३१ असार २०८३, बुधबार
कोशी प्रदेश सभामा सांसदहरूको कमजोर उपस्थिति

प्रदेश सभालाई सांसदको बेवास्ता: अधिकांश बैठकमै आउँदैनन्, आएकाहरू पनि हाजिर गरेर टाप !

फागुन ९, २०८१
विराटनगर
प्रदेश सभालाई सांसदको बेवास्ता: अधिकांश बैठकमै आउँदैनन्, आएकाहरू पनि हाजिर गरेर टाप !

कोशी प्रदेश सभाका धेरैजसो सांसदहरू संसद् बैठकमा उपस्थित नहुने गरेको पाइएको छ । प्रदेश सभाको जारी अधिवेशनअन्तर्गत बसेका १४ बैठकमा धेरै सांसदहरू अनुपस्थित भएको पाइएको हो ।

१४ बैठकमध्ये पूर्वमुख्यमन्त्री उद्धव थापा, पूर्वमुख्यमन्त्री केदार कार्की, पूर्वसभामुख बाबुराम गौतम, पूर्वमन्त्री रामकुमार खत्री २ बैठकमा मात्र उपस्थित भएको प्रदेश सभाको अभिलेखमा देखिन्छ । थापा कांग्रेस संसदीय दलका नेता हुन् भने कार्की र खत्री नेपाली कांग्रेसका सांसद हुन् । गौतम माओवादी केन्द्रका सांसद हुन् ।

प्रदेश सभा सदस्य राप्रपाका प्रेमराज थाम्सुहाङ र कांग्रेसका ममता तामाङ पनि २ वटा मात्रै बैठकमा सहभागी भएका छन् । माओवादीका प्रदेश सांसद दुर्गाप्रसाद चापागाई पनि १४ वटामध्ये ३ वटा बैठकमा मात्र उपस्थित भएका छन् । 

पूर्वमुख्यमन्त्री तथा एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र राई ४ वटा मात्रै बैठकमा सहभागी भएका छन् भने प्रमुख प्रतिपक्षी माओवादी केन्द्रका नेता इन्द्रबहादुर आङ्बो ५ वटा बैठकमा सहभागी भएको देखिएको छ । 

null

प्रदेश सभा सचिवालयले विराटनगरबाट १५ किलोमिटर टाढा घर भएका सदस्यहरूको लागि घरभाडा उपलब्ध गराउने गरेको छ । तर, झापा र सुनसरीका प्रदेशसभा सदस्यहरू घरभाडा बुझे पनि आफ्नै घरमा बस्ने गरेका छन् । प्रदेशसभाका धेरै सदस्यहरू झापा, मोरङ र सुनसरीकै छन् । उनीहरू प्रदेश सभाबाट घरभाडा बुझे पनि विराटनगरमा नबस्ने गरेको पाइएको हो । 

प्रदेशसभाको दोस्रो कार्यकालको छैटौं अधिवेशनसम्म ८४ वटा बैठक बसेको छ । अहिलेसम्म बसेका ८४ वटा बैठकमध्ये सबैभन्दा कम उपस्थिति हुनेमा झापाका कांग्रेस सांसद मोहन महर्जन छन् । उनी जम्मा ३९ बैठकमा उपस्थित भएका छन् । यस्तै, सबैभन्दा धेरै बैठकमा सहभागी हुनेमा मोरङका एमाले सांसद जयप्रकाश चौधरी छन् । उनी ८४ वटै बैठकमा सहभागी भएको पाइएको छ ।

null

पूर्वमुख्यमन्त्री केदार कार्की ४१ वटा बैठकमा मात्र सहभागी भएका छन् । प्रदेशसभाको पहिलो कार्यकालमा सक्रिय र नियमित उपस्थित हुने सांसदको पहिचान बनाएका उनी दोस्रो कार्यकालमा भने कमै मात्र प्रदेशसभामा देखिन्छन् । दोस्रो कार्यकालमा ७ महिना मुख्यमन्त्री भएका उनी त्यसयता प्रदेशसभाको बैठकमा खासै देखिँदैनन् । 

कांग्रेस नेता अमृतकुमार अर्याल पनि ८४ मध्ये ४७ वटा बैठकमा मात्रै उपस्थित भएका छन् । विराटनगरकै बासिन्दा उनी कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा पूर्वसांसद समेत हुन् । यस्तै, कांग्रेसकै सांसद रहेकी सुनसरीकी ममता तामाङ ४२ वटा बैठकमा मात्रै सहभागी भएको देखिएको छ ।

