
आफ्नो प्रेम प्रमाणित गर्न मान्छेले केके गर्छ ? कसैले प्रेमी वा प्रेमीकाको नामको ट्याटू खोप्ला वा अरू केही गर्ला !
प्रेम दर्साउन मानिसहरूले अनौठा हर्कत पनि गर्छन् र तिनै हर्कतले ठूलो क्षति गर्छ । चीनमा यस्तै एक अनौठो घटना भएको छ ।
एक युवकले प्रेमिकाको जिद्धि पूरा गर्न आफ्नो सानो आन्द्राको एक भाग निकाल्नु परेको छ । सन्तान जन्माउँदाको पीडा प्रेमीले पनि भोग्नुपर्छ भन्ने युवतीको जिद्धीका कारण युवकले आफ्नो सानो आन्द्राको एक भाग निकाल्नु परेको हो ।
घटना चीनको हेनान प्रान्तको हो । साउथ चाइना मर्निङ पोस्टले नेटइज न्युजलाई उद्धृत गर्दै महिलाले आफ्नो प्रेमीलाई लेबर पेन सिमुलेशन सेन्टरमा लगेकी थिइन्। केन्द्रमा बच्चा जन्माउँदाको पीडा कृत्रिम रूपमा अनुभव गराइन्थ्यो ।
रिपोर्टअनुसार ती युवतीकी आमा र बहिनीले इन्गेजमेन्टअघि आफ्नो प्रेमीले महिलाको चुनौती अनुभव गरोस् भन्ने चाहन्थे। यसबाट युवकले आफ्नी छोरीसँग भविष्यमा राम्रो व्यवहार गरोस् भन्ने उनको विश्वास थियो ।
रिपोर्टका अनुसार शुरू ती युवक यो अनौठो माग स्वीकार गर्न हिच्किचाएका थिए तर अन्ततः उनी मान्न तयार भए ।
केन्द्रमा ती युवकको छाला र मांसपेशीलाई बिजुलीमार्फत् उत्तेजितगरी दुखाइ महसुस गराइयो। दुखाइ विस्तारै बढ्यो । दुखाइ ८ लेभलमा पुगेपछि युवक कराउन थाले । १० लेभल पुगेपछि उनी चिच्याउन, रुन र गाली गर्न थाले ।
केही घन्टापछि उनले पेटमा कडा दुखाइ महसुस गरे र वान्ता गर्न थाले । एक साता बितिसक्दा पनि स्वास्थ्यमा सुधार नभएपछि उनलाई अस्पताल लगिएको थियो । डाक्टरले जाँच गर्दा उनको सानो आन्द्राको एक भाग नराम्ररी बिग्रिएको पत्ता लाग्यो । जसलाई हटाउनु पर्यो।
घटनापछि युवकका परिवारले प्रेमिकालाई अस्पतालमा भेट्न दिएनन् र विवाह गर्न पनि मानेनन् ।
परिवार अहिले बालिकाविरुद्ध कानुनी कारबाही गर्ने तयारीमा छ । रिपोर्टमा एक वकिललाई उद्धृत गर्दै भनिएको छ कि यदि यो परीक्षणबाट युवकको आन्द्रा बिग्रिएको प्रमाणित भएमा युवतीले क्षतिपूर्ति तिर्नुपर्नेछ।
युवती पनि घटनाको जिम्मेवारी लिन तयार रहेको रिपोर्टमा उल्लेख छ ।