
‘यस्तै छ मेरो देश’ शीर्षकको पुस्तक मेरो हातमा छ, रत्न पुस्तक भण्डारले छापेको पुस्तकका लेखक हुन् झण्डै आधा शताब्दीदेखि अमेरिका बस्दै आएका नारायण श्रेष्ठ, जो नेपालको स्वास्थ्य तथा शिक्षालगायत तमाम क्षेत्रको विकासमा समर्पित छन् ।
उनको शरीर परदेशमा भए पनि मन घरदेशमै छ । प्रस्तुत पुस्तक सोही घरदेशको पीडा, बेथिति र बिजोग हटाउने प्रयासमा उठाइएको एउटा पाइला समिधा हो । पुस्तकमा १५ वटा प्रकरण छन्, जसमा पशुपतिको यात्रा फोहरको दर्शन, सधैँ जामः डामाडोल काम, काठमाडौं महानगरपालिका, राज(अ)नैतिक प्रणाली, आफैं रोगिएको स्वास्थ्य क्षेत्र, जसले जोत्छ ऊ भोकै सुत्छ, पीडित महिला अपहेलित बालबालिका, नेपाल जमिन सेवा निगम, शिक्षाले मागिरहेछ भीक्षा, अनुशासन कुन चराको नाम, पर्यटन: सम्भावना छ संस्कार छैन आदि शीर्षकका प्रकरण मुख्य रहेका छन् ।
पुस्तकका सबै प्रकरण अब्बल छन्, जसले धार्मिक क्षेत्रको दुर्दशा केलाइएको छ, राजनीतिक क्षेत्रको दुर्दशा देखाइएको छ, स्वास्थ्य, शिक्षा तथा सामाजिक क्षेत्रको बेथिति खुट्याएको छ । तिनमा पनि धार्मिक, सामाजिक, राजनीतिक, स्वास्थ्य तथा शिक्षा क्षेत्रका प्रकरण बढी उम्दाकोटीका देखिन्छन् ।
नेपालमा सर्वाधिक गनाएको क्षेत्र भनेको राजनीतिक क्षेत्र हो, जसलाई लेखकले राजअनैतिक क्षेत्र भनेका छन् । राजनीति भनेको देशको मूल नीति हो, जहाँ देशको हर क्षेत्र कुनै न कुनै रूपमा जोडिएको हुन्छ । त्यसैले यसलाई नीतिको राजा राजनीति भनिएको हो तर, यो जति बेइमानी फोहरले गन्हाएको शायद अर्को क्षेत्र छैन । न नेतामा जिम्मेवारी छ न राजनीतिक दलमा इमान्दारिता । उनीहरूको उद्देश्य भनेकै जसरी पनि जनताको नाम भजाएर चुनाव जित्ने र पदमा पुगी तिनै जनतालाई दुःख दिनु हो ।
उनीहरू पदमा पुग्न जस्तोसुकै सम्झौता गर्न पनि पछि पर्दैनन् । सत्ताका लागि विदेशीसँग हारगुहार गर्न पनि पुगेकै हुन्छन् । आपराधिक गतिविधिमा लागेकाहरूसँग हात मिलाउन पनि पुगेकै हुन्छन् । कतिपय महामहिमहरू त अदालतले सजाय दिएका आपराधिक गतिविधिका नाइकेसितसमेत हात मिलाउन जेलमै पुगिरहेका हुन्छन् ।
यहाँको राजनीतिक प्रणाली नै यस्तो बनाइएको छ कि जब अन्य क्षेत्रमा बिक्न सकिन्न तब राजनीतिको घुम्टो ओढेर आउँछन् र देश चलाउन थाल्छन् । यस्ताले गर्ने भनेको अन्ततः भाँडभैलो नै हो । यसको अर्थ नेताबाहेक अन्य ठीक छन् भन्ने होइन । कतिपय मामिलामा जनता पनि त्यस्तै छौं । अघिपछि जसलाई धारे हात लगाइरहेका हुन्छौं चुनावका बेला तिनैलाई जिताएर पठाइरहेका हुन्छौं । पुस्तकको राज(अ)नैतिक प्रणाली प्रकरणमा यस्तैयस्तै कुराहरूको दिग्दर्शन भएका छन् ।
