३० जेठ २०८३, शनिबार
माओवादी-नेकपा एकतामा विलम्ब

प्रचण्डको रणनीतिक चालले भड्किए विप्लव, एकता तत्काललाई टरेको निष्कर्ष !

फागुन १२, २०८१
काठमाडौं
प्रचण्डको रणनीतिक चालले भड्किए विप्लव, एकता तत्काललाई टरेको निष्कर्ष !

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले माओवादी केन्द्रसँगको एकता प्रक्रिया टरेको बताएको छ । आफूहरूले एकताका लागि धेरै प्रयत्न गरे पनि माओवादीले अनावश्यक खेलेको उसको दाबी छ ।

नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले अहिले माओवादीसँग एकताको कुनै कुरा नभएको बताए । ‘अहिले एकताको कुरा छैन । हामीले अलि अगाडि एकता गर्ने भनेर धेरै भन्यौं । तर, उनीहरूकै कारण एकताको सम्भावना टर्‍यो,’ प्रकाण्डले लोकान्तरसँग भने, ‘एकताको नाम लिएर माओवादीले अनावश्यक बहस र डिस्टर्ब गर्न खोज्यो ।’

यसअघि पार्टी एकताका लागि विप्लव नेतृत्वको नेकपाले नै हतार गरेको थियो । नेकपाको गत वैशाखमा कपिलवस्तुको शिवगढीमा बसेको केन्द्रीय कमिटी बैठकले पनि माओवादीसँग एकता गर्ने निर्णय गरेको थियो ।

निर्णयपछि नेकपा एकताका लागि माओवादी केन्द्रको उचित निर्णयको पर्खाइमा बस्यो । गत असोजमा विप्लवले आफूहरू पार्टी एकताका लागि माओवादीको निर्णय कुरेर बसेको बताएका थिए । माओवादीले बेवास्ता गरेपछि एकतामा भएको विलम्बबारे नेकपाका महासचिव विप्लवले गत पुस १६ गते आफूहरूले पनि आवश्यकता ठानेको बताएका थिए । 

९ महिना कुर्दा पनि माओवादीले कुनै निर्णय नगरेपछि महासचिव विप्लवले आफूहरू एकताका लागि गम्भीर भए पनि माओवादीले गम्भीरता नदेखाएको बताएका थिए । 

‘एकताको कुरा छ, बाहिरबाट हल्ला माओवादीसँगको एकता लर्बरियो रे, बन्द भयो रे, सिद्धियो रे भन्ने छ, तर त्यस्तो पनि होइन, हामीले भनेको कुरा के हो भने– जुन गम्भीरतामा नेकपाले एकतालाई हेरेको थियो, र एकताको पहलकदमीको आवश्यकता ठानेको थियो, त्यो उचाइमा माओवादी केन्द्र वा अरू क्रान्तिकारी पार्टीको बीचमा गम्भीर नहुँदासम्म हामीले सहकार्यलाई मोर्चामार्फत कायम राख्दै एउटा ध्रुवीकरणतर्फ लैजाने भनेका हौं,’ विप्लवले भनेका थिए ।

पत्रकार भेटमा विप्लवले जनताको चाहना भन्दै २०८४ को चुनावमा भाग लिने दोहोर्‍याएका थिए । नेकपा महासचिव विप्लव यतिखेर स्याउका बिरुवा रोप्न जुम्ला पुगेका छन् ।

उत्पादनमा नागरिकलाई जोड्ने र आत्मनिर्भर बन्ने भन्दै नेकपाले कपिलवस्तुमा धानसहित विभिन्न खेती गर्दै आएको छ । यस्तै, पार्टीको उत्पादन विभागले जुम्लामा पनि एक हजार बढी स्याउका बोट रोप्ने अभियान चलाइरहेको छ । 

