
कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेलले फिलिपिन्स भ्रमणमा नजान प्रदेश सरकार मातहतका कर्मचारीलाई निर्देशन दिएका छन् ।
कर्णाली प्रदेशको 'कृषि क्षेत्र विकास कार्यक्रम'अन्तर्गत विदेश जाने तयारीमा रहेका कर्मचारीलाई नजान उनले लिखित निर्देशन दिएका हुन् ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले फागुन ११ देखि १७ सम्म फिलिपिन्समा आयोजना हुने ‘उच्च मूल्य कृषि उपजको मूल्य शृङ्खला विकाससम्बन्धी अध्ययन भ्रमण’का लागि २० जना कर्मचारी मनोनयन गरेको थियो । जसमा आधा कर्मचारी प्रदेश बाहिरका रहेको समाचार लोकान्तरमा प्रकाशित भएको थियो ।
फिलिपिन्स जानेमा सबै कर्णालीका कर्मचारी हुनुपर्ने मुख्यमन्त्री कँडेलले बताए । अन्यथा कर्णालीका कोही पनि कर्मचारीलाई फिलिपिन्स नजान निर्देशन दिएको उनले बताए । 'कर्णालीको कार्यक्रममा विदेश जान कर्णालीकै कर्मचारी हुनुपर्यो नि ! कर्णालीका नाममा बाहिरका कर्मचारीसँऊ नजानू भनेर मैले निर्देशन दिएको छु,' उनले भने ।
संघ सरकारमातहत रहेको कृषि क्षेत्र विकास कार्यक्रमअन्तर्गत २० जनालाई फिलिपिन्स लैजान मन्त्रालयले झण्डै एक करोड खर्च गर्न लागेको छ ।
तर, तीमध्ये ५० प्रतिशत कर्मचारी कर्णाली प्रदेश बाहिरका छन् । जबकी यो कार्यक्रम कर्णालीका १० जिल्लामा लागू गरिएको छ । कार्यक्रमले कर्णालीका २० जना सिफारिस गरे पनि मन्त्रालयले हस्तक्षेप गरेर केवल १० जनालाई मात्र कर्णालीबाट छनोट गरेको थियो ।
यो पनि
कर्णालीको कृषि कार्यक्रमका नाममा विदेश भ्रमण : आधा कर्मचारी प्रदेश बाहिरका, एक करोड बजेट सकिने