नेपालको राजनीतिक क्षेत्रजस्तै धार्मिक क्षेत्रमा पनि व्यापक विकृति छ । मन्दिर परिसरमा पुग्नेवित्तिकै फूलप्रसादी बिक्री गर्नेहरूको दलाली शुरू हुन्छ । दर्शनार्थी भक्तजनहरू पनि सधैं हतारमा हुन्छन् । भलै अघिपछि अनावश्यक गफ चुटेर घण्टौं बिताउने फुर्सद होस् तर लाइनमा बसेर दर्शन गर्ने फुर्सद हुँदैन । आफ्नै अगाडि उभिएका भगवान्को ज्योतिर्मय प्रतिनिधिको पालो उछिनेर मूर्तिको दर्शन गर्न पुग्दा भगवान् खुशी होलान् कि बेखुसी भन्नेसम्म सोचिएको हुँदैन ।
मन्दिरभित्रको अवस्था पनि त्यस्तै गञ्जागोल छ । नाम र दाम हुने भक्तजन भए उनीहरूले चढाएको फूलप्रसाद भगवान्को मूर्तिसम्म पनि पुग्छन् र पुजारीकै हातबाट प्रसादी पनि पाइन्छ तर, सर्वसाधारणको फूलप्रसादलाई त्यहाँसम्म पुग्नै गाह्रो पर्छ । सके उसलाई मन्दिरभित्र प्रवेश पाउनै गाह्रो पर्ला नभए पनि त्यतै कुनातिर मिल्किन बाध्य हुन्छ । अन्त्यमा उसको बास नाली वा फोहरको थुप्रोमा हुन पुग्छ । पशुपतिको यात्रा फोहोरको दर्शन प्रकरणमा यस्तैयस्तै विषयवस्तु रहेका छन् र यसैमार्फत् यहाँका तमाम मठमन्दिरको अवस्था दिग्दर्शन गराउने प्रयास गरिएको छ ।
राजनीतिक क्षेत्र र धार्मिक क्षेत्रजस्तै लतालिङ्ग भएको अर्को क्षेत्र भनेको शिक्षा, स्वास्थ्य तथा सामाजिक क्षेत्र हो । नेपालको स्वस्थ्य सेवामा यसै पनि सबैको पहुँचमा छैन । पहुँच भएको स्थानमा पनि धामी झाक्रीमा विश्वास गर्ने जमात ठूलै छ । यहाँको महिला तथा बालबालिकाको अवस्था झन् कहाली लाग्दो छ । यद्यपि महिला बालबालिका तथा जेष्ठ नागरिकको हितमा एउटा मन्त्रालय नै खोलिएको छ तर मन्त्रीलाई झण्डा हल्लाउँदैमा र कर्मचारीलाई तलबभत्ता बुझ्दैमा फुर्सद हुँदैन ।
कतिपयमा छोरी जन्मनु अभिशाप मान्ने प्रवृत्ति व्यापक छ । सके त उनीहरूले जन्मने अवसर नै नपाउलान् । कदाचित पाए भने पनि शिक्षामा विभेद हुन्छ, स्वास्थ्यमा विभेद हुन्छ । कति दहेजको निहुँमा जिउँदै जलिरहेका हुन्छन् । बोक्सीको आरोपमा कुटपिट तथा मानवमलमूत्र सेवन गर्न बाध्य हुने पनि त्यत्तिकै छन् । कैयौँ स्कुल जानुपर्ने बालबालिका घाँसदाउरा तथा इट्टाभट्टमा हराइरहेका छन्, कैयौँ जेष्ठ नागरिक वृद्धाश्रमको हावा खान बाध्य भइरहेका छन् ।
दलित माथिको विभेद पनि कायमै छ । यसो त यस्तो विभेद विश्वमै छ । तथापि नेपालको अवस्था छुट्टै छ । राज्यले छुवाछुत उन्मूलनको कानून ल्याएको उहिल्यै हो । हाल संविधानमै उल्लेख भइसकेको छ । तैपनि अझै छुवाछुतजस्तो घृणित कुप्रथा हट्न सकेको छैन । अन्तरजातीय विवाह गरेवापत् घरबाट निकालिनेहरू पनि छन् । नदीमा हेलिन बाध्य हुनेहरू पनि छन् ।
