार्थी काण्ड, थाइल्यान्ड हुँदै बर्मा, कम्बोडियामा स्क्याममा परेका घटनाले पनि युवा शक्ति स्वदेशमा अवसर नदेख्ने अवस्था देखिएको छ । १ करोडसम्म लगानी गरी अवैधानिक तवरले विदेशिने र ज्यानको प्रवाह नगर्ने समस्या आएपछि पछुताउनेजस्ता घटनाहरू घटिरहेका छन् । गोष्ठी, सेमिनार अवलोकन भ्रमण, भेटवार्ताका लागि औपचारिक रूपमा जाने प्रचलन छ । यसरी जाँदा समस्याहरू कमै देखिन्छन् ।

नेपाली युवाको अवैधानिक विदेश मोहको सक्रियताले देशको इज्जत र प्रतिष्ठामा आँच आएको छ । अवैधानिक तवरबाट विदेशिने अवस्था नियन्त्रण गर्न राज्यले कठोर कदम चाल्न आवश्यक छ । यसरी विदेशिँदा हुने जोखिमका बारेमा सचेतना र जागरण ल्याउनुपर्ने, अवैधानिक तवरबाट विदेशिन सहयोग गर्ने वा शोषण गर्नेविरुद्ध फौजदारी अभियोगमा दण्डित गर्ने र भिजिट भिषामा जाने प्रक्रियाको निगरानी बढाउने र सञ्चारमाध्यमले अवैधानिक तवरबाट जाने कार्यको नियन्त्रण गर्न सकारात्मक सूचना प्रवाह गर्नेजस्ता विषयमा राज्यले पहल गर्नुपर्ने देखिन्छ ।

विदेशमा स्थायी बसोबासमा गएकाको ज्ञान–सीप उपयोग गर्न लगानीका अवसरमा प्राथमिकता दिने, विदेशमा पढ्न जाने क्रम रोक्न स्वदेशमा नै आधुनिक शिक्षा उपलब्ध गराउने र पढ्न गएका व्यक्तिको ज्ञान–सीपको उपयोग गर्ने वातावरण बनाउने, दक्ष श्रमिक मात्र विदेश जाने अवसर बढाई सेवासुविधा, सुरक्षामा ध्यान दिने र बाह्य श्रमका लागि भएका अवरोध तुरुन्त हटाउने, अवैधानिकरूपमा विदेशिने रहर घटाउन सचेतना फैलाउने र भिजिट भिषामा निगरानी बढाउने,  जोखिमयुक्त विदेशिने कार्यका लागि उत्साहित गर्नेलाई कडा कारबाही गर्नेजस्ता काम गर्नुपर्छ ।

ज्ञान र सीपको उच्च मूल्याकंन गरी दक्ष जनशक्ति उत्पादन रणनीतिका लागि शिक्षा, तालिम र अन्तर्राष्ट्रिय श्रम मागको आपूर्तिजस्ता विषयमा ध्यान जानुपर्ने हुन्छ । प्रकृतिको प्रचुर सम्भावना भएको मौसम र हावापानीको अनुकूलताको फाइदा लिन शासकीय प्रभावकारिता, निजी क्षेत्रको व्यावसायिक सक्रियता, नवप्रवर्तन एवं ज्ञान सीपको आयात, शिक्षा र ज्ञानको उपयोग, बजारकेन्द्रित जनशक्ति उत्पादन र राज्यको सेवा प्रवाहमा सुधार गरी जनजीविका र व्यावसायिक वातावरण सहज बनाई युवाशक्तिको स्वदेशमा आकर्षण बढाउन सकिन्छ । 

salt training

कमेन्ट गर्नुहोस्