एकतामात्रै होइन, नेकपाले परिस्थिति बदलिएको भन्दै चुनावमा भाग लिने निर्णय पनि गरेको थियो । जनताको चाहना, सुझाव र पार्टी राजनीतिको निष्कर्ष भन्दै २०८४ को चुनावमा भाग लिने नेकपाको औपचारिक निर्णय आएको थियो । 

विप्लवको चेतावनीयुक्त भाषापछि बसेको माओवादीको केन्द्रीय कमिटी बैठकमा एकताका लागि उच्चस्तरीय वार्ता टोली बनाउने प्रस्ताव आयो ।

पुस २१ र २३ को केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रस्ताव पेश गर्दै अध्यक्ष प्रचण्डले उच्चस्तरीय वार्ता संवाद समिति बनाउने उल्लेख गरेका थिए ।

तर, बैठकपछि सर्कुलरमा यस्तो समितिबारे कुनै निर्णय आएन । अहिलेसम्म आएको छैन । आफूहरूले कुनै समय हतार गरे पनि माओवादीले ठोस निर्णय नलिँदा नेकपा भड्किने संघारमा पुगेको हो । 

null

माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले नेकपासँगको एकता प्रक्रिया टरिनसकेको बताए । 

‘हामी एकताका लागि छलफलमा छौं । एकता प्रक्रिया टुटिसकेको छैन,’ पौडेलले लोकान्तरसँग भने, ‘उहाँहरूले दुई पार्टी नै भंग गर्नुपर्छ भनिरहनुभएको छ । हामीले यसमा सहमति जनाएका छैनौं । यो विषय टुंगिन बाँकी भएर निष्कर्षमा नपुगिएको हो ।’

विचार मिल्नेसँग एकता गर्ने भन्दै कार्ड फ्याँके पनि माओवादीले यसलाई रणनीतिक रूपमा मात्र प्रयोग गरेको नेकपाको आरोप छ । ‘हामीले एकता गर्ने भन्यौं । विचार र सिद्धान्तले कतै अड्काएको थिएन । पार्टी संगठनको विषयमा दुई/चारवटा बैठकले टुंग्याउन सक्ने स्थिति थियो,’ विप्लवनिकटका अर्का एक नेता भन्छन्, ‘हामीले मात्रै हतार गरेकोजस्तो देखियो । तर, माओवादीमा प्रचण्डमाथि दबाब पुग्दा रणनीतिक विषय मात्रै बनाए । हामीलाई प्रयोग गरे ।’

माओवादीले विचार मिल्ने दलसँग एकता गर्ने भन्दै यसअघि उपाध्यक्ष कृष्णबहादुर महराको संयोजकत्वमा महासचिव देव गुरुङ, उपमहासचिवहरू जनार्दन शर्मा, गिरिराजमणि पोखरेल र शक्ति बस्नेत सदस्य रहेको वार्ता समिति बनाएको थियो । तर, विचार मिल्नेसँग सहकार्य र एकता गर्ने भनिए पनि कुनै टुंगोमा पुर्‍याउन सकिएको थिएन । महराले केही चरण छलफल गरेपछि विप्लव एकताका लागि तयार भएका थिए । 

पछि विप्लवसँग भेट गर्न माओवादी उपमहासचिव जनार्दन शर्मा कपिलवस्तु पुगेका थिए । गत मंसिर ४ गते माओवादीको पदाधिकारी बैठकले विप्लवसँग एकता गर्ने र यसका लागि जुन पोजिसन हो, त्यही पदमा नेताको व्यवस्थापन गर्ने निर्णय गरेको थियो । 

अध्यक्ष प्रचण्डले पटक–पटक पार्टी एकताको शुभ समाचार सुन्न पाउने पनि बताउँदै आएका थिए । विप्लवसँगमात्रै होइन, महिन्द्रराय यादव नेतृत्वको नेपाल समाजवादी पार्टीसँग पनि एकता गर्ने बताउँदै माओवादीले आएको थियो । 