यद्यपि दलित समस्यामा स्वयं दलित भनिएकाहरू पनि कम जिम्मेवार छैनन् । उनीहरू आफैं आफैंलाई दलित भन्छन् र यसैको नाममा आरक्षणको आश गर्छन् । यस्तो अवस्थामा समस्या हट्नु भनेको काग कराउँदै छ पिना सुक्दैछ भने जस्तै हो । हो, अशक्तलाई उठ्न आरक्षण चाहिन्छ तर, त्यो जातिको नाममा नभई वर्गको हितमा हुनुपर्छ तर, के गर्ने यहाँको अवस्था यस्तै छ, जसले गर्दा आरक्षणको सुविधा सीमित व्यक्तिको पोल्टामा सीमित हुन पुगेको छ । गरिबी कहाँ छैन र ? जहाँ पनि छ । जति बेलासम्म आरक्षणको सुविधा जातिको घेराबाट उठेर वर्गमा पुग्दैन त्यति बेलासम्म हुने यस्तै हो ।
यहाँको शिक्षाको अवस्था पनि त्यत्तिकै बिजोग छ । हुन त देशमा आधा दर्जनभन्दा बढी विश्वविद्यालय खुलेका छन् तर, सबै परम्परागत कर्मकाण्डमा सीमित रहेका छन्, जसले गर्दा विश्वविद्यालयहरू बेरोजगार जनशक्ति उत्पादन गर्ने कारखाना बन्न पुगिरहेका छन् । न उनीहरूले सीपमूलक शिक्षा दिन सकेका छन् न राज्यले रोजगार । फलतः एकातर्फ विश्वविद्यालयहरूमा विद्यार्थी अभाव देखिन थालेको छ भने अर्कोतर्फ शिक्षाकै नाममा बर्सेनि ठूलो धनराशि विदेशिने गरेका छन् ।
नेपालमा पर्यटन उद्योगको प्रचूर सम्भावना भए पनि न तिनको समुचित विकास हुन सकेको छ न पर्यटक भित्र्याउने संस्कारकै विकास हुन सकेको छ ।
पर्यटकहरू विमानस्थलमा ओर्लन भ्याएका हुन्नन् ट्क्याक्सी डाइभरको दादागिरी शुरू गर्छन् । शहरभित्र छिर्नासाथ मगन्तेहरूले पीडित हुने गर्छन । अरू त अरू यहाँका भिखारीले समेत उनीहरूलाई सताउन छाडेका हुँदैनन् । तैपनि न सरकारको ध्यान पुगेको छ न समाजको । यस्तो अवस्थामा कसरी पर्यटक र उनीहरूको बसाइ लम्ब्याउने ? प्रश्न विचारणीय छ ।
यातायातको अवस्था हेर्यो त्यस्तै बिजोग छ । यसै पनि हाम्रो यहाँ बर्सेनि बढ्दै गएको गाडीको अनुपातमा सडक बढेको छैन । भएको सडकमा पनि सुव्यवस्थित यातायात प्रणाली लागू गर्न नसक्दा १५ मिनेटको बाटोमा घन्टौँ बिताउनुपर्छ । अन्ततः यो पनि उही पर्यटक घटाउने कारण बन्न पुगिरहेको हुन्छ ।
अनुशासनहीनतामा नेपालको अर्को जल्दोबल्दो समस्या हो । घर नै पहिलो पाठशाला हो । बालबालिकाको पहिलो सिकाइ घरबाटै शुरू हुन्छ तर, घरमूलीमै अनुशासन कमी हुँदा बालबालिका कुलतमा फस्न बाध्य भइरहेका छन् ।
यस्तैयस्तै विषयवस्तु उल्लेख भएकाले पुस्तक एक किसिमले वर्तमान नेपाल हेर्ने आँखीझ्याल बन्न पुगेको छ । यति महत्वपूर्ण पुस्तकका लेखक नारायण श्रेष्ठ साधुवादको पात्र भएका छन् । उनलाई बधाई तथा शुभकामनाका साथ कलम बन्द गर्न चाहन्छु ।