
मनाङमा आज आइतबारदेखि पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एचपीभी खोप’ अभियान शुरूआत भएको छ । जिल्लाका १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई खोप लगाइने छ ।
कक्षा ६ देखि १० सम्ममा अध्ययनरत १०३ किशोरीलाई एचपीभी खोप लगाइने जनस्वास्थ्य कार्यालय मनाङका सूचना अधिकारी राजेन्द्र श्रेष्ठले बताए । उनका अनुसार विद्यालयमा अध्ययनरत १०३ किशोरी र विद्यालय नजाने १० देखि १४ वर्ष उमेर समूहका छ गरी एक सय नौ किशोरीलाई एचपीभी खोप दिइनेछ ।
‘जिल्लाका कूल एक सय नौ किशोरीलाई पाठेघर मुखको क्यान्सरविरुद्धको एचपीभी खोप दिइनेछ, खोपकर्तालाई विभिन्न तालिम, अभिमुखीकरणसहित तयारी गरिरहेका छौं’, उनले भने ।
मनाङको ङिस्याङ, नार्पाभूमि, चामे र नासोँ गाउँपालिकामा पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप लगाइने छ ।
फागुन १८, १९ र २० गते ङिस्याङको अन्नपूर्ण माध्यमिक विद्यालय, चामेको लोकप्रिय माध्यमिक विाद्यालय, गौरीशंकर आधारभूत विद्यालय र नासोंको प्रकाशज्योति माध्यमिक विद्यालयको खोप केन्द्रबाट खोप लगाइने प्रदेश जनस्वास्थ्य कार्यालय मनाङका प्रमुख रविना ठगुनाले बताए ।
खोप कार्यक्रम सञ्चालनका लागि सबै पालिकाका स्वास्थ्य शाखा प्रमुख, सबै पालिकामा रहेको २४ वटै स्वास्थ्य संस्थाका प्रमुख, जिल्ला जनस्वास्थ्य कार्यालय र जिल्ला आयुर्वेदिक अस्पतालको प्रत्यक्ष सहभागिता रहने जनाइएको छ ।
जिल्लाका सबै विद्यालय चिसोका कारण बन्द रहेकाले अन्य जिल्लाभन्दा ढिला गरी खोप अभियान सञ्चालन भएको ठगुनाले बताए । खोप कार्यक्रममा जिल्लाका सबै विद्यालयका एक सय तीन र अन्य ६ जना गरी एक सय नौ किशोरीलाई खोप लगाइने भएता पनि अन्यको संख्या बढ्न सक्ने अनुमान गरिएको प्रमुख ठगुनाको भनाइ छ ।
विद्यालय नजाने किशोरीलाई स्वास्थ्य कार्यालय वा तोकिएका खोप केन्द्रमार्फत् खोप लगाइनेछ ।