भित्रैको किचलोले हच्किए प्रचण्ड

माओवादीले विचार मिल्ने दल र माओवादी घटकसँग एकता गर्ने विषयलाई बेलाबेलामा अगाडि सारेर आन्तरिक समीकरणअनुसार रणनीति फेरबदल गर्ने गरेको छ । अध्यक्ष प्रचण्डविरुद्ध अन्य नेताले बढाउने दबाबअनुसार माओवादीले एकताको विषयलाई रणनीतिक बनाउने गरेको हो । अझै माओवादीभित्रैको किचलो, पदको व्यवस्थापनजस्ता विषयले पनि प्रचण्डले सहजै विप्लवलाई भित्र्याउन नसकेको चर्चा माओवादीका छ । 

‘देव गुरुङलाई महासचिव बनाएपछि जनार्दन शर्मा र वर्षमान पुन बिच्किए । उनीहरूलाई ट्रयाकमा ल्याउन प्रचण्डलाई समय लाग्यो । भित्रै असन्तुष्टि हुँदा विप्लवलाई कुन पदमा ल्याउने भन्ने विषय पनि प्रचण्डका निम्ति टाउको दुखाई बन्न पुगेको हो,’ माओवादी स्रोत भन्छ, ‘आन्तरिक कचिंगल नटुंगिँदै फेरि पूर्व उप–राष्ट्रपति नन्दबहादुर पुनलाई माओवादीको राजनीतिमा तानियो । तर, विवादले उनलाई दिने पद अझै टुंगिएको छैन । यसैले विप्लवसँगको एकता प्रक्रिया थप समस्यामा परेको हुन सक्छ ।’

यतिखेर माओवादी केन्द्र हुलाकी राजमार्गकेन्द्रित अभियानमा छ । अभियानमा अध्यक्ष प्रचण्डले उपमहासचिवद्वयसँग आफ्नो सम्बन्ध नबिग्रेको सन्देश दिइरहेका छन् । 

null

प्रचण्डले पार्टी एकताभन्दा आन्तरिक एकतालाई प्राथमिकतामा राखेर अभियान चलाइरहेका हुन् । 

एकता तत्काललाई टरे पनि नेकपा समाजवादी मोर्चामा भने सहकार्य गरिरहने रणनीतिमा छ ।

‘माओवादीकै कारण एकता टरेको छ, तर समाजवादी मोर्चासँग भने हामी सहकार्य गरिरहन्छौं,’ प्रकाण्डले भने ।

खुला राजनीतिमा आएपछि माओवादीसँग एकता गर्ने र चुनावमार्फत राजनीतिलाई अगाडि बढाउने इच्छा नेकपाले देखाएको थियो । तर, माओवादीबाट बेवास्तामा परिरहे नयाँ रणनीति बनाउनुपर्ने बाध्यता विप्लवसामु छ । 

समाजवादी मोर्चाले आगामी चैत ९ गते जनकपुरमा आमसभा गर्ने प्रस्ताव गरेको छ । त्यसअगाडि नै समाजवादी मोर्चाको बैठक बस्ने तयारी छ । 

पार्टी एकीकरणमा बेवास्ता गरेपछि बाटो लागे बाबुराम

प्रचण्डलाई चुनावी क्षेत्र छाड्ने देखि आवश्यक पर्दा माओवादीसँग पार्टी एकताका लागि डा. बाबुराम भट्टराईसमेत तयार थिए । तर, माओवादीले रणनीतिक चाल मात्रै चालेपछि बाबुराम भड्किएका थिए ।

एउटै पार्टी हुँदा महिन्द्रराय यादवले माओवादीसँग एकता गर्न गरेको निर्णयपछि बाबुरामले आपत्ति जनाएका थिए । आफ्नै पार्टीबाट अगाडि बढ्ने तयारीसाथ भट्टराई नेसपा (नयाँ शक्ति)मार्फत पुनः अध्यक्ष चुनिइसकेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्