कांग्रेसकै सांसद रहेका पूर्वमन्त्री रामकुमार खत्री ४२ वटा बैठकमा सहभागी भएका छन् । उदयपुरका उनी केदार कार्की नेतृत्वको सरकारमा कृषिमन्त्री भएका थिए । पाँचथर घर भएका राप्रपाका थाम्सुहाङ ४४ वटा बैठकमा मात्रै सहभागी भएको देखिएको छ ।

null

माओवादी केन्द्रका सांसद रहेका पूर्वसभामुख बाबुराम गौतम पनि ४८ वटा बैठकमा मात्र उपस्थित भएका छन् । यस्तै, माओवादीकै सांसद रहेका पूर्वमन्त्री जीवन आचार्य ४८ वटा बैठकमा मात्र उपस्थित भएका छन् । उनी विराटनगरकै बासिन्दा हुन् । 

माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका कान्छा ज्वाईंसमेत रहेका आचार्य धेरैजसो काठमाडौंमै बस्ने गरेका छन् । 

प्रदेशसभाको बैठकमा शीर्ष नेताहरूको पनि नियमित उपस्थिति छैन । पूर्वमुख्यमन्त्री तथा कांग्रेस संसदीय दलका नेता उद्धव थापा ३० वटा बैठकमा गयल भएका छन् भने पूर्वमुख्यमन्त्री तथा एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र राई २४ बैठकमा अनुपस्थित देखिन्छन् ।  प्रमुख प्रतिपक्षी दलका नेता इन्द्रबहादुर आङ्बोले २३ वटा बैठक छुटाएको देखिन्छ ।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले २० वटा र राप्रपा संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले १९ वटा बैठकमा गयल भएको देखिएको छ । पूर्वमन्त्री शमशेर राई, कांग्रेस संसदीय दलका उपनेता हिमाल कार्की, कांग्रेसकै सांसद विनोद राई र एमालेका बुद्धिकुमार राजभण्डारी ८४ मध्ये ५६ वटा बैठकमा उपस्थित भएको देखिएको छ । 

null

धेरैजसो सांसद नियमित उपस्थित नहुँदा प्रदेश सभाको कामले गति लिन नसकेको राजनीतिक विश्लेषक कृष्ण पोखरेल बताउँछन् । प्रदेशको कमजोर अधिकार क्षेत्र भएकोले पनि सांसदहरूले बैठक वेवास्ता गरेको हुनसक्ने उनको भनाइ छ । 

यी हुन् प्रदेश सभा बैठकमा धेरै उपस्थित हुने सांसद
प्रदेश सभा सचिवालयले दिएको विवरणअनुसार मोरङका एमालेका सांसद जय प्रकाश चौधरी र एमाले तेह्रथुमकी सांसद कमला दर्नाल सबै बैठकमा सहभागी भएका छन् । उनीहरू ८४ वटै बैठकमा सहभागी भएको पाइएको हो ।

यस्तै, मोरङका शिला दीक्षित कार्की ८३, सुनसरीका रमेशकुमार बस्नेत ८३, ललिताकुमारी चौधरी ८२, उदयपुरकी गीतादेवी रेग्मी ८१, मोरङका खड्गबहादुर बस्नेत ८१, गीता रानी महतो ८१, गोम्बु शेर्पा ८१, रामप्रसाद महतो ८१, रामदेव यादव ८१ र संखुवासभाका विदुर लिङ्थेपले ८० छन् ।

बहालवाल मन्त्रीहरूमध्ये भौतीक पूर्वाधार विकास मन्त्री भुपेन्द्र राई सबैभन्दा बढी प्रदेशसभा बैठकमा उपस्थित भएका छन् । उनी ७७ वटा बैठकमा सहभागी भएका छन् । प्रदेशसभाको बैठक चल्दा सरकारको प्रतिनिधि चाहिन्छ । राई प्रदेशसभा गएकै कारण धेरै वटा बैठक चलेको कर्मचारीहरू बताउँछन् । 

बैठकमा सांसद नै उपस्थित हुन छाडेपछि प्रदेशसभाका कर्मचारी पनि आश्चर्य मान्न थालेका छन् । बैठक कक्षमा माननीयभन्दा कुर्सी धेरै देखेपछि सत्तारूढ दुई दलका प्रमुख सचेतकसँग समेत कुरा गरेको एक कर्मचारीले बताए । बैठकमा आएका माननीय पनि हस्ताक्षर गरेर क्यान्टिनतिर चिया पिउन जाने गरेको उनले बताए । बैठक बसेको दिन प्रदेश सभा सदस्यले एक हजार भत्ता पाउँछन् ।

salt training

कमेन्ट गर्नुहोस्